८ वैशाख २०८१ शनिबार
राजनीति

पदयात्रामार्फत एमालेका चार सन्देश

संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्। उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे।  

एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी राष्ट्रिय एकताको सन्देश दिन खोजेको छ।

बुद्धिजीवी दिनेशचन्द्र देवकोटाका अनुसार एमालेले जनताले बनाएको संविधानको रक्षा सबैले गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हो। ‘एमालेकै अडान र पहलमा संविधान जारी भएको हो। यसलाई क्रमशः ओझेलमा पार्ने काम हुँदै थियो तर एमालेले यो संविधान सबै नेपालीको हो भन्दै संविधान दिवसमार्फत राष्ट्रिय एकताको सन्देश दिन खोजेको छ। यसकै लागि उसले राजधानीमा पदयात्रा गरेको छ। यसबाट राष्ट्रिय जागरणसमेत पैदा गर्न खोजिएको छ’, देवकोटाले भने।

त्यतिबेला भारतले केही समय संविधानसभाबाट संविधान जारी नगर्न दबाबपूर्ण आग्रह गरेको थियो तर त्यो आग्रहलाई नेपालका दलले अस्वीकार गरेका थिए। त्यसबेला एमाले अध्यक्ष ओलीले संविधान निर्माण र जारी गर्ने विषयमा कसैको हस्तक्षेप स्वीकार्य नहुने भन्ने अडान लिएका थिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पनि संविधानसभाले बनाएको संविधान जारी गर्ने पक्षमा उभिएका थिए। नेताहरूको यही अडानकै कारण २०७२ असोज ३ गते संविधान जारी भएको थियो।  

देवकोटाले भने, ‘एमालेले त्यतिबेला संविधान निर्माणमा अगुवाइ गरेको थियो, तत्कालीन प्रधानमन्त्रीलाई सहयोग गरेको थियो।’ अहिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका नै क्षतविक्षत भएको अवस्थामा संविधानको रक्षाले मात्रै मुलुकलाई सही मार्गमा हिँडाउन मद्दत मिल्छ भन्ने सन्देश एमालेको पदयात्राले प्रवाह गरेको देवकोटाको दाबी छ।  

देवकोटाका अनुसार संविधान जारी भएपछि मेची–महाकालीसम्मको समथर भूभाग तराई मधेसलाई ‘एक मधेस प्रदेश’ बनाउन संविधान संशोधन गर्नुपर्ने भारतीय दबाबसामु नझुकी एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले नाकाबन्दीको सामना गरेको थियो। ओलीकै अडानका कारण भारत नाकाबन्दी हटाउन बाध्य भएको देवकोटा बताउँछन्।  

एमाले स्वयंले पनि आफूले देशमा राष्ट्रियता र स्वाभिमानको जागरण पैदा गर्नुका साथै समाजवादमा पुग्ने लक्ष्यसहित समृद्धिको अगुवाइ गरेकाले विभिन्न सन्देश प्रवाहसहित संविधान दिवस मनाएको जनाएको छ। एमालेका अनुसार सविधान जारी भएपछिको बनेको सरकारको नेतृत्व आफूले गरी संघीयता कार्यान्वयनको जग निर्माण गरेकाले, ठुलो पार्टीको हैसियतमा संसद्बाट संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि कानुन निर्माणमा अगुवाइ गरेकाले, देशको राष्ट्रिय एकता सुदृढ गर्ने, स्वावलम्बी, समृद्ध मुलुक निर्माणको स्पस्ट दृष्टिकोण एमालेसँग भएकाले संविधान दिवसलाई पार्टीले फरकफरक ढंगले मनाएको हो।  

पदयात्रा कार्यक्रममा एमाले अध्यक्ष ओलीले नेपाल अरु कसैले चलाउने होइन, नेपाली जनताले चलाउने हो भन्दै नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताए। ‘नेपाल हामी नेपालीको हो भन्ने भावनाका साथ हामी अगाडि बढेका छौं’, उनले भने। उनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचारविरोधी अभियान, सुशासन र विकासको अभियानले हार्न नहुने बताए। 

संविधान जारी भएपछि मुलुकले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको दाबी गर्दै ओलीले संविधान दिवसलाई जनताको दिवसका रुपमा मनाइनुपर्नेमा जोड दिए। उनले लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा एमाले सधैं जनताको पक्षमा उभिने बताए।  

संविधानसभाबाट जारी संविधान कार्यान्वयन भइरहेको र नेपालमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास असफल भएको टिप्पणी ओलीले गरे। ‘नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए। नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा र लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौं’, ओलीले संक्षिप्त मन्तव्यका क्रममा भने।  

कार्यक्रममा अधिवक्ता सुरेन्द्र बोगटीले अहिलेको अवस्थामा एमालेले संविधान दिवसको महत्व र आवश्यकताबारे जनतालाई सुसूचित गर्न खोजेको बताए। ‘एमाले नेतृत्वको सरकारका पालामा चीनसँग पारवहन सन्धि भयो, नेपालको मिचिएको भूमि समेटेर नक्सा जारी भयो, संघ र प्रदेश सरकार सञ्चालनसम्बन्धी धेरै कानुन बने। एमाले अहिलेको अवस्थामा राष्ट्रको प्रमुख शक्ति हो र भोलि पनि यसकै नेतृत्वमा सरकारमा बन्छ भन्ने सन्देश दिन पनि यो वाकाथन गरिएको हो’, बोगटीले भने। उनका अनुसार अहिलेको सरकार बनेपछि नेपाली जनताले पाएको सास्ती, भ्रष्टाचार महंगीविरुद्ध एमालेले गर्दै आएको आन्दोलन सफल भएको र सरकारले बाध्य भएर पेट्रोलिय पदार्थको मूल्य घटाएको छ। यो सन्देश सबैतिर लैजानुपर्ने आवश्यकता छ। उनले काठमाडौंमा भएको वाकाथनले चुनावी वातावरण पनि बनाएको बताए। ‘निर्वाचन आएको छ, एमालेले उठाएका मुद्दालाई जिल्लाजिल्लामा लैजानु छ, एमाले नेतृत्वमा बनेको सरकारलाई गर्न नदिइएका अधुरा काम फेरि सरकार बनाएर पूरा गर्नुपर्ने अवस्था छ,’ उनले भने।  

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन एमालेले पदयात्रा गरेको हो। पदयात्रा बिहान ७ बजे बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र कुपण्डोलबाट सुरू भएको थियो। पदयात्रा कार्यक्रम वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताए। कार्यक्रममा एमालेका वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।

प्रकाशित: २ आश्विन २०७९ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App