coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले इलामका उम्मेदवार सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इलामस्थित नेकपा (एमाले)ले सबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गरेको छ। एमालेले प्रतिनिधिसभा सदस्य क्षेत्र १ बाट पार्टी जिल्ला अध्यक्ष महेश बस्नेत, नेता रमेश राई र पार्टी प्रदेश सदस्य काजीमान कागतेको नाम छानेको छ।

बस्नेत २०५४ देखि ०५९ र २०७४ देखि २०७९ सालसम्म २ कार्यकाल इलाम नगरपालिकाको मेयर भइसकेका व्यक्ति हुन्। उनी पार्टीभित्र प्रभावशाली र क्षमतावान् नेताका रूपमा मानिन्छन्। राई सैद्धान्तिक रूपमा पनि पार्टीका क्षमतावान् र लोकप्रिय नेता मानिन्छन् भने कागते यसअघि क्षेत्र १ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य थिए।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरको मेयरमा प्रतिस्पर्धा गरेका कागते पराजित भएका थिए। यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नाम नेकपा (एस)ले यसअघि नै सिफारिस गरिसकेको छ।

खनालसहित अरू नेताको समेत नाम उम्मेदवारमा सिफारिस भएपनि गठबन्धनकै तर्फबाट खनाल यो क्षेत्रको उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ। यद्यपि, नेपाली काँग्रेसले पनि जिल्ला सभापति डम्बर खड्का र नेता भेषराज आचार्यसहित भूपेन्द्र कट्टेल, टीकाराम लेप्चा र सुजता परियारको नाम यो क्षेत्रको उम्मेदवारका लागि सिफारिस गरेको छ।

२०७४ सालको निर्वाचनमा पनि यो क्षेत्रबाट खनाल नेकपा (माओवादी केन्द्र)सहितको साझा उम्मेदवारका रूपमा विजयी भएका थिए। उनी निकटतम् उम्मेदवारभन्दा १७ हजार २ सय ६७ मतान्तरले विजयी बनेका थिए। खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलको १९ हजार ६ सय ३८ मत आएको थियो।

क्षेत्र १ मा सूर्याेदय र माई नगरपालिकाका वडा १, २, ३, ४, ५, ९ र १० तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका पर्छन्। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एस)का रणबहादुर राई विजयी भएका छन्। माई नगरपालिकाको मेयर र माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने रोङ र सन्दकपुर गाउँपालिकाको अध्यक्ष काँग्रेसले जितेको छ।

एमालेबाट क्षेत्र १ (क) मा कृष्ण सुवेदी, खगेन्द्र घिमिरे, देवकुमार दाहाल, नरेश तामाङ, नोमनाथ खतिवडा, युवराज वाशिष्ठ र शोभा पराजुलीको नाम उम्मेदवारका लागि सिफारिस भएको छ। ०७४ सालको प्रदेशसभा निर्वाचनमा यो क्षेत्रमा एमाले उम्मेदवार खिनु लङ्वा लिम्बू विजयी बनेकी थिइन्। क्षेत्र १ (ख)मा ध्रुव श्रेष्ठ, दीपक थेबे, विष्णुमाया आचार्य (रिमाल), मेघनाथ गिरी, दीपेन्द्रकुमार राई, सुजन नेपाल र खड्ग आले उम्मेदवारमा सिफारिस भएका छन्।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा यो क्षेत्रमा एमाले उम्मेदवार काजीमान कागते विजयी भएका थिए। प्रतिनिधिसभा क्षेत्र २ मा एमालेले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको नाम यसअघि नै सर्वसम्मत् रूपमा छानिसकेको छ। २०७४ को निर्वाचनमा पनि नेम्बाङ नै यहाँबाट विजयी भएका थिए। नेम्बाङले ३६ हजार ५ सय १७ मत ल्याउँदा काँग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए।

यो निर्वाचन क्षेत्रमा जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका र देउमाई नगरपालिका तथा फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिका पर्छन्। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिकाको अध्यक्ष काँग्रेसले जितेको छ भने देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ।

क्षेत्र २ (क) मा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बरालको नाम सर्वसम्मत सिफारिस भइसकेको छ। यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर रानामगर विजयी बनेका थिए। क्षेत्र २ (ख) मा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामबहादुर रानामगर, अनुप अधिकारी र सन्तराम योङहाङको नाम सिफारिस भएको पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुुवेदीले जानकारी दिए।

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए। 

प्रकाशित: २० भाद्र २०७९ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App