coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अर्घाखाँचीः एमाले र कांग्रेसले आज उम्मेद्वार टुङ्गाउँदै

निर्वाचनको मिति नजिकिदैं गर्दा दलहरु उम्मेद्वार छनौटको कसरतमा जुटेका छन्। दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको बैठक आज बस्दैछ। दुवै दलले आफ्ना उम्मेद्वारहरुको टुङ्गो लगाउने तयारी गरिरहेका छन्।

नेकपा एमाले क्षेत्रिय कमिटिले प्रदेशसभा उम्मेद्वारहरु जिल्लामा सिफारिस गरिसकेको छ। प्रदेशसभा ‘क’ बाट नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका चेतनारायण आचार्य सर्वसम्मत सिफारिस भएका छन् भने प्रदेशसभा ‘ख’ बाट एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका रामजी प्रसाद घिमिरेलाई सर्वसम्मत सिफारिस गरिएको छ। आचार्य र घिमिरे यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सांसद थिए।

आज बस्ने जिल्ला कमिटिको बैठकले प्रदेशसभाका उम्मेद्वारलाई अन्तिमरुप दिने तथा प्रतिनिधीसभाको उम्मेद्वार छनौट गरेर केन्द्रीय कमिटिमा पठाउने तयारी गरेको एमाले कार्यालय सचिव लिला बिकले जानकारी दिए। प्रतिनिधीसभा सदस्यका लागी एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको एकल नाम सिफरिस गर्ने तयारी रहेको एमाले श्रोतले जनाएको छ।  

पूर्व माओवादी नेता टोपबहादुर रायमाझी तत्कालिन नेकपा विभाजित हुँदा एमाले रोजेका थिए। नेकपा एमालेको १०औं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित भएका थिए। अर्घाखाँचीमा प्रभावशाली मानिएका नेता रायमाझीकोविरुद्धमा अन्य नेताले इच्छा व्यक्त नगरेको बताईएको छ।

यस्तै नेपाली कांग्रेसले पनि आजै उम्मेद्वारको टुङ्गो लगाउने बताएको छ। जिल्ला कार्य समितिको बैठक बसेर आजै उम्मेद्वारको टुङ्गो लगाउने तथा उम्मेद्वारहरुको अन्तिम नामावली केन्द्रीय कार्यसमितिमा पठाउने तयारी गरिएको कांग्रेस प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए।  

कांग्रेस अर्घाखाँचीको बैठक तिन दिनदेखि जारी छ। बिपी स्मृती भवन सन्धिखर्कमा जारी बैठकमा आगामी निर्वाचनका विषयमा छलफल भएको छ। बैठकमा ६१ वडाका सभापतीहरु, नगरसभापतीहरु, पार्टीका पुर्व पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधीहरु, निर्वाचित जनप्रतिनिधी, पुर्व जनप्रतिनिधीहरु, प्रदेश पदाधिकारी, सदस्य तथा प्रदेश प्रतिनिधीहरु, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, केन्द्रीय नेताहरु तथा उम्मेद्वारका आकांक्षीहरुले आ–आफ्नो धारणा राखेका छन्। 

आज दिउँसो कार्यसमितिको बैठक बसेर क्षेत्रिय कार्यसमितिले सिफरिस गरेका नामहरुमा छलफल गरि आजै टुङ्गो लगाउने तथा प्रतिनिधीसभा सदस्यका लागी सर्वसम्मत बनाउन प्रयास गरिने बताइएको छ। 

नेपाली कांग्रेसभित्र भने आकांक्षीहरु धेरै छन्। प्रतिनिधीसभाका उपसभामुख पुष्पा भुसाल प्रबल दावेदारका रुपमा देखिएकी छिन्। उपसभामुख भुसालका अलावा पुर्वमन्त्री रेवती प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, महाधिवेशन प्रतिनिधी डा.रामबहादुर बिसी, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेल र महाधिवेशन प्रतिनिधी डा.मुक्ती श्रेष्ठ आकांक्षी देखिएका छन्।

प्रदेशसभामा पनि कांग्रेसका आकांक्षीहरु धेरै रहेका छन्। गठबन्धन हुने भएकाले आकांक्षीहरु बढी भएको कांग्रेस नेताहरुले बताएका छन्। प्रतिनिधीसभा सदस्य नेपाली कांग्रेसले पाउने ढुक्क भएपछी कांग्रेसले त्यही अनुसारको तयारी गरिरहेको छ। गठबन्धनमा निर्वाचन लड्ने भएपछी कांग्रेसले एउटा प्रदेशसभा भने गुमाउनु पर्नेछ। अन्य दलहरुलाई मिलाउन एउटा प्रदेशसभा छोड्नु पर्ने देखिन्छ।  

प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले दावी गरिरहेका छन्। यि दलहरुले पनि आ–आफ्नो पार्टीका तर्फबाट उम्मेद्वारहरु अघि सारेका छन्। समाजवादीले उम्मेद्वारहरुको टुङ्गो लगाईसकेको छ भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा पनि उम्मेद्वार छनौटका लागी आन्तरिक तयारीमा छन्।

प्रकाशित: २० भाद्र २०७९ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App