८ वैशाख २०८१ शनिबार
राजनीति

सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस

नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस भएका छन्।  

पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले नेम्बाङको एकल नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने छ। अरूको नाम सिफारिस नभएकाले क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको छ।  

नेम्बाङ २०५६ सालयताका सबै संसदीय/संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन्। उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका केशव थापालाई पराजित गरेका थिए। नेम्बाङले ३६ हजार ५ सय १७ मत ल्याएका थिए भने थापाको २६ हजार ८ सय ६५ मत आएको थियो।  

यो निर्वाचन क्षेत्रमा जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका र देउमाई नगरपालिका, माई नगरपालिकाको वडा ६, ७ र ८ तथा फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिका पर्छन्। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिकाको अध्यक्ष काङ्ग्रेसले जितेको छ भने देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ।  

एमालेले क्षेत्र २ (क) बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको छ। जिल्ला समन्वय समितिका निवर्तमान प्रमुखसमेत रहेका बराल जिल्लाका सालिन नेता मानिन्छन्। यो क्षेत्रबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै रामबहादुर रानामगर विजयी बनेका थिए। 

प्रकाशित: १८ भाद्र २०७९ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App