६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रतिगमन सच्चिएको छैन गठबन्धन जारी रहन्छ: चित्रबहादुर केसी

बागलुङमा आयोजित पत्रकार भेटघाटमा राजमो अध्यक्ष चित्रबहादुर केसी। तस्विरः संगम/नागरिक

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमन पूर्णरुपमा परास्त नभई सकेकाले गठबन्धन अझै रहने बताएका छन्। 

शुक्रबार साँझ बागलुङमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिपेक्षता नै मास्ने गरी विदेशी शक्तिको आडमा प्रतिगमन भएपछि त्यसलाई जोगाउन गठबन्धन गरिएको बताए। ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता नै खतरामा परेपछि यो गठबन्धन बनेको हो,’ उनले भने,‘प्रतिक्रियावादीहरुले एक दुई सिटका लागि काँग्रेससंग जनमोर्चा मिल्यो भन्छन्। तर यो एक दुई सिटका लागि होईन। कम्तीमा गणतन्त्र जोगाउन कुरामा काँग्रेस सहमत छ। धर्मनिरपेक्षता जोगाउने कुरामा काँग्रेससंग सहमत भएका कारण गठबन्धन बनेको हो।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले मुलुकलाई हिन्दुराष्ट्र बनाउने नियतका साथ पटक पटक संसद भंग गरेपछि राष्ट्रिय जनमोर्चाले नै गठबन्धनको सुरुवात गरेको केसीले दाबी गरे। ‘तपाईहरुलाई अचम्म लाग्ला यो गठबन्धनको सुरुवातकर्ता हामी नै हौं, हामीले पहिलो पटक विज्ञप्ती निकालेर सबै दललाई आह्वान गर्‍यौं,’ केसी भन्छन्,‘पहिले काँग्रेसहरुले पत्याएनन्। माघ ८ गते हामीले काठमाडौंमा अन्तरक्रिया गरेर वरिष्ठ अधिवक्ताहरुले नै यो प्रतिगमन हो र यो यत्तिमै रोकिदैन भनेपछि काँग्रेस पनि कन्भिन्स भयो।’ काँग्रेससंग थुपै्र विमतिहरु हुँदा हुँदै पनि गणतन्त्र र धर्मनिरपेक्षता जोगाउने सवालमा गठबन्धन जारी रहेको र आगामी निर्वाचनमा पनि गठबन्धन नै गरेर जाने बताए।  

‘गठबन्धनले विगतमा पनि प्रतिक्रियावादी र प्रतिगमनकारीहरुलाई ड्यास दिएको छ,’ उनले भने,‘छिमेकी मुलुकले यहाँ हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको छ। केही दल नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा लागेका छन्। अहिले पनि गठबन्धनको औचित्य सकिएको छैन।’ अध्यक्ष केसीले दलहरुबीच गठबन्धन गरेरै निर्वाचनमा जाँदा पनि आफ्नो अजेन्डा नछोड्ने बताए। ‘संघियताका खारेजी र गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताका रक्षा हाम्रो मूल मुद्दा हो,’ उनले भने,‘हामी चुनाव जित्ने बहानामा आफ्ना मुद्दा छोड्दैनौं। हिजो पनि राष्ट्रिय जनमोर्चा एक्लै लडेको हो। अहिले पनि एक्लै लड्न तयार छौं। एक्ला एक्लै जाँदा प्रतिगमन पञ्चायती व्यवस्था र ज्ञानेन्द्रको शाही कदम भन्दा शक्तिशाली हुने भएकाले कार्यगत एकता भएको हो।’

एमसीसी, नागरिकता विद्येयकमा आफ्नो पार्टीको पाँच दलमा विमती भए पनि गठबन्धन अहिलेको आवश्यकता भएको उनको भनाई छ। ‘गठबन्धनमा तपाईँहरुको कुरा मिल्दैन किन बस्नुहुन्छ भन्ने कुरा पनि आएका छन्। सबै कुरा मिले त पार्टी नै एउटै भैहाल्यो नि। मिल्ने कुराहरुमा गठबन्धन हुने र मुलुक जोगाउने कुरामा गठबन्धन भैरहेको छ,’ केसीले भने। अंगिकृत नागरिकका सन्तानलाई पनि वंशजको आधारमा नागरिकता राष्ट्रियता नै खतरामा पर्ने भएकाले यसको राजमोले विरोध गरेको केसीले दाबी गरे।  

‘राष्ट्रिय जनमोर्चालाई पनि साथैमा मिलाएको जस्तो देखाउन गठबन्धनका साथीहरुले खोजे,’ केसी भन्छन्,‘हामीले यो विद्येयकको विरोध गरेका छौं। बरु एमाले अहिले सबैभन्दा क्रान्तिकारी देखिन खोजेको छ। हिजो यही विद्येयक अध्यादेशबाट लागू गर्न लागेको थियो।’ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनमतको दुरुपयोग गरेका कारण देश समस्यामा परेको उनको भनाई छ। ‘ओलीजी पार्टीमा अल्पमतमा पर्ने, सरकारमा अल्पमतमा पर्ने अनि संविधान व्यवस्था नै मासेर संसदको गला निमोठ्ने गर्दा देशलाई अप्ठ्यारो व्यहोरिरहेको छ,’ केसीले भने।

छिमेकी मुलुकले नेपाललाई हिन्दुराष्ट्र बनाउनेगरी तयार गरेको डिजाईनमा एमाले फसेको केसीको आरोप छ। ठूला दलहरुले राष्ट्रियतालाई सौदाबाजीको विषय बनाएको केसीले बताए। ‘अहिलेका ठूला भनिएका दलहरु राष्ट्रियताको विषयमा कत्ति पनि गम्भीर देखिएनन्,’ उनी भन्छन्,‘यो विषय सधैं सौदाबाजीको विषय बन्यो।’ तत्कालीन नेकपा भित्रको कुर्चीको झगडा देश र कम्युनिष्ट पार्टीका लागि दूर्भाग्यपूर्ण बनेको उनी बताउँछन्।

प्रकाशित: ३ भाद्र २०७९ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App