८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्ड कचौरा लिएर कांग्रेसको आगनमा उभिएका छन्: ज्ञवाली

बागलुङमा आयोजित पत्रकार भेटघाटनमा एमाले उपमहासचिव प्रदिप ज्ञवाली। तस्विरः संगम/नागरिक

नेकपा एमालेका उपमहासचवि प्रदिप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली काँग्रेसको आगनमा कचौरा लिएको उभिएको बताएका छन्। 

मंगलबार बागलुङमा प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले आफूलाई परिवर्तनको नायक भन्ने प्रचण्ड निर्वाचनमा मलाई पुगेन अलिकति सिट थपिदेउ भनेर कचौरा लिएर बसेको बताएका हुन्। ‘निर्वाचन आउँदै गर्दा लौन म नलाई यतिले पुगेन अलिकति देउन भनेर प्रचण्ड काँग्रेसको आगनमा कचौरा लिएर बसेका छन्,’ उनले भने,‘१० वर्ष देश र जनतालाई दुःख दिएर अहिले यो गतिमा माओवादी छ। यसको हिसाब इतिहाँस र जनताले खोज्नेछन्।’

ज्ञवालीले गठबन्धनले लोकतन्त्रको उपहास गरेको पनि बताए। ‘गठबन्धन दलले लोकतन्त्रको उपहास गरेका छन्,’ उनले भने,‘नीति सिद्धान्त बेचेर सत्ताका लागि जे पनि गर्न तयार रहेकाले यो देशमा राष्ट्र र जनताका लागि एउटा एमाले पार्टी मात्रै छ भन्ने पुष्टी भएको छ।’ गठबन्धनको अनेक रङ देखेर आफ्ुहरु छक भनेर ज्ञवालीको भनाई थियो। ‘गठबन्धन दलमा संघियता चाहिँदैन भन्ने चित्रबहादुर देखि ७ प्रदेशले हुँदै १४ प्रदेश बनाउनुपर्छ भन्ने उपेन्द्र यादवसम्म छन्, यो अनेक रुप रङ देखेर हामी छक्क परेका छौं,’ उनले भने। एमाले नेता ज्ञवालीले एमाले आगामी निर्वाचनमा एक्लै जाने र देशको ठूलो पार्टी बन्ने दाबी पनि गरे।

‘अहिले पाँच दलीय गठबन्धन सात आठ दलीय हुँदै गएको छ, एमालेसँग एक्लै भिड्ने कसैको ताकत देखिएन,’ उनी भन्छन्,‘एमाले आफ्नै बलबुटामा निर्वाचनमा जान्छ र देशको ठूलो पार्टी बन्छ। हाम्रो विचारसंग सहमति राख्ने कोही आउनुभयो भन गठबन्धन गर्दै नगर्ने भन्ने चाँही होईन।’ सुखी नेपाली समृद्ध नेपालको नारालाई गठबन्धन सरकारले लत्याएको भन्दै उनले सबल नेपाल निर्माणको नारा लिएर आफूहरु जनतामा जाने र जनताले नै फैसला गर्ने बताए। वर्तमान गठबन्धन सरकारका कारण नेपालको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको उनले आरोप लगाए।

‘हामीले सरकार छोड्दा विदेशी मुद्राको सञ्चिति ११ महिना आयात गर्न पुग्ने थियो, अहिलको सरकारले चार पाँच महिनाका लागि पनि नपुग्ने बनाएको छ। अर्थतन्त्र धरासायी बनाउने र देशलाई कंगाल बनाउने काममा वर्तमान सरकारको भूमिका छ,’ उनले भने। अर्थमन्त्रको कुकर्ममाथि छानबिन गर्न बनेको संसदीय समितिलाई बहुमतको आधारमा छानबिन गर्न नदिएको उनले जिकिर गरे। ‘हामीले कार्ययोजना बनाउँदा छानबिनको सबै टुल्सहरु प्रयोग गने भनेको थियौं, तर समितिमा बहुमतको बलमा पूरा छानबिन गर्न दिईएन,’ उनले भने,‘हामीले २९ बुँदामा आफ्नो असहमतिहरु राखेका छौं। गम्भीर आर्थिक अपराध बहुमतको आधारमा ढाकछोप गर्ने काम भएको छ।’  

नेता ज्ञवालीले नागरिकता विद्येयक राष्ट्रपतिले फिर्ता पठाएकाले त्यसलाई इगोको रुपमा नलिई सच्याउने तवरले सरकार पक्ष अगाडि बढ्नुपर्ने बताए। ‘नागरिकता भन्ने कुरा राजनीति गर्ने विषय होईन, केही गम्भीर प्रश्नहरु उठेका छन्। ती विषयलाई सच्याउने गरी सरकार पक्ष अगाडि बढ्नुपर्छ,’ ज्ञवालीले भने। गठबन्धन दलले आफ्नो स्वार्थका लागि न्यायालयलाई प्रयोग गर्ने र आफु अनुकुल नहुँदा न्यायालयमाथि प्रहार गर्ने गरेको उनको भनाई छ। ‘आफ्नो स्वार्थका लागि न्यायालय प्रयोग गरेको गठबन्धनले आफु अनुकुल नहुँदा संविधानको दुरुपयोग गरेका छन्,’ उनले भने,‘अहिले सरकार काम चलाउन बनेको छ। संसदको म्याद अब एक महिना पनि बाँकी छैन। यो बेलामा महाअभियोगको प्रस्ताव अगाडि बढाउन खोजिएको छ। यो राम्रो होईन।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले नेपालको स्वतन्त्र र असंग्लन परराष्ट्र नीतिमा वर्तमान सरकार चुकेको आरोप लगाए। चुनाव टार्ने अनेक प्रपञ्चका बीचमा पनि निर्वाचन घोषणा भएकाले अब काम चलाउन बनेको सरकारले दीर्घकालिन महत्व राख्ने कुनै पनि निर्णय गरे मान्य नहुने उनले बताए। उनले आगामी निर्वाचनमा लोकतन्त्रको रक्षा संविधानको कार्यान्वयन र समृद्ध मुलुक निर्माणको अभियान लिएर आफुहरु जनतामाझ जाने उनको भनाई छ। रुकुम हुँदै बागलुङ बजार आएका उनले मध्यपहाडी लोकमार्गको दुरावस्था तत्काल सुधार गरी निर्माण कार्य पूरा गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउने बताए।

प्रकाशित: ३१ श्रावण २०७९ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App