८ वैशाख २०८१ शनिबार
राजनीति

जनताको करबाट तलबभत्ता लिनेले जनताको सेवक बन्नुपर्छ: नेता गजुरेल

जिल्ला समन्वय समिति सिन्धुलीको छैटौ जिल्ला सभामा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेल। तस्विर:अनिल /नागरिक

नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव हरिबोलप्रसाद गजुरेलले जनताको करबाट तलब भत्ता लिनेले जनताको सेवक बनेर काम गर्नुपर्ने बताएका छन्। 

जनप्रतिनिधि के का लागि निर्वाचित भएको हो, त्यो जनप्रतिनिधिले बुझ्न जरुरी छ, जिल्ला समन्वय समिति सिन्धुलीद्वारा आयोजित छैटौ जिल्ला सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका गजुरेलले भने पार्टीका लागि राम्रो भएको व्यक्ति जनप्रतिनिधिमा सफल नहुन पनि सक्छ। उनले पार्टीले जनप्रतिनिधिका लागि उम्मेदवार छान्दा समेत योग्य र क्षमतावान् व्यक्ति छान्नुपर्ने सुझाव दिए। काम गर्न ठुलो नेता चाइदैन उनले भने,कामप्रतिको लगाव हुनुपर्छ। 

उनले कुरा बढी हुने र कामको ठोस सुरुवात कम हुँदा समस्या भएको बताए। जनप्रतिनिधि निर्वाचित भएकालाई पनि काम कर्तव्य र अधिकार थाहा नपाई ठुला भाषण मात्रै गर्दा विकराल समस्या आउन थालेको  गजुरेलको भनाई छ। विपी राजमार्गनै जोखिम हुनेगरि जताततै क्रसर उद्योगहरु मापदण्ड विपरित खुल्दा समेत जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमन गर्न नसक्दा समस्या आएको गजुरेलको भनाई छ। विपी राजमार्गमा मन्त्रीदेखि देशका ठुला तहमा रहेका व्यक्तिहरु आवातजावत गर्ने गर्छन् तर राजमार्गनै जोखिममा राखेर खुलेका क्रसर कसैले अनुगमन गर्दैनन् उनले भने।  

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहालले स्थानिय तहले जनमुखी कार्यक्रम ल्याउनुपर्ने बताए। उनले जिल्ला समन्वय समितिले प्रभावकारी रुपमा जिल्लामा सञ्चालित योजनाहरुको अनुगमन गर्नुपर्ने औल्याए। यस्तै नेपाली काँग्रेसका नेता माणिक ढकालले जनताले पत्याउने र उपलब्धिमुलक काम जिल्ला समन्वय समितिले गर्नुपर्ने बताए। जिल्लाभर सञ्चालन भएका योजनाहरु स्थानिय तहसँगको समन्वयमा अनुगमन गर्ने अधिकार जिल्ला समन्वयलाई भएकाले प्रभावकारी काम गर्न उनले सुझाव दिए। उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले उद्योग बाणिज्यसँग समेत समन्वय गरेर काम गरे आफुहरुले गर्नुपर्ने काम गर्न तयार रहेको बताए।  

विहिबारबाट सुरु भएको जिल्ला सभा शुक्रबारसम्म सञ्चालन हुने जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ। पुर्व कृषि मन्त्री हरिबोलप्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्लाका दुई नगरपालिका र सात गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षसहित कार्यालय प्रमुखको सहभागिता छ। जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभाको निती तथा कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले सार्वजानिक गरेकी थिइन्। कार्यक्रममा सहभागिले जिल्ला समन्वय समितिले कडाइका साथ जिल्लाभरका योजना अनुगमन गर्नुपर्ने औल्याएका थिए।

प्रकाशित: ९ भाद्र २०७९ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App