१९ मंसिर २०७९ सोमबार
राजनीति

दाङ कांग्रेसका तीन ‘फ्याक्टर’: सन्तुलन नहुँदा ‘बिरासत’ कमजोर

पहिलो संसदीय निर्वाचन २०१५ मा दाङका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र गोर्खा परिषद बिच टक्कर पर्यो। त्यो बेला कम्युनिष्टहरु यहाँ हैसियतमा थिएनन्। राणाहरुको निर्देशनमा चल्दै आएको गोर्खा परिषदलाई कांग्रेसले उछिन्यो, अन्ततः दुबै निर्वाचन क्षेत्रबाट कांग्रेस बिजयी भयो। त्यो निर्वाचनमा परशु नारायण चौधरी र गणेश कुमार शर्मा यहाँबाट संसद प्रवेश गरेका थिए। 

त्यसपछिको २०४८ को निर्वाचनमा दाङमा कायम भएका तीन क्षेत्र मध्ये एक सीट बाहेक अन्यमा नेपाली कांग्रेस विजयी भयो। त्यसपछिको २०५१ को निर्वाचनमा यहाँ चार क्षेत्र कायम भए। ०४८ यताको तीन वर्षको अवधिमा पनि कांग्रेस हाबी भयो।  

२०४८ मा एक सीट जीतेको एमाले यो अवधिमा पनि उहि स्थानमै सिमित बन्न पुग्यो। २०५१ पश्चात भएको २०५६ को संसदीय निर्वाचनमा कांग्रेसले आफ्नो जनमत माथि उकास्यो भने एमाले झनै खुम्चिन पुग्यो। त्यो बेलाका चारै निर्वाचन क्षेत्रमा कांग्रेस एकछत्र हाबी भयो। २०५६ को निर्वाचन पश्चात नेपालको राजनीतिमा ठूलो उथलपुथल आयो।  

तत्कालीन राज्यसत्ताको विरुद्ध द्धन्दमा होमिएको शक्ति माओवादी शान्ति प्रकृयामा आएपछि पुराना दलहरु ओझेलमा परे। कांग्रेसको पुरानो गढलाई आफ्नो प्रभावमा पारेर माओवादीले २०६४ को संविधान सभा निर्वाचनमा यहाँका पाँचै सीट कब्जा गर्यो।  

२०६४ को पहिलो संविधानसभा निर्वाचन यता यहाँको जनमत स्थिर रहेन। माओवादीले खोसिदिएको साख पुनः आफूमै कायम राख्ने नेपाली कांग्रेसको योजना पुनः सफल बन्यो। २०६४ मा हाबी माओवादीलाई शून्य जीतको अवस्थामा पुर्याएर नेपाली कांग्रेसले त्यति बेलाका पाँचै सीटमा जीत हात पार्यो। ०६४ मा हाबी भएको माओवादीलाई पछाडी पारेर पुनः ०७० मा आफ्नो बिरासत कायम गर्न सकेको कांग्रेस त्यस यता भने आफ्नो पुरानो विरासत् कायम गर्नबाट चुकिरहेको छ।  

०७४ को स्थानीय तहको निर्वाचनमा सानो आकारमा परिणत कांग्रेस उसै वर्षको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा झनै कमजोर देखियो। माओवादी र एमाले बिचको भएको गठबन्धनको चपेटामा परेको कांग्रेसले त्यो बेला जम्मा एउटा प्रदेशसभा क्षेत्रमा मात्रै जति निकाल्न सक्यो। प्रतिनिधिसभाका तीनै क्षेत्र र प्रदेशसभाका अन्य ६ सीटमा कांग्रेस पराजित बन्यो।  

