coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनमा कपिलवस्तुमा पुरानै नेताहरुलाई प्राथमिकता

कपिलवस्तुमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा ठूला दलहरुले पुरानै अनुहारलाई प्राथमिकता दिएका छन।कांग्रेस,एमाले र माओवादी केन्द्रले पुरानै अनुहारलाई लड्नका लागि जिल्लाबाट सिफारिस गरेका हुन।

कपिलवस्तु ३ का प्रतिनिधिसभाका लागि जिल्लाबाट सिफारिस भएका अधिकांश नामहरु पुरानै अनुहारको वर्चश्व देखिएको हो। चुनाव जित्ने नाममा  नेपाली कांग्रेस  नेकपा (एमाले) ले र माओवादी केन्द्रले पुराना नेताहरुलाई अगाडी सारेका हुन्। जनतामा भिजेका, पटक पटक चुनाव जितेका उम्मेदवारलाई टिकट दिँदा चुनाव जित्ने ती दलको दाबी छ।

देशभर नयाँ अनुहार, त्यसमा पनि युवा पुस्ताको माग बढिरहेका बेला कपिलवस्तुमा त्यो परिस्थिति नआउने लगभग पक्कापक्की छ। जनमतका हिसाबले ठूला दलहरु भित्रबाटै चुनाव जित्ने सम्भावना बलियो छ। ठूला दलहरुले पुराना अनुहारलाई चुनावी मैदानमा पठाउँदा साना दलहरुले नयाँ र युवा पुस्तालाई अगाडी सारेका छन्। जिल्लामा ठूला दलकै उम्मेद्वारले चुनाव जित्ने बलियो जनमत छ।

कांग्रेसले प्रतिनिधिसभा १ मा भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायको नाम सिफारिस गरेको छ। उपाध्याय ०४८ साल देखि चुनाव लड्दै आएका छन्। यो चुनावमा उनी उठे सातौं पटक हुन्छ। ०४६ सालको बहुदलिय प्रतिस्पर्धा पछि उनी निरन्तर चुनावमा उठदै आएका छन। उपाध्यायसहित अतहर कमालको नाम पनि यहीँ क्षेत्रबाट सिफारिस भएको छ। कमालले ०७० को चुनावमा कांग्रेसबाट बिद्राेह गर्दै चुनावमा उठेर स्वतन्त्र रुपमा चुनाव जितेका थिए। उनले टिकट पाए केहीँ नयाँ अनुहारको महसुस मतदाताले पक्कै गर्नेछन्।

२०७४ को निर्वाचनमा कमाल समानुपाति सांसद चुनिएका थिए। माओवादी केन्द्रले यही क्षेत्रबाट माओवादी केन्द्रका सचिव चन्द्रप्रकाश खनाल बलदेवसहित ३ जनाको नाम सिफारिस गरेका छ। उता अर्घाखाचीमा पार्टीले नेता खनालको नाम सिफारिस भए पछि उनी त्यहीबाट चुनाव लडने चर्चा चलेको थियो।

२०७४ सालमा उनले यही क्षेत्रबाट नेता उपाध्यायलाई हराउदै निर्वाचन जितेका थिए। नेता बलदेवले आफुले २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेकोले गठबन्धनको साझ उम्मेदवारका रुपमा यही क्षेत्रबाट चुनाव लडने घोषणा गरी सकेका छन। कांग्रेस माओवादी केन्द्र लगायतको गठबन्धनको साझा उम्मेदवाकारुपमा आफुल नै टिकट पाउने र लडने बताएका छन।

उता क्षेत्र नम्बर १ मा कांग्रेस नेता कमालले जस्तो सुकै परिस्थितिमा चुनाव लडने मुड बनाएको उनी निकट नेताहरु बताउँछन। क्षेत्र नम्बर १ मा मुस्लिम मतदाता बढी छन र यही क्षेत्रमा रहेर नेता कमालले काम गरेकोले पनि उनी मतदाता माझ रुचाएका हुन।

भारतका लागि पूर्व नेपाली राजदुत नेता दिपकुमार उपाध्ययाले पार्टी निर्णयलाई सबैले मान्नु पर्ने बताएका छन। जिल्लामा नेकपा (एमाले) ले पनि उनै पुराना अनुहारलाई टिकट दिने तयारी गरेको छ। प्रतिनिधिसभा १ मा बलराम अधिकारी र दानबहादुर चौधरीको नाम सिफारिस भएको छ। अधिकारी एमाले कपिलवस्तुका पुराना नेता हुन्। एक दशक बढी जिल्लाको पार्टी नेतृत्व सम्हालेका अधिकारी ०७० मा चुनाव जितेका थिए। ०६४ देखि चुनाव लड्न थालेका अधिकारी ०७४ मा पनि चुनाव लड्ने आकांक्षा राखेका थिए। तर पार्टी टिकट दिएन। चौधरी ०५६ यताका हरेक चुनावमा भाग लिदै आएका छन्। ०५६ मा एमालेबाट चुनाव जितेका चौधरी ०६४ सम्म आउँदा एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरे। यहीँ दलबाट उनले चुनाव समेत जिते। ०७० मा आउँदा उनले यो पार्टी त्यागेर फोरक लोकतान्त्रिकबाट चुनावमा उठेर हारे।

