coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेसमा सोहोर्ने बानी छ, उभ्रेको, फालेको चिज दिन खोजे स्वीकार्य हुँदैनः नेपाल

पोखरामा शुक्रबार बोल्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः उमेश पुन/नागरिक

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसमा सबै सोहोर्ने बानी भएको आरोप लगाएका छन्। नेपाल आदिवासी जनजाति महासंघ समाजवादी कास्की जिल्ला स्तरीय भेलाको शुक्रबार उद्घाटन गर्दै उनले काँग्रेसमा भए जति सबै सोहोर्ने प्रवृत्ति रहेको आरोप लगाए।

कांग्रेसले गठबन्धन भन्ने तर भए जति र पाए जति सबै लिन खोजेको उनको आरोप थियो। तर त्यो प्रवृत्ति मूल रुपमा देखिए पनि भित्री रुपमा केहीको भने मिलेर जाने र बाँडेर लिने प्रवृत्तिसमेत रहेकाले आफूहरु आशावादी भएको उनले बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले कांग्रेसले जम्मै सोहोर्ने प्रवृत्ति नत्यागे गठबन्धन नहुने बताए। उनले सम्मानका साथ न्यायोचित ढंगले सिट बाँडफाँट भयो भने मात्र गठबन्धन हुने स्पष्ट पार्दै अगाडि भने, ‘सम्मानका साथ सहमति भयो भने स्वीकार्य हुन्छ। तर सबै सोहोरौं र उभ्रेको, फालिएको चिज कसैले दिन खोज्छ भने हामीलाई त्यो स्वीकार्य हुँदैन।’

अध्यक्ष नेपालले गठबन्धनको आश गरेर नबस्न कार्यकर्तालाई निर्देशन दिए। गठबन्धनका लागि अन्तिमसम्म पनि प्रयास गर्ने तर त्यसैका लागि भनेर स्थानीय तहमा जस्तो कुरेर नबस्ने उनले चेतावनी दिए। ‘हामीले अघिल्लो चुनावमा गठबन्धन भनेर बस्दा धेरै हण्डर र ठक्कर खाएका छौँ। यसपटक त्यस्तो हुन दिने छैनौँ,’ उनले भने।

अध्यक्ष नेपालले कार्यकर्तालाई नेताको घरदैलो नभइ कार्यकर्ताको घरदैलोमा पुग्न आग्रह गरे। पार्टी कार्यालय र नेताको घरदैलोमा पुग्दैमा टिकट नपाइने र पाए पनि नजित्ने भन्दै उनले भने, ‘नेताको घरदैलोमा पुग्ने, पार्टी कार्यालयमा पलेटी कसेर बस्ने, काठमाडौँ धाउने, पोखरा धाउने काम बन्द गर्नुस्। बरु त्यसको सट्टा जनताको घरदैलोमा पुग्नुस्। गाउँगाउँ र बस्तीबस्तीमा पुग्नुस।’

प्रकाशित: १७ भाद्र २०७९ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App