पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको छ। साझेदारीको व्यापारमा एक करोड बढी हडप्ने उद्देश्यले भारतीय नागरिकलाई झुटा मुद्दामा फसाएको आरोपमा अनुसन्धानका लागि अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको हो।
पक्राउ पुर्जी जारी भएका गुप्ता फरार छन्। गुप्ता दश दिनदेखि गाँउपालिकाको कार्यालय नगएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। गाँउपालिका अध्यक्ष गुप्ताले साझेदारीमा गरेको कवाडी व्यापारको मुनाफाको एक करोड बढी हडप्न दुइ जना भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप लगेको छ। गुप्ताले भारतीय नागरिक ४० वर्षका रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागूऔषध मुद्दामा फसाएको खुलेको हो।
प्रहरीकै मिलेमतोमा योजनाबद्ध ढंगबाट आफूहरुलाई फसाइएको दावी पीडित पक्षको छ। लागूऔषधको मुद्दामा फसाइएका भनिएका भारतीय नागरिक गुप्ता र पासवानलाई अहिले पनि हिरासतमा राखिएको छ। अनुसन्धानका क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकमाथि झुठा मुद्दा लगाएको भेटिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ।
घटना के हो?
गत असारमा जिल्ला प्रहरी कार्यालय नवलपारासीबाट खटिएको प्रहरीको टोलीले रामग्राम नगरपालिका १७ पिपरहियाबाट भारतीय नागरिक ४० वर्षका रामा गुप्ता र जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले दुबै जना लागूऔषधसहित पक्राउ गरेको विवरण सार्वजनिक गरेको थियो। उनीहरुको साथबाट २७० सेट फेर्नागन,नुफिन र डाइजेपाम बरामद भएको प्रहरीको रेकर्डमा उल्लेख छ। तर आरोपित र तीनका आफन्तले भने उनीहलाई गाँउपालिका अध्यक्षले सम्पत्ती हडप्न झुटा मुद्दा लगाएर फसाएको भन्दै विरोध गरे। लागूऔषध मुद्दामा दुबै जनालाई प्रहरी हिरासतमा राखेपछि परिवार र आफन्तले परासीमा पत्रकार सम्मेलन गरी दुबै जनाको रिहाइ र गाँउपालिका अध्यक्षमाथि कारबाहीको माग गरे।
दवाव बढ्दै गएपछि प्रहरीले छानविन समिति बनायो। प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीबाट समेत अनुसन्धान अधिकृत खटाइएको नवलपरासीका प्रदेश सांसद बैजनाथ कलवारले बताए। छानविनका क्रममा नक्कली घटना विवरण तयार गरी दुवै जनालाई झुटा मुद्दा लगाएको भेटिएपछि अध्यक्ष बैजुविरुद्ध नै मुद्दा लगाइएको छ। प्रहरीले गाँउपालिका अध्यक्ष गुप्ता,उनका सहयोगी रघुनाथ धोबी र विवेक पाण्डेलाइ लागूऔषध मुद्दामा सजायको माग दावी गरी सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।
जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले प्रहरीले लागूऔषध मुद्दामा गुप्तालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने रायसहितको प्रतिवेदन बुझाएपछि गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी गरीएको जानकारी दिए। श्रोतका अनुसार पहिले प्रहरीले भारतीय नागरिकसँगबाट बरामद भएको भनेर दावी गरेको लागूऔषध अहिले गाँउपालिका अध्यक्ष बैजुको योजनामा धोवी र पाण्डेले ल्याएको दावी गरेको छ। त्यसैले उनीहरुलाई लागूऔषध मुद्दामा सजायको मागदावी गर्दै प्रतिवेदन तयार गरीएको छ। यो घटनामा प्रहरीको मिलेमतो रहेको भनेर सुरुदेखि पिडीत पक्ष र स्थानीयले दावी गरेपनि अहिले त्यसलाइ गुपचुप राखेर अध्यक्षका सहयोगीलाइ मात्रै सजाय हुने गरी मुद्दा अगाडी बढाउन खोजीएको आशंका पनि गरीएको छ।
गाँउपालिका अध्यक्ष र भारतीय नागरिकको सम्बन्ध के हो?
भारतको मोतिहारी घर भएका रामा र जितेन्द्र नवलपरासीको भुमहिमा कवाडी सामानको कारोबार गर्दै आएका थिए। गाँउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले पनि उनीहरुसँग झण्डै १२ वर्षदेखि कवाडका सामानको कारोबार गर्थे। नाफाको २० प्रतिशत रामालाई दिने सहमतिमा कारोबार गरेपनि अध्यक्ष गुप्ताले सो रकम दिन आलटाल गर्दै आएको दावी गरीएको छ। अध्यक्ष गुप्ताबाट १ करोड बढी रुपैँया पाउनु पर्ने दावी रामाको छ। सहमति अनुसारको रकम दिन ताकेता गर्न थालेपछि अध्यक्ष गुप्ताले रामा र जितेन्द्रलाई झुटा मुद्दा लगाएर जेल हालेको तीनका परिवार र आफन्तको दावी छ।
रामाका आफन्तका अनुसार घटनाको दिन अध्यक्ष बैजुले नै रामालाई रामग्रामको पिपरीहवामा बोलाएका थिए। रामा आफ्ना सहयोगी जितेन्द्रसहित मोटरसाइकलमा त्यहाँ पुगे। मोटरसाइकल बाहिर राखेर उनीहरु चिया पसलमा पसेपछि बैजुकै योजनामा उनीहरुको मोटरसाइकलमा लागूऔषध राखेर र प्रहरीलाई खबर गरी दुवै जनालाई पक्राउ गरिएको तीनका आफन्त र केही स्थानीय बताउँछन्। गाँउपालिकाका अध्यक्ष बैजु नेकपा माओवादीबाट निर्वाचित अध्यक्ष हुन्। नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समेत निर्दोष नागरिकलाई झुटो मुद्दा लगाएर फसाउन खोज्ने अध्यक्षलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।
प्रकाशित: २० भाद्र २०७९ ११:३३ सोमबार