८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचनमा जोडघटाउ गर्दै दलहरू: एमालेलाई चुनाव चुनौतीपूर्ण

फाइल तस्बिर

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्। स्थायी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्। स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए।  

सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछि एमाले चुनौतीपूर्ण दबाबमा छ। स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले पार्टीको संगठन अवस्थाबारे ब्रिफिङ गरेका थिए। बैठकमा केही नेताले सत्तारुढ दलबीच गठबन्धन नभए एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय हाराहारी स्थानमा जित्ने बताएका थिए। उनीहरूले समानुपातिक निर्वाचनतर्फ पनि पार्टीले अग्रस्थान जित्ने आधार पेस गरेका थिए।  

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक्लै जानुपर्ने भएकाले कडा प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिएपछि प्रदेश इन्चार्जहरूले पार्टीको बहुमत आउने ब्रिफिङ गरेका हुन्।

प्रदेश १ बाट देवराज घिमिरे, मधेस प्रदेशबाट रघुबीर महासेठ, वाग्मती प्रदेशबाट काशीनाथ अधिकारी, लुम्बिनी प्रदेशबाट छविलाल विश्वकर्मा, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्टले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार एमालेले आफूसँग चुनावी गठबन्धन गर्न चाहने दलहरूका लागि ढोका खुला राखेको छ। ‘एमाले एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्षम रहे पनि अजेन्डा मिल्ने दलहरूसँग गठबन्धनको ढोका खुला छ। कसैसँग गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन, एमालेसँग जोजो गठबन्धन गर्न चाहन्छन्, उनीहरूका लागि ढोका खुला छ’, उनले भने ‘एक्लै चुनौती सामना गर्न पनि एमाले सक्षम छ। सुशासन र समृद्धि, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने अजेन्डा मिल्ने दलसँग सहकार्य हुन्छ।’  

गुरुङले चुनावी गठबन्धनका विषयमा एमालेले पनि आन्तरिक रूपमा गृहकार्य गरिरहेको संकेत गर्दै सबै कुरा अहिले खुलासा गर्न नहुने बताए। ‘सबै कुरा डिस्क्लोज्ड गर्न मिल्दैन, यो झ्याली पिटाउने विषय पनि होइन’, उनले भने।  

बैठकमा ‘आगामी सरकार एमालेको, प्रगतिशील, देशभक्त र लोकतन्त्रवादी’ को भन्ने नारा प्रस्ताव गरिएको छ। घरायसी प्रयोजनमा खपत हुने बिजुलीको महसुल नलिनेगरी निर्वाचन घोषणापत्र बनाउनुपर्ने विषय पनि बैठकमा उठेको थियो। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ऊर्जा विकासमा जोड दिँदै घरायसी प्रयोगका लागि बिजुली निःशुल्क दिनुपर्ने प्रस्ताव गरेका थिए। उनले स्वास्थ्य बिमा पुनःसंरचना गरेर बिरामीको उपचार पनि शतप्रतिशत निःशुल्क गर्नुपर्ने प्रस्ताव गरेका थिए।  

बैठकमा सुवास नेम्वाङ, घनश्याम भुसाल, मणि थापा, शेरधन राई, हिक्मत कार्की, कर्ण थापा, गोरखबहादुर बोगटी, गुरु बराललगायतले धारणा राखेका थिए। ललितपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा ओलीले नेपालमा एमालेबाहेक वामपन्थी दल नभएको दाबी गर्दै एक्लै चुनावी प्रतिस्पर्धाको तयारीमा लाग्ने बताएका थिए।  

स्थायी कमिटी सदस्य भुसालले वामपन्थी दलबीच गठबन्धन गरेर चुनावमा जानुपर्ने धारणा राखेका थिए। तर ओलीले वामपन्थी भन्ने दलहरू कांग्रेसको पछि लाग्न नछाडेका कारण उनीहरूसँग सम्बन्ध स्थापित गर्न कठिन भएको बताएका थिए। ‘अन्य दलहरूले आफू वामपन्थी हुँ भन्छन् भने त्यसलाई प्रमाणित गर्दैनन्। त्यसमा खास समस्या छ। उनीहरू कांग्रेसको पछि लागेर हिँडेपछि वामपन्थी हुँ भन्नुको अर्थ हुँदैन’, ओलीले भनेका थिए। उनले भदौ २० भित्र उम्मेदवार छनोट गरेर केन्द्रमा पठाउन मातहत कमिटीलाई निर्देशन दिएका थिए।

एमालेले गठबन्धनमा रहेका दल फुटेर आए साथमा लिने, अन्य दलका नेताहरूलाई पार्टीमा ल्याउने र जिम्मेवारी दिने भएको छ। बैठकले विभिन्न पार्टी छाडेर आएका नेताहरूलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौंका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय बैठकले गरेको छ।

केन्द्रीय कमिटी बैठकको अजेन्डा तय गर्न स्थायी कमिटीको बैठक बसेको हो। यसअघि स्थायी कमिटीको बैठक वैशाखमा भएको थियो। केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ। ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, मुलुकको वर्तमान अवस्था, गठबन्धन सरकारले गरेका गलत काम, चुनावी तयारीलगायतका विषय समेटिने बताएका थिए।

प्रकाशित: ८ भाद्र २०७९ ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App