८ वैशाख २०८१ शनिबार
राजनीति

कामनपालाई नापी विभागको जवाफ: भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैन

नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो।  

२०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ विभागले महानगरपालिकालाई दिएको हो। ‘महानगरपालिकाले जय नेपाल हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचाको रेखांकन गर्न हामीलाइ चिठी लेखेर आग्रह गरेको थियो’, विभागका सूचना अधिकारी दामोदर ढकालले नागरिकसँग भने, ‘नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न कानुनी रूपमा मिल्दैन भनेर हामीले महानगरपालिकालाई प्रस्टसँग भनेका छौं।’

विभागका अनुसार काठमाडौंमा २००० सालमै भूमिको नापजाँच भएको थियो। त्यसपछि २०२१ र २०३२ सालमा जग्गा नापजाँच गरिएको थियो। २००० सालमा काठमाडौंभरि नापजाँच गरी मौजा नक्सा तयार गरिएको थियो। तर त्यसबेला जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्मको जग्गा नारायणहिटी दरबार र राणाकालीन दरबार क्षेत्रमा पर्ने भएकाले त्यहाँ नाप नापजाँच गरिएन।

महानगरपालिकाले जय नेपाल हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचाको रेखांकन गर्न हामीलाई चिठी लेखेर आग्रह गरेको थियो। नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न कानुनी रूपमा मिल्दैन भनेर हामीले महानगरपालिकालाई प्रस्टसँग भनेका छौं। दामोदर ढकाल सूचना अधिकारी, नापी विभाग

२०३२ सालमा गरिएको नापजाँचमा जय नेपाल हलदेखि कमलादी मोडसम्मको ४ सय ४० मिटरमा टुकुचा खोला देखाइएको छैन। ‘त्यस क्षेत्रको जग्गा कानुनीरूपमै व्यक्तिका नाममा दर्ता गरी लालपुर्जा र नक्सा तयार गरेको देखिएको छ’, सूचना अधिकारी ढकालले भने, ‘रेखांकन गर्ने विषय नक्सामा भएको विवरणका आधारमा जमिनमा देखाउने काम हो। तर २०३२ सालमै नापजाँच भइसकेको जमिनमा उचाइ र गहिराइ मापन गर्न मिल्दैन।’ उचाइ र गहिराइ मापन गर्ने अधिकार कानुनी रूपमा नापी विभागलाई नभएको ढकालले बताए।  

महानगरपालिकाले चिठी लेखेपछि विभागले यस सम्बन्धमा भूमि व्यवस्था मन्त्रालयलाई जानकारी गराएको थियो। त्यसपछि मन्त्रालयले सहसचिव जनक जोशीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाएको संयोजक जोशीले बताए। कार्यदलमा नापी विभाग र भूमि व्यवस्थापन विभागका प्रतिनिधिसमेत थिए।  

कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रालयले मंगलबार महानगरपालिका र नापी विभागका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो। छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित उच्च कर्मचारी सहभागी थिए। छलफलमा पनि विभागका अधिकारीले टुकुचा भूमिगत भएको स्थानमा रेखांकन गर्न नमिल्ने बताएका थिए।

‘नापीका कर्मचारीले सतहको जमिन मात्र नापजाँच गर्छन्। सतहमुनि अथवा सतहमाथिको भाग नापजाँच गर्ने अधिकार नापीलाई हुँदैन’, विभागका एक उच्च अधिकारीले भने, ‘नागढुंगामा अहिले सुरूङ मार्ग बनिरहेको छ। सुरूङ मार्गमाथिको जमिन विभिन्न व्यक्तिका नाममा दर्ता भएको छ। मानौं एक सय वर्षपछि सुरुङ मार्गमाथिको जग्गा अतिक्रमण भयो भन्दै सरकारले बिनामुआब्जा अधिग्रहण गर्न मिल्छ कि मिल्दैन ?’  

विभागका अर्का एक कर्मचारीका अनुसार १९४७ सालमा राणा प्रधानमन्त्री वीरशमशेरले लालदरबार बनाउने क्रममा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोलालाई भूमिगत बनाइएको थियो। टुकुचा खोलालाई भूमिगत बनाएपछि त्यसमाथिको जग्गा कानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरिएको थियो। ‘त्यो राणाकालीन सरकारको निर्णय हो। त्यो निर्णय अहिलेको सरकारले उल्ट्याउन सक्छ, जमिन अधिग्रहण गर्न पनि सक्छ। तर मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्छ’, विभागका ती कर्मचारीले भने, ‘अहिले टुकुचा खोलाको जमिन अतिक्रमण भयो भनेर प्रचार गरिँदैछ। तर त्यो अतिक्रमण होइन। कानुनी रूपमै व्यक्तिका नाममा नापनक्सा र लालपुर्जा भएको जग्गालाई कसरी अतिक्रमण भएको भन्ने ?’

कार्यदलले बुझाएको प्रतिवेदनमा टुकुचा खोला भूमिगत भएको ठाउँमा रेखांकन गर्नुपरे एउटा उच्चस्तरीय समिति गठन गरी त्यसले दिने सुझावका आधारमा प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ। प्रतिवेदनले यसरी गठन हुने उच्चस्तरीय समितिमा पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, खानेपानी संस्थान, ढल तथा निकास विभाग, नेपाल विद्युत् प्राधिकण, गृह मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयका प्रतिनिधिलाई राख्न सुझाव दिएको छ। ‘नक्सा नभएको ठाउँमा रेखांकन गर्न सकिन्न’, मन्त्रालयका प्रवक्तासमेत रहेका कार्यदललका संयोजक जोशीले नागरिकसँग भने। महानगर भने जय नेपालदेखि कमलादी मोडसम्म टुकुचा खोलाले ओगटेको जमिन अतिक्रमण भएको भन्दै त्यहाँ बनेका संरचना हटाउने अभियानमा छ।

प्रकाशित: ६ आश्विन २०७९ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App