२ जेष्ठ २०७८ आइतबार
राजनीति

चर्किंदै एमाले विवाद

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेभित्र देखिएको विभाग गठन विवाद उत्कर्षतर्फ गएको छ। स्थायी कमिटीबाट विवाद टुंगिने सम्भावना नभएपछि विभाग गठनको विषय यसै साताबाट सुरु हुने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा लैजाने तयारीमा नेताहरू छन्। विभाग गठनको विषयलाई लिएर स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेता आरोप–प्रत्यारोपमा उत्रिएका बेला पोलिटब्युरो र स्थायी कमिटी बैठक बस्न लागेको छ। मंगलबारबाट पोलिटब्युरो र शनिबारबाट केन्द्रीय कमिटी बैठक सुरु हुँदैछ।'हामी पोलिटब्युरो बैठकअघि नै स्थायी कमिटीमा विभागको विषय टुंग्याउने छौं,' एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकसँग भने, 'स्थायी कमिटीबाट समाधान नभए यो विषय पोलिटब्युरोमा जानु स्वभाविक नै हो।

केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकमा संविधान जारी भएपछिको अवस्थामा पार्टीले गर्नुपर्ने अगुवाइको विषयमा छलफल हुने उनले बताए।

यसअघिको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटको काम स्थायी कमिटीलाई दिएको थियो। त्यसअनुसार पार्टी केन्द्रीय कमिटीको जिम्मेवारी तोकिए पनि विभाग गठन हुन सकेको छैन। विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन गरिनुपर्ने हो। एमालेमा ३२ वटा विभाग छन्। प्रत्येकमा बढीमा २५ सदस्य हुने व्यवस्था छ।

संगठन विभाग गठनमा एकलौटी गरेको भन्दै आक्रोशित बनेका नेता माधवकुमार नेपालले बहुमतले निर्णय गरे नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएका छन्। अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच चर्काचर्की परेपछि विभाग गठनका लागि बुधबार बसेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

'विभाग गठनका लागि स्थायी कमिटीमा सुरु भएको छलफल टुंग्याइनुपर्छ,' एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, 'अहिलेको देशको जटिलता र गम्भीर अवस्थालाई ध्यान दिँदै पार्टीभित्र विवाद गरेर बस्नु उचित हुँदैन।'

नेपालपक्ष पोलिटब्युरो र केन्द्रीय कमिटीमा बहुमतले पेलेर लैजान खोजे त्यसमा पनि नोट अफ डिसेन्ट लेख्ने तयारीमा छ। 'पार्टीभित्र विभाग गठनको विषयमा देखिएको विवादलाई छलफलको माध्यमबाट समाधान गर्नेछौं,' एमाले सचिव गोकर्ण विष्टले नागरिकसँग भने।

प्रकाशित: २२ चैत्र २०७२ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?