८ वैशाख २०८१ शनिबार
राजनीति

‘गठबन्धन अनुपयुक्त’

सत्तारूढ दल गठबन्धन कायमै राखेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमतिसहित सिट बाँँडफाँटमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सबै दल एक्लाएक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ।

कोइरालाले कांग्रेसभित्र संस्थापनइतर समूहको नेतृत्व गर्छन्। कोइराला पक्ष गठबन्धनको विपक्षमा छ। निर्वाचनमा कुनै एउटा दल र व्यक्ति विशेषलाई एक्ल्याउने र प्र्रतिशोध साँध्ने गठबन्धन अस्वाभाविक भएको निष्कर्ष दुवै नेताको छ।  

प्रजातान्त्रिक मूल्यमान्यताअनुसार नै सबै दल एक्लाएक्लै निर्वाचनमा गए स्वस्थ प्रतिस्पर्धा हुने विषयमा दुई नेता सहमत भएका छन्। निर्वाचनमा गठबन्धन गरी कुनै दल र व्यक्ति विशेषविरुद्ध चुकुल ठोक्ने प्रवृत्ति अनुपयुक्त भएको निष्कर्ष दुवै नेताको छ। ‘उहाँहरूबीच निर्वाचन र समसामयिक विषयमा कुराकानी भएको हो, वर्तमान गठबन्धन अनुपयुक्त छ भन्ने विषयमा छलफल भएको हो’, ओलीनिकट स्रोतले भन्यो।

स्रोतका अनुसार कोइरालाले सत्ता गठबन्धनमा रहेका दलहरूले आफ्नो हैसियतभन्दा बढी सिट दाबी गरेको र त्यसले लोकतान्त्रिक पद्धति र प्रतिस्पर्धाको मान्यतालाई पनि चुनौती दिएको बताएका थिए।  

ओली र कोइरालाबीचको भेटघाटलाई अर्थपूर्ण मानिएको छ। कांग्रेसभित्र कोइराला पक्षले गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ पार्टीले सय सिट पाउनुपर्ने अडान राख्दै आएको छ। गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा निरन्तर छलफल भइरहे पनि कुरा मिलेको छैन। सत्ता गठबन्धनभित्र सिटमा कुराकानी नमिलिरहेको अवस्थामा ओली र कोइरालाबीच भेट भएको हो।

भेटका विषयवस्तुबारे दुवै नेताले औपचारिक रूपमा केही बताएका छैनन्। कांग्रेसभित्र पनि टिकट वितरणमा कोइराला पक्षलाई एक्ल्याउने सम्भावना बढिरहेका बेला ओली र कोइरालाबीच सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने र जनताको अभिमतलाई स्वीकार गर्नुपर्ने विषयमा कुराकानी भएको स्रोतको दाबी छ। ‘उहाँहरूबीच भेटघाट र कुराकानी भएको हो तर विषयवस्तुबारे थाहा भएन’, ओलीका प्रेस संयोजक रामशरण बजागाईंले भने।  

सत्ता गठबन्धन दलभित्र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले ८० सिट लिनुपर्ने र बाँकी ८५ सिट अन्य दलले बाँड्नुपर्ने अडान राख्दै आएका छन्। तर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जाँदा पनि पनि बहुमत आउन सक्ने भएकाले गठबन्धनमा लचकता अपनाउनुपर्ने र अरू कसैलाई कांग्रेसको भोट खन्याएर जिताइदिनुपर्ने आवश्यकता नभएको बताउँदै आएको छ।

सत्ता गठबन्धनभित्रको माओवादीले चुनावपछि बन्ने सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेको छ। त्यसपछि पालैपाले कांग्रेस र नेकपा एसले सकारको नेतृत्व गर्ने विषय पनि गठबन्धन बैठकमा प्रवेश गराइएको छ।

गठबन्धन दलमा नेकपा एसका नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने र पाँच वर्षमा तीनजना प्रधानमन्त्री बन्नुपर्ने विषयमा सहमति हुनुपर्ने प्रस्तावले पनि सिट बाँडफाँटमा सकस परेको छ ।

ओलीसँग केही दिनअघि कांग्रेसभित्र कोइराला पक्षका मानिने नेता मीनेन्द्र रिजालले पनि भेट गरेका थिए। त्यसलगत्तै ओलीसहितका एमाले नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। निर्वाचनमा गठबन्धन गर्नु अनुपयुक्त भन्दै आएको एमाले स्वयं पनि साना दलसँग तालमेलको प्रयासमा छ ।

प्रकाशित: १७ भाद्र २०७९ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App