coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कपनको बाढीसँगै मैले गाली खान थाल्छु: गगन थापा

आइतबार आयोजित धोबीखोला करिडोर कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी अन्तरक्रियाका सहभागी। तस्बिर: नागरिक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कपन खहरेमा बाढी आउना साथ आफूले सबैभन्दा धेरै गाली खाने गरेको बताएका छन्। आइतबार प्रस्तावित धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै थापाले धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको काममा सरकारले छुट्टै आयोजना बनाउनुपर्ने बताए ।

‘यो क्षेत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ। कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु,’ थापाले भने, ‘करिडोर क्षेत्रमा सयौं घर बनेका छन्। करिडोर बनाउने क्रममा खोलाको बहाबलाई मात्रै नियन्त्रण गर्ने गरी नभएर बनाएका घरहरूको समेत संरक्षण कसरी गर्ने भन्ने सोच्नुपर्ने देखिन्छ ।’

उनले धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए। ‘सबै आयोजनामार्फत काम गरेर कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्छ,’ उनले भने, ‘काठमाडौं उपत्यका प्राधिकरण, स्थानीय नगरपालिका र प्रदेशले खण्डखण्डमा काम गरिराखेका छन्। यसलाई एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्न के गर्ने भन्ने योजना बनाउनुपर्छ ।’

त्यस्तै सोही कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधारीले धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन्। सरकारले धोबीखोला करिडोर निर्माणका लागि अब बस्ने मन्त्री परिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए ।

मन्त्री चौधरीले करिडोर निर्माणमा सरकारले त्यहाँबाट जनता विस्थापित हुनुनपर्ने गरी योजना बनाउने प्रतिबद्धता जनाए। यो क्षेत्रका जनप्रतिनिधि भएका कारण पनि धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको विषयमा सांसद गगनकुमार थापाले विशेष पहल गर्नुपर्ने चौधरीले बताए ।

सांसद थापाको पहललाई सहरी मन्त्रालयले शत प्रतिशत सहयोग गर्न तयार रहेको बताए। ‘धाबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको विषयमा संसद् गगनकुमार थापाले विशेष पहल गर्नुपर्छ ।,’ चौधरीले भने, ‘गगनकुमार थापालाई मन्त्रालयले १०० प्रतिशतभन्दा माथि सहयोग गर्न तयार छ ।’ यो करिडोरलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारी रहेको उनले सुनाए ।

‘करिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताको मागअनुसार समस्याको समाधान गर्न सकिन्छ,’ उनले भने, ‘अब बस्ने मन्त्रीपरिषद्को बैठकमा छुट्टै आयोजना बनाएर करिडोर बनाउने प्रस्ताव पास हुन्छ ।’

मन्त्री र सांसदले कपन डुबान र धोबीखोला करिडोरको विषयमा ठूला कुरा गरे पनि ससाना लापर्बाहीले कपन डुब्ने गरेको स्थानीय बताउँछन्। ‘चुनाव आएपछि डुबान र उद्धारका कुरा हुन्छन्, तेन्जिङ चोकका निमा तामाङ भन्छन्, ‘चुनाव सकिएपछि यी कुरा सेलाएर जान्छन् ।’

वर्षासँगै सडकमा जम्मा हुने पानीको उचित निकास नभएकाले र ढल व्यवस्थापनमा धेरै त्रुटि रहेकाले कपन क्षेत्र जलमग्न बन्ने गरेको उनको बुझाइ छ। अव्यवस्थित ढल कपनवासीका लागि दुःखको कारण बने पनि यसमा कोही जिम्मेवार नभएको उनी सुनाउँछन् ।

उनले भनेजस्तै बक्स कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा कपन डुबेको हो। ठेकेदारले समयमै कल्भर्ट निर्माण पूरा गर्न नसक्दा र अझै कति समय लाग्ने भन्ने यकिन नहुँदा कपनको डुबान समस्या तत्काल समाधान हुने अवस्था देखिएको छैन। यस वर्षको असारसम्म १४ सय मिटर कल्भर्ट निर्माण हुनुपर्नेमा जम्मा १६० मिटर मात्र बनेको अवस्था छ ।

