७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सकारात्मक ऊर्जा दिने प्रयास’

बालेनको सय दिने समीक्षा

असारको पहिलो साता त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयको अवलोकनका क्रममा परम्परागत बाजा देखाउँदै मेयर बालेन्द्र साह। फाइल तस्बिर: उपेन्द्र/नागरिक

आइतबार सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्। कामबारेमा टिप्पणी गर्दै उनले आफैले मूल्यांकन गर्नेभन्दा पनि आम मानिसहरूले यो समयलाई कसरी हेरे त्यो अर्थपूर्ण हुने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत १ सय दिनको कार्यकाललाई ६ बुँदामा प्रस्तुत गर्दै मेयर साहले फुटपाथबाट मकैको ठेला हटाएकोदेखि लिएर फोहोर व्यवस्थापनमा सोचेजस्तो काम हुन नसकेको स्वीकारे। यमबुद्धको शालिक निर्माणको कुरादेखि व्यक्तिगत आचरणका कुरासमेत उनले उल्लेख गरेका छन्। अनाधिकृत संरचना हटाउने अभियानदेखि लिएर ई–स्पोर्टसका कुरा पनि उनले उल्लेख गरेका छन्।  

‘हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत भएर काम गर्‍याैं,’ साहले लेखेका छन्, ‘मानिसहरू सकरात्मक ऊर्जा र परिवर्तनको महसुस भएमा मात्र कामले नतिजा दिएको महसुस हुन्छ।’  

मनोसामाजिक परामर्शदाता नम्रता पाण्डे साहको भनाइसँग सहमत छिन्। सय दिनमा कामको सूचीभन्दा पनि यसले समाजमा कस्तो सन्देश दियो भन्ने कुरा महत्वपूर्ण हुने उनको बुझाइ छ।  

‘बालेनले भौतिक संरचनामा मात्र हैन, दशकौंदेखिको परम्परागत सोचमा पनि डोजर लगाइदिएका छन्,’ सामाजिक मनोपरापर्शदाता डा. नम्रता पाण्डे भन्छिन्, ‘यस हिसाबले बालेनका सय दिनले ‘एक सय एक’ सन्देश दिएका छन्।’  

आफूले गरेको कामको तारिफ नगरी गर्न नसकेका कामको स्वीकारोक्ति उनको सन्देशमा देखिएको पाण्डेले सुनाइन्। आफूले गरेको कामबाट मानिसमा सकारात्मक ऊर्जा परिवर्तनको महसुस भयो भने मात्रै कामले नतिजा दिएको महसुुस हुने बालेनको बुझाइ आफंैमा सकरात्मक रहेको उनी बताउँछिन्।  

‘इमान्दारी देखाउन सक्यो भने प्रतिकूल परिस्थितिमा पनि जनताको मन जित्ने काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ,’ उनले भनिन्, ‘सय दिनले दिएको सबैभन्दा महत्वपूर्ण सन्देश यही हो।’  

राजनीतिशास्त्री चन्द्रदेव भट्ट पनि बालेनको सय दिनले सकरात्मक सन्देश दिएको बताउँदै त र योसँग समग्र राजनीति भने जोड्न नमिल्ने तर्क गर्छन्। सुरुवाती समयमा केही अप्ठेरोबाट सहज बाटोमा आएका बालेनलाई आगामी दिन त्यति सहज नभएकोतर्फ संकेत गर्दै भट्टले होसियारीका साथ पाइला चाल्नुपर्ने उनले बताए।  

‘सधैं ‘सिनेमा’को जस्तो गरेर अगाडि बढ्न सकिन्न,’ उनले बालेनलाई सचेत गराउँदै भने, ‘पपुलिष्ट अजेन्डा सधंै ‘टिकाउ’ नहुँदा त्यसको ‘सिकार’ नागरिक हुन्छन्।’ सामाजिक सन्जालमा कतिपयले बालेनलाई हिन्दी सिनेमा नायकसँग तुलना गरेका थिए।  

बरु बालेनका कारण अन्य दलका नेतालाई सुध्रिन सन्देश दिएको बताउँदै भट्टले त्यो उनीहरूको लागि त्यति सहज नभएको बताए। ‘बालेन स्वतन्त्र भएकाले निर्धक्क काम गरेका छन्,’ भट्ट भन्छन्, ‘तर अन्य दलका नेताहरूलाई त्यो स्वतन्त्रा नहुन सक्छ।’

बालेनले सय दिनको कार्य विवरणमा फुटपाथबाट मकैको ठेला हटाएको सन्दर्भ उल्लेख गरेका छन्। गरिबको पक्षमा बोल्ने बालेनले अन्तत गरिबकै विपक्षमा लागेको भन्ने कतिपयको भनाइले उनको मन छोएको छ। ‘वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ,’ उनले लेखेका छन्, ‘ तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न। फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रुका लागि हो।’  

