६ वैशाख २०८१ बिहीबार
राजनीति

माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब

फाइल तस्बिर

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको भए पनि नेकपा एसभित्रै एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएका कारण रोकिएको हो। निर्वाचन केन्द्रीत गरेर पार्टी एकता गर्ने निर्णयले पार्टीभित्र रहेका नेता कार्यकर्ता जोगाउन कठिन भएको भन्दै तल्लो तहका नेता कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाएपछि एसकाा शीर्ष नेताहरूले यसलाई तत्काले कार्यान्वयनमा नलैजाने भएका हुन्। ‘हामीले निर्वाचनपछि मात्रै एकता हुनसक्ने गरी एकता संयोजन समिति बनाएका हांै, तर त्यतिबेलासम्मको परिस्थिति के हुन्छ भन्न सकिन्न, निर्वाचनमा सिट बाँडफाँटले एकता प्रक्रिया निर्धारण गर्छ,’ एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने। उनका अनुसार तत्कालै एकता गरिहाल्ने भन्दा पनि अहिलेलाई दुवै तर्फबाट एकता संयोजन समिति बन्ने भन्ने हो।  

एसले मुख्य काम चुनाव हुने तर त्यसबीचमा पनि छलफल हुने भनेको छ। निर्वाचनअघि एकतामा हुने सम्भावना छैन, तपाईंले भनेजस्तो विरोध पनि होइन केही केही समस्याहरू छन् त्यसको पहिचान गरे निर्णयमा पुग्नुपर्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने। स्थानीय तहको निर्वाचनमा नेकपा एसले देशव्यापी रूपमा उम्मेदवार उठाउन नसकेको र माओवादी र कांग्रेस मिलेर एसलाई अल्मल्याएको विषयमा पार्टीभित्र व्यापक छलफल हुनुपर्ने नेता कार्यकर्ताको माग रहेको छ। एसले माओवादीसँग एकता गर्ने भनेपछि धेरैजसो नेता कार्यकर्ता निष्क्रिय बसेको, केही एमालेमै फर्केको र केहीले पार्टी बनाउने कि अन्य पार्टीको भर्‍याङ मात्रै हुने भनेर प्रश्न गरिरहेका छन्। ‘अहिले पार्टी बनाउने हो भने देशभरी उम्मेदवार उठाउनुपर्छ, यसले समानुपातिकमा आउने मत पनि बढ्छ, सीमित स्थानमा गठबन्धन गरेर देशभरी उम्मेदवार उठाएमा पार्टीको संगठन विस्तार हुन्छ होइन भने पार्टी कुनै पार्टीको भर्याङ मात्रै हुन्छ’, एस पार्टीका एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार शीर्ष नेताहरूको स्थानमा गठबन्धन हुने र अन्य स्थानमा आफ्ना उम्मेदवार उठाउन नपाउने हो भने त्यो मत गठबन्धनमै जान्छ भन्ने हुन्न।  

भदौ १ को सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई एकता संयोजन समितिमा राख्न सुझाव दिएको थियो। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ३१ साउनमा गर्दै अध्यक्ष नेपाललाई एकता संयोजन समितिको अध्यक्ष बनाउने बताएका थिए। गत वर्षको भदौ ९ गते एमालेबाट विभाजित भएर गठन भएको नेकपा एसले तत्कालै माओवादीसँग एकीकरण गर्ने कुरा हल्ला मात्रै भएको जनाएको थियो तर पार्टी स्थापना भएको एक वर्ष पनि पूरा नगर्दै एकीकरण गर्नेै निर्णय गरेको थियो।  

माओवादीहरूले आफ्नो स्वार्थ अनुकूल पार्टी एकता गर्ने स्वार्थ मिलेपछि पेल्न अवस्था रहेका कारण एसका नेता माओवादीसँग पार्टी एकता गर्न डराइरहेका छन्। ‘हामीलाई माओवादी केन्द्रले पनि धोका दिएको छ, तर पनि पार्टी एकताको विषय आयो यो गम्भीर कुरा हो, माओवादीका साथमा रहेका पूर्वनेताहरूको अवस्था हेर्दा त्यहा बस्न सक्ने स्थिति छैन, हाम्रो नेतृत्वले कुन आधारमा एकता गर्ने निर्णय गरेको हो, एकता गर्नुअघि विस्तृत बहस आवश्यक छ,’ एसका एक स्थायी कमिटी सदस्यले भने।  

सत्ता गठन्धनमा संसदीय सिट बाँडफाँटको क्रममा पनि एसलाई खुम्च्याउने रणनीतिमा माओवादी लागेको र उसले कांग्रेससँग सिट बार्गेनिङ गरेर एसलाई भाग लगाउन खोजेका कारण पनि नेतृत्वमाथि माओवादीसँग पार्टी एकता नगर्न दबाब बढिरहेको छ। खासगरी पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल हावी हुन थालेपछि माओवादीसँग भन्दा एमालेसँगै सहकार्य गर्न दबाब बढिरहेको छ। खनालले स्थानीय तहको निर्वाचनको बेला आफ्नो जिल्लमा एमालेसँगै सहकार्य गरेका थिए। सोही सहकार्यपछि एमालेले इलाममा खनाललाई नरमनीति लिएको स्रोतको दावी छ। खनाल निकट रहेका नेता कार्यकर्ताले माओवादीसँगको एकताभन्दा यही पार्टी बनाएर जानु पर्ने वा विचार र सिद्धान्त मिल्ने एमालेसँगै सहकार्य गर्नुपर्ने सुझाव दिएका छन्।  

उता माओवादी अध्यक्ष दाहालले भने दुवै पार्टी एकतापछि समाजवादी केन्द्र बनाएर जान सकिने अभिव्यक्ति दिइरहेका छन्। माओवादीले डा. बाबुराम भट्टराईलगायतका नेताहरूलाई पनि पार्टीमा ल्याउने कोसिस गरिरहेका छन्।

प्रकाशित: २० भाद्र २०७९ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App