coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै रविन्द्र मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिएका छन्। उनले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्ने कुरा सम्भव नरहेको पनि बताएका छन्।

शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए। उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरुसँग आग्रह गरे। वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी भएका थिए। सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।

नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए। जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरुले संघीयताका कानून नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको उनले आरोप लगाए। नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम काँग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर काँग्रेसले देश विकास गर्ने बताए।

नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए। शिक्षा दिनेसँगै सीप दिने कामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ। नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए।

नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताए। भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको बताए।

प्रकाशित: २५ भाद्र २०७९ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App