०६४ साल यताको निर्वाचनमा आफूलाई स्थिर राख्न नसकेको कांग्रेस दाङ भित्र मुलतः तीन ‘फ्याक्टर’ छन्। यिनै फ्याक्टरहरु बिच सन्तुलन कायम नहँुदा कांग्रेसको पुरानो बिरासत स्थिर रहन नसकेको चर्चा कांग्रेस वृत्तमा चल्छ। ‘मूलतः जिल्लामा रहेका समूहहरुका बिचमा तालमेल हुन नसक्नु नै यसको परिणाम हो,’ जिल्लाका एक कांग्रेस नेताले भने ‘यदि यसो हुन सकेको खण्डमा कांग्रेसको शक्ति म्यानेज हुन्छ।’

नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा दख्खल राख्न सफल नेता खुमबहादुर खड्काको एकल प्रभाव जिल्लामा रह्यो। उनीसँगको बैचारिक भिन्नता हुने जिल्लाका कांग्रेसीहरु पनि उनको निर्णयलाई नकार्न नसक्ने अवस्थामा जिल्लामा थियो। फलतः जिल्लामा खुमबहादुर खड्काको एकल निर्णय सर्वमान्य हुन्थ्यो। तर खड्काको निधन पश्चात उनको समूहको निर्णय प्रकृया कमजोर बन्यो। तथापी उनको ‘लिगेशी’ को प्रभाव उनको समूहमा कायमै छ।  

खड्कासंग निकटस्थ समूहले अहिले जिल्लामा आफूलाई एउटा फ्याक्टरको रुपमा हेर्छ। भलै खड्का पछि उनका बलिया उत्तराधिकारी भने जिल्लामा कायम हुन सकेनन्। खड्का पत्नी शिला, छोरा अनुराग र कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी खड्का समूहको नेताका रुपमा चिनिन्छन्। तर यो समूहमा खड्काको पुरानो लिगेशी मात्रै कायम रहेको तर उनीहरु कै बिचमा भने बलियो शक्ति निर्माणका लागि छलफल वा परामर्श भने भएको देखिन्न।  ‘खड्काको पुरानो लिगेशीले यो समूहलाई प्रेरित गरिरहेको छ,’ कांग्रेसका ती नेताले भने ‘फलतः त्यो लिगेशी कायम भैरहनु पनि यो समूह दाङ कांग्रेस भित्रको एउटा फ्याक्टरका रुपमा रहेको छ।’  

कुनै बेला नेता खड्कासंगै बलदेव शर्मा मजगैयाँ,तिर्थराज चैतु र कृष्णकिशोर घिमिरेको निर्णयलाई सर्वोपरी मान्ने अवस्था जिल्लामा थियो। यी नेता मध्ये खड्काको निधन भैसकेको छ। अर्का नेता चैतु शारीरिक अवस्थाका कारण सकृय राजनीतिबाट पाखा लागिसकेका छन् भने मजगैयाँ पनि सकृय राजनीतिमा छैनन्। यी मध्येका घिमिरे अहिले त्यो बिरासत् हाँक्ने एकल नेताका रुपमा कांग्रेस राजनीतिमा सकृय छन्। ‘कुनै बेला खड्कासंगै तिर्थराज चैतु र कृष्णकिशोर घिमिरे जिल्लाका निर्णायक शक्तिका रुपमा रहे,’ ति नेताले भने ‘अब त्यो बेलाका निर्णायक शक्ति मध्येका एक शक्ति कृष्ण किशोर घिमिरे मात्रै कांग्रेस राजनीतिमा हुनुहुन्छ।’

कुनै बेलाका निर्णायक शक्ति बनेका घिमिरेको त्यो प्रभाव अहिले पनि कायमै छ। फलतः दाङ कांग्रेसमा उनको ‘फ्याक्टर’ मजबुत छ। शालिन नेताका रुपमा चिनिएका घिमिरे आलोचित नेता हैनन्। कुनै पनि विवादित बिषयमा नमुछिएका घिमिरे पूर्व सांसद समेत हुन्। गत कार्यकालमा कांग्रेसको बैकल्पीक केन्द्रीय सदस्य बनेका घिमिरे कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। ‘पदीय अवसर पाएर पनि आफूलाई नभई अरुलाई दिन जोबडल गर्ने त्यागी नेताका रुपमा उहाँको प्रभाव रह्यो,’ दाङ कांग्रेसका एक पदाधिकारीले भने ‘उहाँ दाङ हाँक्ने पुराना नेता मध्यका एक नेता हो।’  

