८ वैशाख २०८१ शनिबार
राजनीति

सिन्धुपाल्चोक-१ मा कांग्रेस-माओवादी रस्साकस्सी: सभामुख सापकोटा कि बस्नेत?

सत्तारुढ दलका प्रमुख दुई घटक कांग्रेस र माओवादीको दाबीले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ चर्चामा छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत उम्मेदवार बन्ने दौडमा छन्।  

एकै गठबन्धनका दुई ‘हेवीवेट’ नेताको दाबीका कारण रस्साकस्सीपूर्ण टिकटको प्रतिस्पर्धाले यो क्षेत्र सवत्र्र चासो र चर्चाको केन्द्रमा परेको हो।  सभामुख सापकोटालाई माओवादीले यस क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बनाउन पार्टी केन्द्रलाई सिफारिस गरेको छ। सापकोटासहित नेताद्धय माधव सापकोटा र फुलम लामा माओवादीको सिफारिसमा परेका छन्। कांग्रेसले भने पूर्वमन्त्रीसमेत रहेका बस्नेतलाई सर्बसम्मत एकल उम्मेदवार सिफारिस गरेको छ।  

अघिल्लो निर्वाचनसमेत जितेको आधारमा माओवादी यो क्षेत्र आफैँ लिएर सभामुख सापकोटालाई गठबन्धनको साझा उम्मेदवारको रुपमा अघि सार्न चाहान्छ। बलियो संगठन रहेको कांग्रेस कुनै पनि हालतमा यो क्षेत्र गुमाउन चाहँदैन। स्थानीय तहको ताजा जनादेशबाट हौसिएको कांग्रेस यो क्षेत्र आफैँसँग राखेर प्रभावशाली नेता बस्नेतलाई अघि बढाउनु पर्ने अडानमा छ। यो क्षेत्र आफ्नो भागमा पार्न दुबै दलले चर्को दाबी र अडान प्रस्तुत गरेका छन्।  

अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७४ मा सापकोटा र बस्नेत यसै क्षेत्रको चुनावी मैदानमा प्रतिस्पर्धी बनेका थिए। एमालेसहितको मतको बलमा सापकोटाले बस्नेतलाई १० हजार मतान्तरले पराजित गरेका थिए। सापकोटाले बामगठबन्धनबाट ३९ हजार मत पाउँदा बस्नेतले २८ हजार भोट कटाएका थिए। एकै गठबन्धनबाट यस क्षेत्रमा सापकोटा र बस्नेतले दाबेदारी प्रस्तुत गर्दा दुबै पार्टीका नेता, कार्यकर्ता अघिल्लो चुनाव सम्झन्छन्।  

त्यतिबेला चुनावी प्रचारका क्रममा उनीहरुले आपसमा एकअर्काविरुद्ध गरेको चर्को भाषण र आरोप–प्रत्यारोपले चुनावी राजनीतिको मथिंगल हल्लाएको थियो। बस्नेतले सापकोटालाई ‘ह्याकुलाले पेलिदिने’ धम्की दिँदा सापकोटाले बस्नेतको ‘टाँङ च्यातिदिने’ चेतावनी दिएका थिए। यस्तो तिक्ततापूर्ण प्रतिस्पर्धा गरेका उनीहरुले अहिले यो निर्वाचन क्षेत्र रक्षालाई प्राण र प्रतिष्ठाको सबाल बनाएका छन्।  

२०७४ अघि सिन्धुपाल्चोकमा तीनवटा क्षेत्र थियो।  क्षेत्र नं. १ मा बस्नेत र २ मा सापकोटाले प्रतिस्पर्धा गर्दै आएका थिए।  आ–आफ्नो क्षेत्रबाट बस्नेतले २०५६ को संसदीय र २०७० को संविधान सभा निर्वाचन जिते भने सापकोटा लगातार २०६४ र २०७० को संविधान सभा चुनावमा विजयी बने।  निर्वाचन क्षेत्र निर्धारण आयोगले साविक क्षेत्र नं. १ को पूरै र २ को केही भू–भाग समेटेर नयाँ निर्वाचन क्षेत्र बनाएपछि सापकोटा र बस्नेत एकै ठाउँमा आइपुगेका हुन्।  

