८ वैशाख २०८१ शनिबार
राजनीति

शोकमा डुब्यो प्रदीपको गृहनगर

एकाबिहानैदेखि चहलपहल देखिने लहान बजार आइतबार सुनसान छ। चिया पसल बाहेकका पसलहरु बन्द छन्। स्कुल कलेजमा शोक बिदा दिइएको छ।

शनिबार राती प्रदीप गिरिको निधनको खबरले लहानबासी गहिरो दुःखमा डुबेका छन्। सिरहा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका प्रदीप गिरिको पुर्ख्यौली घर लहान नगरपालिका १४ बस्तीपुर हो।

गिरिको निधनको शोकमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा,लहानले जिल्लाभरका उद्योग, व्यपार एक दिन बन्द गर्ने निर्णय गरेको अध्यक्ष विकास सारडाले बताए।  

यसैगरी, लहान क्षेत्रका सम्पूर्ण निजी तथा आवासीय विद्यालयहरु एक दिन बन्द गर्ने निर्णय भएको प्याब्सन जिल्ला अध्यक्ष उमेश चौधरीले बताए।

लहान नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायी विद्यालय,व्यपार, संस्था, सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आकस्मिक बाहेकको सेवा बन्द रहने  निमित प्रमुख प्रशासकिय अधिकृत मायानाथ आचार्यले बताए।

यस्तै, सखुवानन्कारकट्टी गाउँपालिकाकाले पालिका क्षेत्रका सम्पूर्ण विद्यालय र कार्यालयहरुमा शोक बिदा दिएको अध्यक्ष केदारनाथ यादवले बताए।

लहान नगरपालिका–१४ मा २००२ सालमा मित्रलाल गिरि र पुण्यप्रभा गिरिका माहिलो छोराका रूपमा जन्मिएका हुन् प्रदीप गिरी। उनका पाँच भाइ र तीन दिदीबहिनी छन् । नागरिकतामा भने उनको जन्ममिति २००६ साल लेखिएको छ।

१३ वर्षको उमेरमा बस्तीपुर माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका गिरीले भारतको काशी विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा एमए पास गरेका थिए ।

राजनीतिक घरानका गिरि काशी विश्वविद्यालयमा बीए अध्ययन गर्दाताका प्रजातान्त्रिक युवा दलमा आबद्ध भएका थिए। २०२४ सालमा त्यही संगठनको उपाध्यक्ष बने। नेपाल आउँदा पक्राउ परेपछि २ वर्ष जेल परे। जेलबाट छुटेपछि बीपीलाई भेट्न बनारस पुगे र सशस्त्र आन्दोलनको सहयोगी बने। 

२०३६ सालमा बहुदलको पक्षमा भोट माग्दा २ दिनअघि नै पक्राउ परेका उनी फेरि २०४२ सालको सत्याग्रहमा समातिए। २०४५ सालमा पनि उनी पक्राउ परेका थिए। प्रदीप गिरि २०५१ को आमनिर्वाचनमा बामपन्थीको गढ मानिने सिरहाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी पहिलो र दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सभासद भए। २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी आफ्नाे गृहनगर रहेको सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । करिब पाँच वर्षदेखि घाँटीको क्यानसरले पीडित गिरी उपचारका लागि भारत आउनेजाने  गर्थे। 

पछिल्लोपटक उनी लामो समय उपचार गराएर साउनमा नेपाल फर्केका थिए। फर्केलगत्तै उनी नेपाल मेडिसिटि अस्पताल भर्ना भए। मेडिसिटिमा उपचारको क्रममा शनिबार राती ९ः३० बजे उनको निधन भयो।  

नेपाली कांग्रेसले उनको दाहसंस्कार पशुपति आर्यघाटमा गर्ने जनाएको छ। तर, गिरिको इच्छा भने संस्कार उनको प्रिय स्थल लहान नगरपालिका १४ मा रहेको आश्रममा होस् भने थियो, उनीसँग धेरै समय बिताएका पत्रकार किशोर नेपालले बताएका छन्। लहान नगरबासीले पनि गिरिको दाहसंस्कार जन्मथलोमै गरियोस् भन्ने चाहना राखेका छन्।

‘आश्रम’ प्रदीप गिरिले निर्माण गरेको विचारको मन्थन गर्ने पवित्र थलो हो। खुट्टी खोलाको पश्चिम किनारमा रहेको चट्टानी जमिनमा रुखविरुवा रोपेर गिरिले रमणीय स्थल बनाएका थिए। जसको नामाकरण आश्रम भनेर गरियाे। 

यहाँ नेपाल भारत तथा तेस्रो मुलुकका थुप्रै बौद्धिक तथा कुटनीतिक व्यक्तिहरु आइसकेका छन्। गिरि काठमाडौंबाट गृहनगर आउँदा आश्रममै बस्थे। यहाँका जमिनमा कोदालो चलाउँथे। विरुवा रोप्थे। सागतरकारी लगाउँथे। उनी अधिकत्तर समय कितावमा रमाउँथे। अध्यनबाट समय निकालेर समर्थक सुभचिन्तकसँग विचार मन्थन गर्थे। 

आश्रम आएको खबर पाएपछि दूरदेहातदेखि सहरसम्मका मानिस गिरिको विचार सुन्न झुमिन्थे। उनी आश्रममा मानिसबाटै घेरिएका हुन्थे। मुस्कानले भरिएको विचारबाट उनी सबैलाई लठ्ठ पारिदिन्थे। उनको आगमनसँगै रुखविरुवा यहाँका मानिसको मुहार उज्यालिन्थ्यो। आश्रम गुलजार हुन्थ्यो। उनको अवसानसँगै आश्रम उराठलाग्दो भएको छ। मानिसका मुहार पनि धमिलिएको छ। भरोसाको प्रदीप निभेकोप्रति सबै शोकमा डुबेको छ।

प्रकाशित: ५ भाद्र २०७९ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App