६ वैशाख २०८१ बिहीबार
राजनीति

कर्णाली प्रदेशः अर्थमा कृष्णा आचार्य, जलस्रोतमा रातो कामी नियुक्त

मुख्यमन्त्री जीवनबहादुर शाहीले रिक्त दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह आचार्यलाई नियुक्त गरिएको छ भने जलस्रोत तथा उर्जा मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको छ। माओवादी केन्द्रको साउन २६ गतेको बैठकले विष्ट र सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो।

पार्टी र दलको निर्देशन अनुसार विष्ट र सिंहले राजीनामा दिएका थिए। विष्ट २०७८ मंसिर १४ गते मन्त्री नियुक्त भएका थिए भने सिंह माघ २३ गते मन्त्री नियुक्त भएका थिए। स्रोतका अनुसार पार्टी नेतृत्वले प्रत्यक्षतर्फ टिकट दिने प्रतिबद्धता जनाएपछि उनीहरु राजीनामा दिन राजी भएका थिए।

‘दलको बैठकले साउन २६ गते नै निर्णय गरेपनि प्रत्यक्षतर्फ टिकट पाउने ग्यारेन्टी नहुँदासम्म विष्ट र सिंहले राजीनामा नदिने अडान लिनुभएको थियो,’ माओवादीका एक सांसदले भने, ‘पार्टी अध्यक्ष प्रचण्डले नै पहिले जितेकै क्षेत्रबाट टिकट दिने आश्वासन दिएपछि मात्रै उहाँहरुले ढिलो गरेर राजीनामा दिनु भएको हो।’

अहिले मन्त्री बनेकाहरु भने सांसद बन्न पाउने छैनन्। कामी रुकुम पश्चिमबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् भने आचार्य जाजरकोटबाट समानुपातिक सांसद हुन्। ‘फेरि सांसद भएर मन्त्री हुन नपाउने अवस्था भएकाले पालो पुर्‍याउनका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्नेहरुलाई राजीनामा दिएर उहाँ (कामी र आचार्य)लाई मन्त्री बनाइएको हो,’ ती माओवादी सांसदले भने, ‘केही महिनाका लागि भएपनि माओवादी केन्द्रका हामी सबै सांसदहरु मन्त्री बन्न सफल भएका हौं।’

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन्। ती मध्ये पुष्पा घर्तीमगर उपसभामुख छिन्। कामी र आचार्यले पद तथा गोपनीयताको सपथ लिएसँगै १० जना मन्त्री भइसकेका छन्। माओवादीले छ महिनाका लागि गैरसांसद हुम्लाका कार्चेन लामालाईसमेत मन्त्री बनाइसकेको छ। सरकारले मंसिर ४ गतेका लागि संघ र प्रदेशको मिति घोषणा गरेको छ। कामी र आचार्य बढीमा ८५ दिनसम्म मन्त्रीको कुर्सीमा बस्न पाउने छन्।

प्रकाशित: १३ भाद्र २०७९ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App