यो क्षेत्रमा बाह्रविसे नगरपालिका, भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, लिसंखुपाखर, बलेफी र जुगल गाउँपालिका समेटिएको छ। चौतारा नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० पनि यसै क्षेत्रमा पर्छ।  ५४ वटा वडा समेटिएको यो क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय चुनावको नतिजाको आधारमा कांग्रेस पहिलो शक्ति बनेको छ।  

बाह्रविसे, भोटेकोसी र त्रिपुरासुन्दरीमा प्रमुख, उपप्रमुख नै जितेको कांग्रेसले सुनकोसी, बलेफी र जुगलमा उपप्रमुख जितेको छ।  ३३ वटा वडा जितेको कांग्रेसका वडाध्यक्षहरुले ३४ हजार ९ सय ६१ मत ल्याएका छन्।  स्थानीय तहको मतको आधारमा यो क्षेत्रमा माओवादी तेस्रो शक्ति मात्रै हो।  बलेफी, लिसंखुपाखर र जुगलमा प्रमुखसहित माओवादीले ५ वटा वडा मात्र जितेको छ।  

वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा माओवादीसँग १९ हजार ३ सय ३४ भोट छ। कतै एमाले र एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीले केही वडाध्यक्षमा उम्मेदवार उठाएको थिएन। यो क्षेत्रमा दोस्रो शक्ति बनेको एमालेसँग २६ हजार ५ सय ५९, समाजवादीको २ हजार ३ सय ९१ र राप्रपासित १ हजार २ सय ११ मत छ। यो अंकगणितअनुसार सत्तारुढ गठबन्धन एमालेभन्दा दोब्बरभन्दा बढी मतले अघि देखिन्छ।  

एक्लै प्रतिस्पर्धा गर्दा सहजै जितिने क्षेत्र माओवादीलाई दिन नहुने आवाज कांग्रेसमा बलियो छ। गठबन्धन गर्दा यो क्षेत्र आफैँले लिनुपर्ने तर्क गर्दै कांग्रेस नेता, कार्यकर्ता छोड्नु परे बिद्रोह हुने चेतावनी दिइरहेका छन्। कांग्रेसबाट एकल उम्मेदवार सिफारिस बस्नेत स्वयम्ले पार्टी केन्द्रीय समितिको बैठकमा आफ्नो क्षेत्र माओवादीलाई कुनै हालतमा नछोड्ने दाबी प्रस्तुत गरिसकेका छन्।  कांग्रेसले जिल्लादेखि वडासम्म चलाएको ‘जनताको साथमा कांग्रेस’ अभियानमा बलियो क्षेत्र अरुलाई दिएर गठबन्धन गर्न नहुने धारणा बलियो बनेर आएको थियो।  

सभामुख सापकोटा सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र हुन्। दाहालको साथ लिएर पुनः छैठौँ पटक सत्तारोहण गर्ने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको चाहनाको कारण यो क्षेत्र माओवादीकै भागमा पर्न सक्ने बलियो आधार र सम्भावना स्वयम् जिल्लाका कांग्रेसी नेता, कार्यकर्ताले नै देखेको छन्। गठबन्धनमा अध्यक्ष दाहालले अडान लिने पार्टीका थोरै नेतामध्ये सभामुख सापकोटा अग्रपंक्तिमा पर्छन्। यस्तोमा बस्नेतलाई सिन्धुपाल्चोक क्षेत्र नं. २ वा अन्य कुनै क्षेत्र रोज्न या समानुपातिकमा बस्न नेतृत्वले भनिसकेको कांग्रेस स्रोत बताउँछ। तर बस्नेत मानिरहेका छैनन्। उनी आफ्नो क्षेत्र छोड्न टसमस भएका छैनन्। यस्तोमा सत्ता गठबन्धनबाट सिन्धुपाल्चोक–१ मा सभामुख सापकोटा उम्मेदवार बन्छन् या बस्नेतले बाजी मार्छन्? वा यी दुई नेताको व्यवस्थापन कसरी हुन्छ? अझै केही दिन कुर्नु पर्ने भएको छ। 

प्रकाशित: ३१ भाद्र २०७९ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App