coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौंबाट एमालेका उम्मेदवार सिफारिस

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यान काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा तानिएको छ। सत्ता गठबन्धन दलहरूले एमालेविरुद्ध मोर्चाबन्दी गरेपछि १० वटै निर्वाचन क्षेत्रमा उसको ध्यान केन्द्रित भएको हो। जिल्ला कमिटी काठमाडौंले क्षेत्रीय कमिटीमार्फत सबैभन्दा पहिला उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।  

जिल्ला कमिटीले १० वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम सिफारिस गर्न क्षेत्रीय कमिटीहरूलाई निर्देशन दिएको थियो। निर्देशनअनुसार बुधबार नाम सिफारिस भएको हो। ‘१० वटै क्षेत्रबाट सम्भावित उम्मेदवारको नाम सिफारिस भएको छ, दोहोरिएका नामबारे जिल्ला कमिटीमा छलफल हुनेछ,’ जिल्ला कमिटीका एक सदस्यले भने। काठमाडौंबाट रघुजी पन्त पनि सिफारिसमा परेका छन्।  

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट दुईपटक जितेका रामवीर मानन्धर यसपटक सिफारिसमा परेनन्। पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस भएका छन्। निर्वाचन क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ बाट कृष्ण राई र ८ बाट राजेश शाक्यको एकल नाम सिफारिस भएको छ। काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य दुई क्षेत्रबाट सिफारिसमा परेका छन्।  

निर्वाचन क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको नाम सिफारिस भएको छ। ४ बाट डा. राजन भट्टराई र निर्मल कुइँकेलको नाम सिफारिस भएको छ। त्यस्तै ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाँल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ।

७ बाट इन्दिरा पन्त, बिपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस सूचीमा छ। क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर र शम्भुराम महर्जन सिफारिस भएका छन्। क्षेत्रीय कमिटीबाट सिफारिस नामलाई जिल्ला कमिटीले अनुमोदन गरी प्रदेश र केन्द्रमा सिफारिस गर्नुपर्नेछ ।

६ लाख ३७ हजार ७ सय ७५ मतदाता रहेको काठमाडौंमा स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने एमाले र कांग्रेसमा धेरै अन्तर देखिँदैन। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंका विभिन्न पालिकामा वडाध्यक्षले प्राप्त गरेको मत जोड्दा कांग्रेसको १ लाख ५७ हजार ३४२, एमालेका पक्षमा १ लाख ५३ हजार ९१२ र राप्रपाको २६ हजार ९ सय १५ छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा काठमाडौंमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) र माओवादी केन्द्र राप्रपाभन्दा कमजोर अवस्थामा देखिएका छन्। नेकपा एसको २१ हजार ६२४ र माओवादी केन्द्रको १६ हजार मत छ।  

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा महानगरपालिका वडा ३१, १० र ११ पर्छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमानसिंह विजयी भएका थिए। काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालमा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए। अहिले पनि यस क्षेत्रमा एमाले बलियो मानिन्छ। एमालेबाट अलग भएर नेकपा एस गठन गरेका नेपाल रौतहटबाट चुनाव लड्ने तयारीमा छन्।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका ९ र ३२ वडा, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका पर्छन्। शंखरापुरको मेयर राप्रपाले जितेको छ। कागेश्वरी मनोहरामा मेयर कांग्रेसले जितेको भए पनि कार्यपालिकामा एमालेको बहुमत छ। महानगरपालिकाको ३२ नम्बर वडामा एमालेले जितेको छ।  

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७४ सालको निर्वाचनमा एमालेका कृष्ण राई १९ हजार १७९ मत ल्याएर विजयी भएका थिए। क्षेत्र नम्बर ४ भने अघिल्लो पटक एमालेले गुमायो। उक्त क्षेत्रबाट एमालेका उम्मेदवार बनेका राजन भट्टराई कांग्रेसका गगन थापासँग पराजित भएका थिए। भट्टराईले १८ हजार १४० मत ल्याउँदा थापा २१ हजार ५५८ मतसहित विजयी भएका थिए। स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा एमाले यो क्षेत्रमा पहिलो शक्ति हो।  

स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा निर्वाचन क्षेत्र नम्बर ५ मा पनि एमाले पहिलो शक्ति हो। २०७४ सालको संसदीय निर्वाचनमा यही क्षेत्रबाट एमालेका पोखरेल विजयी भएका थिए। मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पनि यो क्षेत्रबाट उम्मेदवारका लागि पोखरेलको एकल नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए। यो क्षेत्रमा काठमाडौं महानगरपालिका–२, ३, ४ र ५ वडासँगै टोखा र बुढानीलकण्ठ नगरपालिका पर्छन् ।

निर्वाचन क्षेत्र नम्बर ६ बाट अघिल्लो निर्वाचनमा कांग्रेसका भीमसेनदास प्रधान १६ हजार ७८५ मतसहित विजयी भएका थिए। एमालेको समर्थनमा यो क्षेत्रबाट उम्मेदवार बनेका माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए। यो क्षेत्रमा महानगरपालिकाका २६,२७ र २८ वडा, ताराकेश्वर र टोखा गरपालिकाका केही वडा पर्दछन्।  

क्षेत्र नम्बर ७ बाट दुईपटक संसदीय चुनाव जितेका एमालेका रामवीर मानन्धर भने यसपटक उम्मेदवारका लागि सिफारिस हुन सकेनन्। स्थानीय तह निर्वाचनमा पार्टीविरोधी गतिविधि गरेको आरोप लागेका उनको नाम संसदीय निर्वाचनमा उम्मेदवारका लागि सिफारिस नगरिएको हो। यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा मानन्धर १८ हजार १०२ मतसहित विजयी भएका थिए। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत पाएका थिए।  

क्षेत्र नम्बर ८ बाट अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट जीवनराम श्रेष्ठ विजयी भएका थिए। उनी हाल नेकपा एसमा छन्। यो क्षेत्रमा नेकपा एसबाट श्रेष्ठ उम्मेदवार हुने सम्भावना रहेकाले एमालेले सर्वसम्मत रूपमा राजेश शाक्यको नाम मात्र सिफारिस गरेको छ।

अघिल्लोपटक श्रेष्ठ १३ हजार ३९७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रसेका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए। यो क्षेत्रबाट एमालेले सर्वसम्मत रूपमा शाक्यको नाम सिफारिस गरे पनि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार हुने सम्भावना पनि बलियो छ।  

क्षेत्र नम्बर ९ बाट अघिल्लो निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए। अहिले पनि उम्मेदवारका लागि उनको नाम सिफारिस भएको छ। अघिल्लो पटक श्रेष्ठ २२ हजार ८५२ मतसहित विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत पाएका थिए।  

क्षेत्र नम्बर १० बाट २०७४ सालको संसदीय निर्वाचनमा एमालेको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्द्रका हितमान शाक्य पराजित भएका थिए। २१ हजार ९०७ मत पाए पनि शाक्य कांग्रेसका राजन केसीसँग पराजित भएका थिए ।

प्रकाशित: १६ भाद्र २०७९ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App