७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुपाल्चोक एमालेले छान्यो उम्मेदवार,पार्टीभित्रै ‘हेबीवेट’ प्रतिस्पर्धा

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले सिन्धुपाल्चोकले सम्भावित उम्मेदवारको नाम सिफारिस थालेको छ। पार्टीका तल्ला समितिले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला पार्टीलाई पठाएको एमालेले जनाएको छ।  

‘पार्टी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि क्षेत्रीय र प्रदेश सभाको लागि प्रदेश समन्वय समितिलाई उम्मेदवार सिफारिस गर्ने अधिकार दिएको छ,’ एमाले जिल्ला अध्यक्ष कमल नेपालले भने, ‘दुवै समितिबाट उम्मेदवारहरुको नाम सिफारिस भएर आएको छ।’ समानुपातिक उम्मेदवार सिफारिस गर्ने अधिकार भने केन्द्रले जिल्ला समितिलाई दिएको उनले बताए।

सिफारिस नाम हेर्दा पार्टीभित्रै ‘हेबीवेट’ नेताबीच उम्मेदवार बन्न चर्को प्रतिस्पर्धा छ। अध्यक्ष नेपालका अनुसार क्षेत्रीय समितिबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट अरुण नेपाल, सरेश नेपाल, बादल लामा र भरत पराजुलीको नाम सिफारिस भएर जिल्लामा आएको छ। उम्मेदवार सिफारिस नेतामध्ये अरुण पोलिट्ब्यूरो र सरेश केन्द्रीय सदस्य हुन्। प्रदेश सभा सांसद उनीहरु दुवै बागमती प्रदेश सरकारका पूर्व वन, वातावरण तथा पर्यटनमन्त्री हुन्। २०७४ को प्रदेश सभा निर्वाचनमा अरुण (क) र सरेश (ख) बाट निर्वाचित भएका थिए।  

पार्टीले यसपटक उनीहरुलाई संघीय उम्मेदवारमा सिफारिस गरेको हो। उम्मेदवार सिफारिस लामा पुराना नेता हुन् भने पराजुली राजनीतिसँगै जलविद्युत विकासको क्षेत्रमा संलग्न छन्। यसै क्षेत्रको प्रदेश (क) बाट ज्ञानेन्द्र राउत, शम्भु सापकोटा, प्रदीप नेपाल, आङदोर्जे शेर्पा लगायत १२ नेताको नाम सिफारिस गरिएको छ। प्रदेश (ख) का लागि भने होमनारायण श्रेष्ठ, प्रेम लामा, विदुर भारती लगायत सात नेता सिफारिसमा परेका छन्।  

त्यस्तै क्षेत्रीय समितिले प्रतिनिधि सभा क्षेत्र नं. २ को लागि शेरबहादुर तामाङ, हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरेको छ। पूर्वमन्त्री तामाङ एमाले स्थायी समिति सदस्य हुन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धन गरेर उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए। उनले कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपा नेता पशुपति शम्सेरलाई पराजित गरेका थिए। यसअघि उनी २०७० को चुनावमा तत्कालीन क्षेत्र नं. ३ बाट राप्रपाका राणालाई नै हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए।  

उम्मेदवार सिफारिस भएका पण्डित पूर्वजिल्ला अध्यक्ष हुन्। पण्डित र पुराना नेता पाण्डे दुवै अहिले एमाले बागमती प्रदेश समितिमा क्रियाशील छन्। त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २, (क) बाट रामचन्द्र बस्नेत, दालबहादुर सापकोटा र विष्णुमणि आचर्यसहित नौ तथा (ख) बाट मित्रलाल चौलागाईँ, कृष्णगोपाल तामाङ, शिशिर वाइबा लगायत ६ नेता सिफारिसमा परेका छन्।  

तल्ला समितिबाट सिफारिस भएर आएका नाम अनुमोदन गरेर पठाउन सोमबार जिल्ला समितिको बैठक बोलाइएको अध्यक्ष नेपालले जानकारी दिए। ‘तल्ला समितिबाट सिफारिस भएर आएका नाममा थपघट गर्ने अधिकार जिल्लालाई छैन। त्यही भएर जस्ताको त्यस्तै अनुमोदन गरेर पठाउँदै छौँ,’ उनले भने, ‘बरु उम्मेदवारका विषयमा राय लेखेर पठाउने अधिकार भने जिल्लालाई छ। हामी त्यो अधिकार प्रयोग गर्छौँ।’

अध्यक्ष नेपालका अनुसार सोमबारको जिल्ला समितिको बैठकले समानुपातिक उम्मेदवारको नामसमेत सिफारिस गर्नेछ। बैठक लगत्तै दुवै निर्वाचन प्रणालीका उम्मेदवारको सूची पार्टी बागमती प्रदेश समितिमा सिफारिस पठाउने एमालेको तयारी छ। जिल्लाबाट सिफारिस भएर अघि बढेको नाममा थपघट गर्ने अधिकार प्रदेश समितिलाई समेत नरहेको उनले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७९ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App