coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुर १ मा परराष्ट्रमन्त्रीसँग ३ पूर्वमन्त्री भिड्दै

डा. नारायण खड्का, अशोक राई र मञ्जु चौधरी।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उदयपुरका सबै राजनीतिक दलहरुले आकांक्षीहरुको प्रारम्भिक नाम छनौट गरिसकेका छन्।

प्रदेश, संघ र जिल्ला समितिमार्फत छनौटमा परेका नामहरुलाई अन्तिम रुप दिन दलहरुले माथिल्लो समितिमा सिफारिस गरे अनुसार निर्वाचन क्षेत्र १ को चुनाव चाखलाग्दो हुने देखिएको छ। चाखलाग्दो यस मानेमा हो कि, जिल्लाका २ संघीय निर्वाचन क्षेत्रमध्ये १ नं. वहालवाला परराष्ट्रमन्त्री डा. नारायण खड्काले जितेको क्षेत्र हो।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा. खड्का ०६४, ०७० र ०७४ मा गरी सरासर ३ निर्वाचन ‘ह्याट्रिक’ गरेर पटकपटक मन्त्री हुँदै आएका छन्। यसपटकको चुनावमा पनि उनको नाम काँग्रेसले सर्वसम्मत सिफारिस गरेको छ। यसर्थ गठबन्धन दलहरुबीच विशेष परिस्थिति आइ नपरेमा सो क्षेत्र काँग्रेसकै भागमा परे खड्का नै निर्बिकल्प उम्मेदवार हुने पार्टीले जनाएको छ।

खड्काको उम्मेदवारी लगभग निश्चित जस्तै भइरहँदा अन्य ३ प्रत्यासीहरु पनि पूर्वमन्त्री नै हुने देखिएको छ। यस्तै जनता समाजवादी पार्टीका वरिष्ट नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हरिबहादुर बस्नेत र एमाले पोलिटब्यूराे सदस्य मञ्जुकुमारी चौधरीले पनि यही निर्वाचन क्षेत्र ताकिरहेका छन्।

पूर्व एमाले उपाध्यक्ष र २ पटक मन्त्री भइसकेका राईलाई जसपाले यही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार बनाउने सिफारिस गरेको जसपा उदयपुरका अध्यक्ष केशव खपाङ्गीले बताएका छन्। त्यस्तै पञ्चायतकालमा पटक-पटक मन्त्री भइसकेका राजवादीहरुको पार्टी राप्रपाका केन्द्रीय सदस्य बस्नेत पनि लगभग उम्मेदवार हुने निश्चित जस्तै भएको पार्टी जिल्ला अध्यक्ष ध्रुब रायमाझी बताउँछन्।

उनका अनुसार आफूसहित ४ जनाको नाम सिफारिस भए पनि सर्वसम्मत नाम बस्नेतकै भएकाले अन्यको नाम उनको अगाडि फिक्का हुने रायमाझी बताउँछन्। एमालेसँग गठबन्धन नभए राप्रपाबाट बस्नेतकै उम्मेदवारी निश्चित हो। एमालेबाट पनि यो क्षेत्रमा पूर्वमन्त्री मञ्जुकुमारी चौधरी नै प्रत्यासी हुने प्रवल सम्भावना छ।

चौधरीसहित डा. कल्याण रोक्का, बिमल कार्कीलगायतको नाम सिफारिस भए पनि गत ०७४ मा काँग्रेसका खड्काबाट पराजित उनकै सम्भावना बलियो रहेको पार्टीकै नेताहरुको दाबी छ। ०७० को संविधानसभा चुनाव जितेर मन्त्री भएकी चौधरी एमाले पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्जसमेत हुन्।

प्रकाशित: २९ भाद्र २०७९ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App