सहरी गरिबको पक्षमा अभियान चलाउँदै अएका ओम थपलिया बालेनको काम सकरात्मक भए पनि तरिका ठिक नभएको गुनासो गर्छन्। ‘उनको काम राम्रो भएरै होला देशभर लहर चलेको छ,’ उनले भने, ‘तर उनले पीडितलाई समय कम दिएर अन्याय गरेका छन्।’ फुटपाथमा व्यवसाय गर्न नपाइने नियम सही भए पनि वार्षौंदेखि गर्दै आएका कारण त्यहाँबाट निकाल्न पनि केही समय दिनुपथ्र्यो भन्ने उनको तर्क छ। ‘फुटपाथ व्यवसायसँग साझ बिहानको खाना र बच्चाको शिक्षा दिक्षा जोडिएको हुन्छ,’ उनले भने, ‘यस्ता कुरामा अलिकति गम्भीर भइदिएको भए झनै राम्रो हुन्थ्यो।’  

त्यस्तै बालेनले फोहोर व्यवस्थापनमा भएको ढिलाइलाई स्विकार्दै दिगो समाधानका योजना बनाउन भने सफल भएको सुनाए। ‘झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं,’ उनले भनेका छन्, ‘यसबाट वास्तविक समस्याको पहिचान भएर दिगो समाधानका योजनाहरू बनाउन सक्ने भएका छौं।’  

फोहोर व्यवस्थापनमा केही ढिलाइ गरे पनि अनाधिकृत संरचना हटाउनेकामा तदारुकता देखाएका कारण उनको तारिफ बढेको हो। ‘हो उनी फोहोरमा झण्डै चिप्लिएका थिए,’ सामाजिक सन्जालमा होविन्द्र थापा लेख्छन्, ‘तर पार्किङमा गएर अडिए।’ अनधिकृत संरचना भत्काएर पार्किङको व्यवस्थापनमा सहजता ल्याएका बालेन अहिले दिन दिनै वाहवाही बटुल्न थालेको थापाले सुुुनाए।  

अनाधिकृत संरचना हटाउँदे गरेका बालेनलाई पहिलोपटक नर्भिकमा रोकिएको कुराले भने निकै पिरोलेको छ। विभिन्न समयमा ‘नर्भिक’ चाहिँ नसक्ने अरूलाई उठाउने भन्ने प्रश्नको उनले सामाना गर्नु परेको छ। त्यसैले बालेनले नर्भिकलगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा समेत बोलेका छन्। ‘जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रूपमा प्रयोग हुनुपर्छ,’ उनले भनेका छन्, ‘हामीले चाहेको यति मात्रै हो। कुनै पनि सर्तमा यो नियम लागु गर्न हामी पछि हट्ने छैनौं।’

अदालतको मानहानिमा तानिएका बालेनले यस विषयमा पनि घुमाउरो पारामा बोलेका छन्। कतिपय सन्दर्भमा आफूले सम्मानित अदालतका सन्दर्भमा बोलेको र सम्बन्धित व्यक्तिसामु चर्को स्वरमा आक्रोश पोखेको कुरा उल्लेख गर्दे आम मानिसहरूको आवाज सम्बन्धित ठाउँसम्म पुर्‍याउने सेतुका रूपमा मात्रै आफूले ती काम गरेको बताए।

सकरात्मक सुरुवात  

चुनाव जितेलगत्तै राजधानीको फोहोर उठाउने कसम खाएका साहले ढिलै पनि थोरै सफलता हासिल गरेका छन्। लामोसमयसम्म राजधानीमा छरिएका फोहोर एक सय दिनमा केही सफा भएको छ। त्यस्तै बालेनले नीति तथा कार्यक्रममा केही नयाँ तथा आकर्षक कार्यक्रम ल्याएर आशाका सुरुवात गरेका थिए।  

नेवार समुदायमा प्रचलित अइला‐रक्सी)लाई ब्रान्डिङ गर्नेदेखि बसस्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने कामको लागि बजेट छुट्ट्याए। त्यस्तै पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनदेखि महानगरपालिकाका सबै कार्यालयमा सिसिटिभी राख्ने कामले उनको लोकप्रियता बढायो।  

अनाधिकृत संरचना हटाउने उनको अभियानको लहर त राजधानीबाहिर पनि फैलिएको छ। झण्डै दुई साताको अवधिमा महानगरका व्यापारिक भवन, सरकारी भवन तथा अन्य ठाउँमा पार्किङमा रहेका अवैध संरचना हटेको छ। न्युरोडलगायतका सहरमा रहेका दोहोरो पार्किङ हटेको छ। सहरमा सहजता देखिन थालेको छ।  

त्यसैले कतिपयले बालेनलाई होसियारीका साथ अगाडि बढ्न सुझाएका छन्। आफैं अगाडि बढेर मात्र काम नहुने बन्दै सिस्टमको विकास गर्न कतिपय सुझाउँछन्। ‘एक सय दिन सुरुवात हो, कमजोरीलाई शक्तिमा बदल्ने टिम छ,’ सामाजिक सन्जालमा उनका समर्थक लेख्छन्, ‘पाँच वर्षमा एउटा सिस्टम बनाउनु छ, जुन बन्न जरुरी छ।’

हेर्दा कुदेका जस्ता देखिने बालेनले बोल्दा भने दिगो समाधानको कुरा गर्ने गरेका छन्। ‘अझै केही समय गाली सहन तयार छु,’ सामाजिक सन्जालमा साह लेख्छन्, ‘तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिने छैन।’  

प्रकाशित: २० भाद्र २०७९ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App