खड्काका राजनीतिक सहयात्री बनेर दाङ कांग्रेस निर्माण गर्ने अभियानमा रहेका घिमिरे अहिले पनि दाङ कांग्रेस निर्माणका लागि निर्णायक भूमिकामा रहन सक्ने नेता हुन्। उनकै राजनीतिका कारण उनको परिवारबाट नेताहरु उब्जनुलाई उनको कमजोर शक्तिका रुपमा आँकलन गर्न सकिँदैन। उनको घर परिवारका मात्रै ४ सदस्य दाङबाट कांगे्रसका महाधिवेशन प्रतिनिधि चयन भए। ‘दाजु (कृष्ण किशोर) कै राजनीतिक सकृयताले परिवारभित्र राजनीतिक माहोल बढ्दै गयो,’ उनका भाई कमलकिशोर घिमिरे भन्छन् ‘फलतः राजनीतिक कृयासिलतामा हामी होमियौँ, परिणामः हामीहरु अहिले ४ जना परिवारका सदस्य महाधिवेशन प्रतिनिधि चुनियौँ।’

दाङ कांग्रेसका फ्याक्टरहरु खड्का र घिमिरेसंगै अर्का फ्याक्टर हुन् दीपक गिरी। मूलतः जिल्लाको क्षेत्र नम्बर ३ मा आफ्नो विशेष प्रभाव राखेका नेता गिरी केन्द्रमा कांग्रेस पूर्व महामन्त्री डा. शशांक कोइरालासंग निकटस्थ छन्। यसअघिको कार्यकालमा केन्द्रीय सदस्य रहेका गिरी सिँचाई मन्त्री समेत भैसकेका छन्। यसैगरि उनी अहिले पुनः केन्द्रीय सदस्यमा निर्वाचित भए। पूर्व महामन्त्री डा. कोइरालासंगको निकटस्थताले गिरीलाई जिल्लामा एउटा फ्याक्टर हाँक्ने नेताका रुपमा उभ्याइदियो।  

जिल्लाका निर्णायक नेताका रुपमा आफूलाई सावित गर्न नसके पनि उनको अहिले कांग्रेस जिल्ला नेतृत्व चयनमा भने राम्रो प्रभाव रह्यो। जिल्ला कांग्रेसको नेतृत्वमा उनले आफू निकटस्थलाई पुर्याए। यसैगरि स्थानीय तहको निर्वाचनमा पनि आफ्नो क्षेत्र ३ मा वडागत रुपमा आफू निकटस्थलाई विजयी गराउन सकेका गिरीले आफ्नो प्रभाव राम्रै छोडे।  

जिल्ला कांग्रेसका यी तीन फ्याक्टरहरु बिच सन्तुलन कायम भने हुन सकेको देखिन्न। यी समूहहरुको बिचमा सन्तुलन कायम हुन नसकेकै कारण जिल्लामा कांग्रेसको बर्चश्व कम बन्दै गएको देखिन्छ। ‘दाङमा कांग्रेसको जुन पुरानो बिरासत् थियो, त्यो कमजोर बन्दै गयो,’ कांग्रेस दाङकबा पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरेले भने ‘यसको प्रमुख कारण भनेकै यहाँका फ्याक्टरहरुका बिचमा सन्तुलन हुन नसक्नु हो।’ यी तिन समुहबिच सन्तुलन कायम भए यी समूहका नेताहरुलाई मात्रै नभई सिंगो जिल्ला कांग्रेसलाई फाइदा पुग्ने कांग्रेसीहरु देख्छन्।  

प्रकाशित: २५ भाद्र २०७९ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App