एकातिर कपन क्षेत्रमा पर्ने बुढानीलकण्ठ नगरपालिका– १० का जनप्रतिनिधिले ठेकेदारले चुस्त रूपमा काम अगाडि नबढाउँदा डुबानको समस्या कहिले टुंगिने भन्ने अझै ठेगान नभएको बताउँछन्। अर्कोतिर ठेकेदार पक्ष भने समन्वयको अभावमा काम गर्न ढिलाइ भएका कारण समस्या लम्बिएको स्विकार्छन् ।

‘यो असारसम्म १४ सय मिटर बक्स कल्भर्ट बनाइसक्नेगरी अघिल्लो वर्ष नै ठेक्का लागेको थियो,’ भट्टराई सुनाउँछन्, ‘ठेकेदारले काम अगाडि नबढाउँदा समस्या कहिले टुंगिने भन्ने अझै ठेगान छैन ।’ पिआर इन्फ्रास्ट्रक्चर प्रालिका प्रोजेक्ट म्यानेजर राजीव यादव भने काम गर्ने क्रममा आएका विभिन्न अवरोधले कल्भर्ट निर्माणमा ढिलाइ भएको स्विकार्छन्।

बिजुलीका खम्बा, साँघुरो सडक, काम गर्ने स्थान अभाव, खाल्डो खन्दा दुवैतिर रहेका घरमा पर्न सक्ने जोखिमलगायत कारणले काममा ढिलाइ भएको उनको भनाइ छ। ‘सडकमा खाल्डो खन्न थाल्यो कि घर जोखिममा पर्‍यो भन्दै स्थानीयको अवरोध हुन्छ,’ उनले भने, ‘एकएक व्यक्तिसँग डिल गर्दै अगाडि बढ्न निकै समस्या हुँदो रहेछ ।’

१४ सय किलोमिटर लामो यो कल्भर्ट निर्माण योजनाका लागि करिब ४५ करोड रूपैयाँको टेन्डर आह्वान गरेकोमा पिआर इन्फ्रास्ट्रक्चर प्रालिले २८ करोडमा काम गर्ने भनेर सकारेको थियो ।

कल्भर्ट निर्माणमा सहयोग पु¥याएको उपत्यका विकास प्राधिकरणका इन्जिनियर राजीव श्रेष्ठ सरोकारवाला निकायबीच आपसमा समन्वय हुन नसक्दा काममा ढिलाइ भएको बताउँछन्। ‘कुनै एक पक्षको भन्दा पनि स्टेक होल्डर सबैमा कमजोरी देखियो,’ उनले भने, ‘त्यसैले कामले सोचेजस्तो गति लिएन ।’

जसका कारण पानीको उचित निकास नहुँदा कपन क्षेत्रदेखि मिलनचोक, गोपीकृष्ण, भृकुटीचोक, तेन्जिङचोकलगायत क्षेत्र हरेक वर्ष डुब्ने गरेका छन्। अचानक आउने दर्के पानीको भेलले यस क्षेत्रमा पटकपटक दुर्घटनासमेत हुने गरेको छ।

कपन क्षेत्रदेखि मिलनचोक, गोपीकृष्ण, भृकुटीचोक, तेन्जिङचोकलगायत क्षेत्र हरेक वर्ष डुब्ने गरे पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको स्थानीयको गुनासो छ। यस्तोमा मन्त्री चौधरी र सांसद थापाको कुराले मात्र स्थानीय ढुक्क छैनन्। ‘कुरा मात्र हैन, कामको प्रतीक्षामा छौं,’ भृकुटी चोकका सन्देश कार्की भन्छन्, ‘तब मात्र कपनवासीले बाढीबाट मुक्ति पाउँछन् ।’

प्रकाशित: २७ भाद्र २०७९ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App