coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जबराले उल्टै लगाए आरोप

फाइल तस्बिर

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लगाइएका आरोपको एकएक खण्डन गरेका छन्। समितिले बोलाएअनुसार बुधबार बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा उपस्थित जबराले दिउँसो पौने १ बजेदेखि करिब ४ बजेसम्म बयान दिनेक्रममा आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नभएको प्रस्टीकरण दिएका हुन्।

नेपालमा प्रधानन्यायाधीशलाई महाभियोग लगाएर प्रश्न सोधिएको यो पहिलो घटना हो। जबराले सोेधिएका ४३ प्रश्नमध्ये चारवटाको मात्र उत्तर दिएका छन्। बाँकी प्रश्नको जबाफ उनले बिहीबार दिनेछन्। उनले आफूविरुद्ध लगाइएका आरोपको बचाउ मात्र गरेनन्, उल्टै राजनीतिक दलका नेता, नेपाल बार एसोसियसन र सर्वोच्च बारका पदाधिकारीलाई पनि दोषारोपण गरे। महाभियोग सिफारिस समितिले लिखित प्रश्न सोध्नुअघि जबराले सत्ता गठबन्धनदेखि सर्वोच्च अदालतका न्यायाधीश र बारका पदाधिकारीमाथि गम्भीर आरोप लगाएका थिए।  

जबराले आफूमाथि महाभियोग लगाइनुको मुख्य कारण ‘ललितानिवास प्रकरणमा फैसलाको मिति तोक्नु’ रहेको दाबी गरेका छन्। आफूले गत कात्तिक १५ गते ललितानिवास प्रकरणमा अन्तिम फैसला सुनाउने मिति तोकेपछि नै सत्तापक्षले महाभियोग लगाउने रणनीति तय गरेको उनको दाबी थियो। तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई मुछिएको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने मन्त्रिपरिषद् निर्णयका आधारमा सम्बन्धित प्रधानमन्त्रीलाई पनि मुद्दा चलाइनुपर्ने माग गरिएको थियो।  

जबराले आफूमाथिको महाभियोग प्रस्तावलाई प्रतिनिधिसभा पुनःस्थापना र नयाँ सरकार गठनसँग पनि जोडेका थिए। उनले प्रतिनिधिसभा पुनःस्थापना गरेर आफूले निकै ठुलो गल्ती गरेजस्तो ठानिएको बताए। उनले कारबाही गर्दा पुनःस्थापनाको फैसलामा सहभागी पाँचैजनामाथि गर्नुपर्ने तर आफूमाथि मात्र महाभियोग प्रस्ताव दर्ता गर्नु सुनियोजित भएको टिप्पणी गरे।

उनले २०७८ असार २८ गते अर्थात् प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाअघि मैले के गरें र पुनःस्थापनापछि के गरें भन्दै महाभियोग प्रस्तावको औचित्यबारे प्रश्न गरेका थिए। तर आफूबाहेक प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने अरू न्यायाधीशलाई सरकारले पदक दिएको पनि उनले बताए।  

जबराले गलत भए पाँचैजना गलत हुनुपर्ने होइन, नेतृत्व सबै कुरा होइन, दण्डित भए सबै दण्डित हुनुपर्दैन भन्दै प्रश्न उठाएका थिए। उक्त फैसला सुनाउने इजलासमा उनीसहित दीपककुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा थिए। कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाअभियोग लगाइएको उनले दाबी गरे।  

जबराले नेपाल बार र सर्वोच्च बार एसोसियसनका पदाधिकारीले पनि न्यायपालिकामा भागबन्डा खोजेको आरोप लगाए। तत्कालीन बार पदाधिकारीले न्यायाधीश नियुक्तिमा र मुद्दामा बार्गेनिङ गरेको तर स्वीकार नगरेपछि आफूविरुद्ध न्यायाधीशहरूलाई समेत हडतालमा उतारेको आरोप लगाए। तत्कालीन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले उच्च अदालत तथा सर्वोच्च अदालतको न्यायाधीशमा भाग मागेको उनको भनाइ थियो। पौडेलको न्यायाधीश हुने योग्यता नपुगेकाले आफूले अस्वीकार गरेको र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले मुद्दामा सेटिङ गर्न खोज्दा आफूले नमानेको उनले बताए। सेटिङबाट मुद्दा जिताउन नपाउनेहरू बार आन्दोलनको कभरमा आफूविरुद्ध उत्रिएको आरोप उनले लगाए।

जबराले न्यायालय सुधारका लागि आफूले थालनी गरेको दाबी गरे। उनले नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनसँग गोलाप्रथा लागु गर्ने सहमति गरेको दुई दिनमै बारले आफ्नो राजीनामा माग्नुको कारण आफूले अझै नबुझेको बताए। बारलाई पटक–पटक वार्तामा आउन पत्र लेखे पनि नआएको उनको भनाइ थियो।  

जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको पनि बताए। उनले आफू संसद्को सम्मानका लागि मात्र समितिमा उपस्थित भएको बताए। उनले महाभियोग प्रस्तावमा संसद्ले संविधान र संसद् नियमावली पालना नगरेको आरोपसमेत लगाए। एउटा अधिवेशनमा फागुन १ गते दर्ता भएको महाभियोग प्रस्तावमाथि कुनै काम सुरु नगरी अर्को अधिवेशन सुरु गरिएको उनको भनाइ थियो। जुन अधिवेशनमा सुरु भएको त्यही अधिवेशनले यो टुंग्याउनुपर्ने उनको तर्क थियो।  

‘१५ दिनभित्र के हुन्छ ? अधिवेशन चालु रहेको भए के हुन्छ ? अधिवेशन चालु नरहेको भए के हुन्छ ? यसरी प्रक्रियागत रूपमा उल्लेख गरिएकाले यस्तो प्रस्ताव समयमै टुंगियोस् भन्ने हो। नियमावलीमा समय तोकेर टुंग्याइने भनिएको छ,’ उनले भने।  

उनलाई दुईवटा व्यक्तिगत र दुईवटा कार्यगत प्रश्न सोधिएको थियो। कार्यगत प्रश्नमा ‘तपाईंविरुद्ध परेको महाभियोगको आरोप लोकतन्त्र र मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेका छन् भन्ने आरोप छ। आफ्नो भनाइ के छ ? खुलाउनुहोस् भन्ने थियो। अर्को प्रश्न ‘सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्रै निजको कार्यकालमा अतिशय विकृति तथा विसंगति, भ्रष्टाचार, बिचौलियाहरूले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको अवस्था विद्यमान छ’ भन्ने आरोप छ, यसमा तपाईंको भनाइ के छ ? भन्ने थियो।  

प्रकाशित: १६ भाद्र २०७९ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App