८ वैशाख २०८१ शनिबार
राजनीति

बुटवल उपमहानगरपालिकाले सार्वजनिक गर्‍यो सय दिनको उपलब्धी

उपबिजेताहरुको लागि सम्पर्क कक्ष स्थापना

बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि र उपविजेताहरुका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ।

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिनको अवसर पारेर नगर प्रमुख खेलराज पाण्डेयले आज (शुक्रबार) सम्पर्क कक्षको उद्घाटन गरे। बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापित गर्नका लागि साझा कक्ष स्थापना गरिएको नगरप्रमुख पाण्डेले बताए।नगरलाइ सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुखमा उपबिजेता भएकाहरुको सम्पर्क कक्ष स्थापना गरिएको उनले बताए। सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरु सोही कक्षबाट गर्नकालागि पूर्व जनप्रतिनिधि, उपबिजेताहरु र राजनीतिक दलहरुलाई आग्रह गरे।

उपमहानगरपालिकाको १ सय दिनका उपलब्धी

शुक्रबार उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ। जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगरप्रमुख खेलराज उपलब्धिहरु सार्वजनिक गरेका हुन्।

उपलब्धिहरु सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताए। ‘सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गबाटै बुटवलको सम्मुनत विकास र सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौं’–उनले भने‘ असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित  हुने उनले बताए। सबै वडाहरुको सन्तुलित विकास गर्ने बताए।

कार्यक्रममा प्रमुख पाण्डेयले १ सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए।

बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको छ।

डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरुका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको नगरप्रमुख पाण्डेले बताए। चालू आर्थिक वर्षका लागि सम्पत्ति कर र घरबहाल करमा १० प्रतिशत छुट,इरिक्सा कर, हाटबजार बैठकी करमा १० देखि १८ प्रतिशतसम्म,  महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत कर छुट गरिएको छ। राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।  

बुटवल–बेलहिया सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडक अलपत्र परेपछि निर्माण कार्यको अनुगमन र सहजीकरण गर्न बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, उद्योग वाणिज्य संघका प्रमुखहरू, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष, निर्माण कम्पनीका सञ्चालक र सडक आयोजनाका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरी सडक निर्माणको कामलाई तीब्रता दिइएको छ।

लामो समयसम्म विवादमा रहेको मोतिपुर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न सरोकारवाला समावेश भएको १३ सदस्यीय कार्यदल गठन भई आवश्यक कार्यको थालनी गरीएको जानकारी नगरप्रमुख पाण्डेले बताए।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजनाहरु कार्यान्वयनमा जाने बताइन्। प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताए। पूर्व उपप्रमुख रामेश्वर श्रेष्ठ, शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल, नेपाली कांग्रेसका ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका ऋषिराम बस्याल, माओवादी केन्द्रका महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज शर्मा पौडेल, नेकपाका विरेन्द्र बिक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, बुटवल अटो इन्जिनियरिङ एशोसिएशनका तुल्सीराम न्यौपानेलगायतले बोल्दै नगरको विकासकालागि राजनीति भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिए।

प्रकाशित: १७ भाद्र २०७९ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App