०७४ मा नयाँ शक्ति नेपाल पार्टीबाट चुनावमा लडेका चौधरी हालै मात्र जसपा हुँदै नेसपा परित्याग गर्दै एमालेमै फर्किएका हुन्। हरेक चुनावमा दल परिवर्तन गर्दै आएका चौधरीलाई मतदाताले पटक पटक ‘टेस्ट’ गरिसकेका जनप्रतिनिधि हुन्। क्षेत्र नं. २ मा कांग्रेसबाट सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस भएको छ। आचार्य पनि जिल्लाका पुराना अनुहारमा पर्छन्। ०५६ देखि चुनाव लड्न थालेका आचार्य ०६४ बाहेक हरेक चुनाव लड्दै आएका छन्। ०७० मा चुनाव जितेका आचार्यले ०७४ मा चुनाव हारेका थिए।

प्रतिनिधिसभा २ बाट एमालेले वृजेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ। हाल पनि यहीँ क्षेत्रका सांसद रहेका गुप्ता ०७४ मा सूर्य चिन्हबाट चुनाव जितेका थिए। ०५६ देखि हालसम्म लगातार चुनाव जित्दै आएका गुप्ता यो चुनावमा पनि एमालेबाट निर्विकल्प उम्मेदवार बनेका छन्। आम मतदाताले पटक पटक उनलाई हेरिसके पनि दलले पटक पटक चुनावमा उठाउने गरेका छन्। यो निर्वाचनमा उनलाई मतदाताले कसरी हेर्छन् हेर्न बाँकी छ। क्षेत्र नं. ३ मा कांग्रेसका अभिषेकप्रताप शाहको एकल नाम सिफारिस भएको छ। युवा नेतामा पर्ने शाह ०६४ यताका हरेक चुनाव लडेर पुराना बनिसकेका छन्। लगातार ३ चुनाव जितेका शाहको काम गराई यहाँका मतदाताले हेरिसकेका छन्।मधेसी दल हुँदै कांग्रेस छिरेका शाह आसन्न चुनावमा पनि उठ्ने तयारीमा छन्। 

प्रतिनिधिसभा ३ मा एमालेले बहुदल यताका हरेक चुनाव लड्ने तर नजित्ने गरेका मंगलप्रसाद गुप्तालाई उम्मेदवार बनाएको छ। पञ्चायतताका यसका कट्टर समर्थक गुप्ता बहुदल पश्चात नेपाली कांग्रेसमा छिरे। कांग्रेसले ०७० मा टिकट नदिए पछि गुप्ता मधेसी दलबाट चुनाव लडे। ०७४ मा पनि चुनाव हारेका गुप्ता अहिले एमालेमा छन्।

उनलाई आसन्न चुनावमा एमालेले उम्मेदवार  बनाउने तयारी गरेको छ। कांग्रेस, एमालेले यी पुराना नेतासंगै नयाँ कतिपय नयाँ अनुहारको नाम पनि सिफारिस गरेका छन्। तर, यीनका नजिक ती उम्मेदवारहरु छायाँमा पर्ने निश्चित छ। कतिपय नेताहरुले चुनाव उठ्ने गरी आफ्नो दावी प्रस्तुत गरेका छन भने कतिपयले नामका लागि मात्र पठाएका छन्। केन्द्रिय स्तरका नेताको बुझाई अनुसार नयाँ उम्मेदवारले टिकट पाउनु ‘ कठीन छ। पटक पटक चुनाव लडेर जनताले हेरिसकेका नेताहरुलाई यो निर्वाचनमा आम मतदाताले कसरी हेर्छन् त्यो दिन कुर्नका लागि भने मंसीर ४ को निर्वाचनसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ।

प्रदेश सदस्यका भने दलहरुले पुराना र नया अनुहार मिलाएर नाम सिफारिस गरेका छन। पुराना नेता मध्ये एमाले कपिलवस्तुको क्षेत्र नम्बर १ को 'क' मा २०७४ सालमा चुनवा जितेका बिष्णु पन्थीलाई नै टिकट दिने बलियो सम्भावना छ। उता सोही क्षेत्रको 'ख' निर्वाचन क्षेत्रमा २०७४ सालका चुनाव जितेका जसपाका नेता सहसराम यादवलाई नै पार्टीले अघि सारेको छ। यो क्षेत्रमा लोसपाका नेता मधुसुदन चौधरी समेत टिकट पाए एमाले प्रवेश गर्ने तयारी गरेको छ। 

एमालले निर्वाचन क्षेत्र नम्बर २ 'ख' मा पुनःधरम बहादुरलाल श्रीवास्तवलाई टिकट दिने संभावना बढी छ। यही क्षेत्रमा कांग्रेसले भने सुधाकर पाण्डेयलाई नै अघि बढाउने देखिएको छ। यधपी यो क्षेत्रमा जसपाको समेत दाबी छ। यस्तै क्षेत्र नम्बर २ क मा प्रदेश सभा तर्फ कांग्रेसले पुर्व एएसपी बिक्रम सिंह थापाको एकल नाम सिफारिस गरेको छ।

यो क्षेत्रमा २०७४ सालमा कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका दीर्घ नारायण पाण्डेय अहिले भने कांग्रेसमा  छन। तिनले अहिले टिक पाउने संम्भावना न्युन रहेको कांग्रेस नेता बताउँछन। उता क्षेत्र नम्बर ३ क मा एमालेले २०७४ सालमा चुनाव जितको अर्जुन केसी कै नाम सिफारिस गरेको छ। सो क्षेत्रमा कांग्रेसले जमसेर अली मियालाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। यस्तै क्षेत्र नम्बर ३'ख' मा २०७४ सालमा निर्वाचन जितेका कांग्रेस नेता बिरेन्द्र कनौडियाको नाम सिफारिस भएको छ। निर्वाचनमा गठबन्धन र एमाले बिच नै सबै क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित: २६ भाद्र २०७९ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App