coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेसँग संवादमा लोसपा

फाइल तस्बिर

तराई मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेकपा एमालेसँग औपचारिक तथा अनौपचारिक संवाद र सम्पर्क गरेका छन्। सत्तारूढ गठबन्धनले लोसपालाई पाँचदलीय गठबन्धनमा ल्याउने संकेत नगरेपछि उसका नेताहरूले घोषित रूपमै एमालेका नेतासँग छलफल सुरु गरेका हुन्। छलफल निर्वाचनमा तालमेल लक्षित रहेको बताइएको छ।

लोसपा नेता उमाशंकर अरगरैयाका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओलीसँग कुराकानी गरेका छन् भने वरिष्ठ नेता राजेन्द्र महतोले एमाले उपाध्यक्ष सुवास नेम्बाङसँग कुराकानी गरिरहेका छन्। एमालेसँग गरिएको कुराकानी सकारात्मक भएको अरगरैयाको भनाइ छ। ‘हाम्रो चुनावी गठबन्धन एमालेसँग हुने सम्भावना धेरै छ,’ अरगरैयाले भने, ‘त्यसका लागि अहिले विभिन्न चरणमा कुराकानी भइरहेको छ।’

लोसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेललाई प्राथमिकतामा राखेको छ। यसका लागि लोसपाका अध्यक्ष ठाकुरले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक संवाद गरेका थिए। तर देउवासँग भएको संवाद र छलफल परिणामुखी हुन सकेको छैन। स्रोतका अनुसार देउवाले लोसपाललाई गठबन्धनमा ल्याउन चाहेका छन्। तर गठबन्धनका अन्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव तयार नभएको स्रोतको भनाइ छ। ‘लोसपालाई पाँचदलीय गठबन्धनमा ल्याउने विषयमा प्रधानमन्त्रीज्यू हुन्छ हुन्छ मात्र भन्नुहुन्छ तर ठोस जवाफ दिनुहुन्न,’ अरगरैयाले भने, ‘हामीले कति दिनसम्म पर्खने ? त्यसैले एमालेसँग पनि कुराकानी सुरु गरेका छौं।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा प्रमाणीकरण गरिनन् भने एमालेसँग चुनावी गठबन्धन गर्न लोसपालाई समस्या हुनेछ। त्यसैले लोसपाका नेताहरू सकेसम्म नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्न चाहन्छन्। तर, नेपाली कांग्रेससँग गठबन्धन हुने अवस्था नभएपछि लोसपा एमालेसँग नजिकिएको हो। लोसपाका नेता अरगरैयाले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनेमा आफू ढुक्क भएको बताए। ‘अझै समय बाँकी छ। राष्ट्रपतिज्यूबाट नागरिकता विधेयक प्रमाणीकरण हुनेमा म ढुक्क छु,’ उनले भने।

प्रकाशित: २८ भाद्र २०७९ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App