१६ चैत्र २०८० शुक्रबार
राजनीति

यही नागरिकता विधेयक पास भयो भने सांसद र मन्त्रीहरू लेन्डुप दोर्जे हुनेछन्: प्रेम सुवाल

मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै पास भयो भने ‘एक/दुईवटा निर्वाचनपछि नेपालका सांसद र मन्त्रीहरु लेन्डुप दोर्जे हुनेछन्’ भन्दै टिप्पणी गरेका छन्।

बिहीबार संसदमा प्रस्तुत राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकको छलफलमा भाग लिँदै उनले भने, ‘लेन्डुप दोर्जेको विरोध नभएको यो संसारमा कुनै कुना छैन होला, हामीले पनि लेन्डुप दोर्जे देशघाती हो भनेर विरोध गर्याैं। आज यो विधेयक पास भयो, फिर्ता आयो र फेरी पास भयो भने एक/दुई वटा निर्वाचन पछि सांसद र मन्त्रीहरु लेन्डुप दोर्जे हुनेछन्। अन्ततः नेपाल फिजी र सिक्किम बन्नेछ। यो इतिहासले देखाएको हो।’  

सुवालले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाइको हवाला दिँदै भने, ‘२०६४ सालमा सातदलको बैठकमा गिरिजाप्रसाद कोइरालाजी र पुष्पकमल दाहालजीले एसडीमुनीको हवाला दिँदै भन्नुभएको थियो, एक मधेस एक प्रदेश भारतको इच्छा हो भन्नुभएको थियो। इतिहास साक्षी छ। यो अन्त कतै भन्नुभएको होइन। सात दलको बैठकमा भन्नुभएको हो।’ उनका अनुसार सुगौलीसन्धि भन्दा अगाडि नेपाल भारत सिमाना खुल्ला थिएन। सन् १९५० को शान्ति तथा मैत्रीको नाममा आएको सन्धिपछि सिमाना खुला भयो र नागरिकताको समस्या आयो।

सुवालले नेपाली पुरुषसँग विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिने व्यवस्था राष्ट्रघाती भएको टिप्पणी पनि गरे। सुवालले भारतीय नागरिकसँग विवाह भएर गएका नेपाली महिलाले ५ वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था रहेको र त्यो व्यवस्था किन यहाँ राख्न सकिएन भनेर प्रश्न पनि गरे।

सुवालले भने, ‘बंगलादेशमा ५ वर्षमा नागरिकता दिने व्यवस्था छ। अमेरिका र बेलायतमा ३/३ वर्षमा दिने व्यवस्था छ। भुटानमा त बच्चा जन्मिएपछि मात्र दिने व्यवस्था छ।’ उनले नेपालको संविधान दोस्रो संशोधन २०३२ सालमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले ५ वर्षपछि नागरिक पाउने व्यवस्था रहेको उल्लेख पनि गरे। सुवालले यो विधेयक कुनैपनि हालतमा सच्चाउनुपर्ने तर्क गरे।

प्रकाशित: २ भाद्र २०७९ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App