coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम कांग्रेसबाट खड्का र आचार्य सिफारिस

आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गरिने उम्मेदवारको नाम टुंग्याएको छ।  

शनिबार बसेको जिल्ला समिति बैठकले प्रतिनिधिसभातर्फ क्षेत्र १ मा जिल्ला सभापति डम्बरबहादुर खड्का र क्षेत्र २ मा नेता भेषराज आचार्यको नाम प्राथमिकतामा सिफारिस गरेको छ।

क्षेत्र १ मा खड्का र आचार्यपछि भूपेन्द्र कट्टेल, टीकाराम लेप्चा र सुजता परियारको नाम सिफारिस गरिँदैछ। क्षेत्र २ मा पनि आचार्य र खड्कापछि केशव थापा, बेनुपराज प्रसाईं, नगेन्द्र कुमाल, सुजता परियार र रमेश लिङ्देनको नाम सिफारिस हुने पार्टी सचिव निरोज खड्गीले जानकारी दिए।

प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा (क) मा खगेश्वरी पौडेल बन्दना, देवेन्द्र सुवेदी, उद्धव पौडेल, देवेन्द्रकुमार राई, हुकुमलाल थेबे, हरि लुइँटेल, सञ्जीव ढकाल, प्रकाश भट्टराई र मिलन क्षेत्रीको नाम छानिएको छ। क्षेत्र १ (ख) मा समशेर राई, विष्णुु (हेमकुमार) कार्की, भीष्म प्रधान, निस्कल राई, जीवन नेपाल, सन्तोष गुरुङ र ध्रुव राई सिफारिसमा परेका छन्।  

प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (क) मा निरोज खड्गी, राजेन्द्र शर्मा, गोविन्द गिरी, पूर्ण गौतम, राजेन्द्र बाँस्तोला र प्रदीप अर्यालको नाम छ भने क्षेत्र २ को (ख) मा लक्ष्मण पाण्डे, यामकुमार बुुढाथोकी, कमल कार्की, डम्बरबहादुर लिम्बू र रामकुमार श्रेष्ठको नाम सिफारिस हुने सचिव खड्गीले बताए। जिल्ला समिति बैठकले गरेको निर्णयअनुसारको नाम आजै प्रदेश समितिमा सिफारिस गरिने उनले जनाए।  

२०७४ सालको प्रतिनिधिसमा सदस्य निर्वाचनमा क्षेत्र १ बाट तत्कालीन नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहितको साझा उम्मेदवारका रूपमा विजयी भएका थिए। उनी निकटतम् उम्मेदवारभन्दा १७ हजार २ सय ६७ मतान्तरले विजयी बनेका थिए। खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलको १९ हजार ६ सय ३८ मत आएको थियो। 

क्षेत्र १ मा सूर्याेदय र माई नगरपालिकाका वडा १, २, ३, ४, ५, ९ र १० तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका पर्छन्। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एस)का रणबहादुर राई विजयी भएका छन्। माई नगरपालिकाको मेयर र माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने रोङ र सन्दकपुर गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम क्षेत्र २ बाट एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए। नेम्बाङले ३६ हजार ५ सय १७ मत ल्याउँदा कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए। यो निर्वाचन क्षेत्रमा जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका र देउमाई नगरपालिका तथा फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिका पर्छन्। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिकाको अध्यक्ष काङ्ग्रेसले जितेको छ भने देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ।  

प्रदेशसभा निर्वाचन २०७४ मा जिल्लाका चारै प्रदेश निर्वाचन क्षेत्रमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका थिए। क्षेत्र १ (क)मा तत्कालीन एमालेकी खिनु लङ्वा लिम्बू, क्षेत्र १ (ख)मा एमालेकै काजीमान कागते, क्षेत्र २ (क)मा एमालेकै रामबहादुर रानामगर र क्षेत्र २ (ख)मा माओवादीका धीरेन शर्मा रमण विजयी बनेका थिए।  

प्रकाशित: १८ भाद्र २०७९ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App