८ वैशाख २०८१ शनिबार
राजनीति

ठक्करै–ठक्कर खाएपछि अन्ततः एकै ठाउँमा

२०७२ असोजमा तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई त्यसबीचमा विभिन्न दल परिवर्तन गर्दै करिब ७ वर्ष हन्डर र ठक्करपछि माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न तयार भएका छन्।

त्यसबीचमा माओवादीबाट परिवर्तन सम्भव नभएको र अध्यक्ष पुष्पकमल दाहाल भ्रष्टीकरणको बाटोमा लागेको आरोपसहित पार्टी परित्याग गरेका भट्टराईले कम्युनिस्टबाट परिवर्तन सम्भव नभएको बताउँदै आएका थिए। केही समयअघि जनता समाजवादी पार्टीको कारबाहीमा परेका उनलाई पछिल्लो समय निकटस्थ भनिएकाहरूले नै साथ छाड्न थालेका थिए। जसपाबाट निकालिएपछि राजनीतिक रूपमा कमजोर बन्दै गएका उनी अन्ततः आफैंले काम नलाग्ने भनेर छाडेको पुरानै पार्टीको चुनाव चिह्न लिएर निर्वाचन लड्न तयार भएका हुन्।

दाहालका नेकपाकालीन सहकर्मी तथा नेकपा एमालेमै हुँदा पनि माओवादी र दाहालका शुभेच्छुक वामदेव गौतम पनि माओवादी केन्द्रकै निर्वाचन चिह्न लिएर चुनाव लड्न तयार भएका छन्। सर्वाेच्च अदालतको फैसलापछि नेकपा पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्र बनेपछि वामपन्थी दलहरूका बीचमा पुनः एकता गराउने भन्दै राष्ट्रिय एकता अभियान सुरु गरेका गौतम अन्ततः निर्वाचनका लागि माओवादी केन्द्रको शरणमा पुगेका हुन्।

उमेर हदका कारण पूर्वपार्टी नेकपा एमालेमा भूमिका नपाउने भएपछि राष्ट्रिय एकता अभियान सुरु गरेका गौतमले त्यसबाट पार लाग्ने नदेखेपछि निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णयमा पुगेका हुन्। उनले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्ने घोषणासँगै मंगलबार निर्वाचन आयोगमा आफू निर्वाचनमा जित सुनिश्चित गर्नकै लागि माओवादीको चुनाव चिह्न रोजेको बताए। उनको यो भनाइले पनि एकता अभियानबाट निर्वाचनमा सफलता पाउन सम्भव नभएपछि उनी घुम्दै फिर्दै नेकपाकालीन अध्यक्ष दाहालको ढोका ढकढकाउन पुगेको देखिन्छ।

अर्कातर्फ युद्धकालीन सहकर्मीले साथ छाडेपछि एक्लिएका र सर्वाेच्च अदालतको निर्णयले तत्कालीन नेकपा विघटन गरिदिएसँगै पार्टी एकीकरणबाट जोडिएका नेता–कार्यकर्ताको साथ पनि छुटेपछि थप एक्लिएका दाहाललाई पनि भट्टराई र गौतमको साथले चुनावसम्मकै लागि भए पनि केही राहत दिएको छ। 

दाहालले लिएको राजनीतिक दिशाप्रति असहमति जनाउँदै भट्टराईसँगै मोहन वैद्य, रामबहादुर थापा, सिपी गजुरेल, नेत्रविक्रम चन्दलगायतको ठूलो नेता–कार्यकर्ताको समूहले साथ छाडेपछि एक्लिँदै गएका दाहालका लागि युद्धकालीन सहकर्मी भट्टराई र नेकपाकालीन सहकर्मी गौतमको साथले राहत दिएको हो।

विशेषगरी भट्टराई पूर्वपार्टीकै चुनाव चिह्नमा लड्न तयार हुनु र कालान्तरमा पार्टी एकीकरणसम्मको तयारी हुनुले युद्धकालीन माओवादी नेता–कार्यकर्तामा समेत उत्साह र खुसी छाएको छ। दाहाल आफैंले पनि एक्लै हिँड्दा धेरै ठक्कर खाएको र बुद्धि पलाएको स्वीकार गरेका छन्।

अध्यक्ष दाहाल र भट्टराईसहितका नेताबीच मंगलबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटपछि दाहालले निर्वाचनपछि भट्टराईसहित वामपन्थी दलहरूबीच एकता गर्ने बताए। सोही भेटपछि भट्टराईले पनि बृहत् अग्रगामी राजनीतिक शक्तिहरूको ध्रुवीकरण गर्ने लक्ष्य रहेको बताए। तथापि पार्टी एकीकरणका बारेमा अहिल्यै ठोस निर्णय भइसकेको छैन। तर पटकपटकको हन्डर र ठक्कर खाएका तीन शीर्ष पूर्वसहकर्मीले निर्वाचनमा शक्ति आर्जनकै लागि भए पनि गरेको सहकार्यले भने राजनीतिमा स्थायी शत्रु हुँदैन र कुनै कुरा असम्भव पनि हुँदैन भन्ने भनाइ पुनः एकपटक पुष्टि गरेको छ।

प्रकाशित: १ भाद्र २०७९ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App