coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश विशेष कार्यक्रम समयमै कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश विशेष कार्यक्रमहरु समयमै कार्यान्वयन गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्।  

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रम, एकीकृत वस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, महिला आयआर्जन कार्यक्रम र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइसकेको बताउँदै समयमै कार्यान्वन गर्न निर्देशन दिए।

मुख्यमन्त्री शाहीले अघिल्ला वर्षहरुमा छिटोमा जेठमा अख्तियारी आउने मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि साउन १ गतेनै स्थानीय तहलाई अख्तियारी दिइएको बताए। ‘मुख्यमन्त्री रोजगार कार्यक्रम पहिलो पटक कर्णाली प्रदेश सरकारले साउन एक गतेदेखिनै लागू हुने गरेर स्थानीय तहलाई योजनाको नाम र रकम पठाइएको छ,’ बिहीबार जुम्लाका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘पहिले छिटोमा जेठमा आउँथ्यो, अहिले समयमै आएको छ, एक–दुई महिनामै कार्यान्वयन गरेर सम्पन्न गर्नुहोस्।’ मुख्यमन्त्री शाहीले कर्णालीका हुम्ला, डोल्पा र मुगुका प्रत्येक वडालाई २० लाख र अन्य सात वटा जिल्लाका वडाहरुलाई १५ लाखका दरले बजेट पठाइएको जानकारी दिए।  

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले चालू आर्थिक वर्षमा अबण्डा बजेट नराखिएको बताउँदै यसअघि मुख्यमन्त्री कार्यालयमा थुपारिएको बजेटलाई सम्वन्धीत मन्त्रालयमार्फत जिल्लामा पठाइएको बताए। यसअघि मुख्यमन्त्री कार्यालयमार्फत कार्यान्वयन हुँदै आएका एकीकृत बस्ती विकास कार्यक्रमलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, कर्णाली उज्यालो कार्यक्रमलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय, महिला आयआर्जन कार्यक्रमलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रमलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत कार्यान्वयनमा लगिएको बताए।

मुख्यमन्त्री शाहीले संघीयता भनेकै प्रदेश संरचना भएपनि संघ र स्थानीय तहले प्रदेश संरचनालाई स्वीकार गर्न नसकेको बताए। ‘संघ र स्थानीय तह हिजो पनि थियो, संघीयता भनेकै प्रदेश संरचना हो,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेशलाई संघ र स्थानीय तहले स्वीकार नगर्ने हो भने यसलाई खारेज गर्दा पनि हुन्छ।’  

मुख्यमन्त्री शाहीले स्थानीय तह जनताको चुल्होको सरकार भएको बताए। उनले प्रदेशलाई देखिने र संघलाई सुनिने सरकारको रुपमा ब्याख्या गरे। ‘संघले अन्तर्राष्ट्रिय, सुरक्षा र बजेटका बारेमा हेर्नुपर्छ, प्रदेशले योजना बनाउने काम गर्नुपर्छ, स्थानीय तहले त्यसलाई कार्यान्वयन गर्नुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यसो गर्न सकेमा मात्रै संघीयताको सही कार्यान्वयन हुनुका साथै संघीयताप्रति जनताको विश्वास बढ्छ।’

मुख्यमन्त्री शाहीले समयको महत्वलाई बुझेर काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे। ‘समय जीवन हो, समय पैसा हो,’ मुख्यमन्त्री शाहीले भने, ‘समयको महत्वलाई सबैले बुझ्नु आवश्यक छ।’

प्रकाशित: २३ भाद्र २०७९ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App