६ वैशाख २०८१ बिहीबार
राजनीति

पाँच दलीय गठबन्धनले देशलाई कङ्गाल बनाई सके: एमाले अध्यक्ष ओली

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले एक वर्षभित्रमै देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन्। उनले पाँच दलीय गठबन्धनले बेहाल बनाएको मुलुकलाई अब मंसिर ४ गते हुने निर्वाचनबाट सुधार आउने जिकिर गरे ।  

‘मंसिर ४ गते हुने निर्वाचनले सम्पूर्ण नेपाल र नेपालीलाई विजयी गराउनेछ। लोकतन्त्रलाई बलियो बनाउनुका साथै भौगोलिक अखण्डताले हार्ने छैन’, अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउँछ।’  

उनले चुनाबका लागि एमाले कार्यकर्ता गड्यौलाजस्तो कसैले छुनेवित्तिकै पछाडि सर्ने नभएर मुखमा दाँत भएजस्तो हुनुपर्ने बताए। ‘कसैले छोएमा डस्नेजस्तो पनि हुनुपर्छ,’ ओलीले भने, ‘जनताको सार्वभौम अधिकार कुनै पैसाको खेलोमेलोमार्फत् कोही प्रलोभनमा पर्नु हुँदैन्।’  

एमाले अध्यक्ष ओलीले सुनसरी क्षेत्र नं. ३ मा दुई पटकसम्म सरकारी निकाय लागेर नेता भगवती चौधरीलाई निर्वाचनमा हराएको पनि आरोप लगाए। ‘यस क्षेत्रबाट दुई पटकसम्म भगवती चौधरीलाई हार घोषणा गरियो,’ उनले भने, ‘बाक्स साटेर, बुथ कब्जा गरेर हार घोषण गराइयो, यसपटक त्यस्तो नहोस्।’  

२०७० सालको संविधानसभाको निर्वाचन र २०७४ सालको प्रतिनिधीसभाको निर्वाचनमा एमाले नेतृ भगवती चौधरी झिनो मतले पराजित भएकी थिइन्। दुवै निर्वाचनमा नेता विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन्।

प्रकाशित: १८ भाद्र २०७९ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App