coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थायित्वको एकमात्र विकल्प कार्यकारी राष्ट्रपति प्रणाली: उपेन्द्र यादव

जनकपुरधाममा युवा भेला सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादव ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपति प्रणाली एक मात्र विकल्प रहेको बताएका छन्।  

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलबारबाट सुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले त्यसलाई अन्त्य गरि देशलाई राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको विकल्प नरहेको बताए।  

'अहिलेको व्यवस्थाले निर्वाचन प्रणाली महंगिएको छ, करोडौं खर्चेर चुनाव जितेकाहरु बाट सुशासनको अपेक्षा गर्न सकिदैन' उनले भने, 'निर्वाचन प्रणाली फेरौं। प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा सबै सहमत भएर अघि बढौं, उनले भने,'यसले भ्रष्टाचार नियन्त्रण र देश समृद्ध बनाउन बल पुग्छ।' सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफैं नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनको तर्क छ।  

हतारमा ल्याइएको संविधानले वेथितीहरु एक पछि अर्को  उजागर हुन थालेको उल्लेख गर्दै अध्यक्ष यादवले पहिचान सहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधनको विकल्प नरहेको दावी दोहर्याए।  

परिवर्तन, सृजना, निर्माण, आविस्कारको पर्याय रहेका युवाहरु चेतनशील र संगठित हुनु पर्ने उल्लेख गर्दै यादवले युवाहरुको लागि राज्यले शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु पर्ने जोड दिए। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई प्रदेशमै रोजगार उपलब्ध गराउन प्रदेश निजामति ऐन, प्रदेश प्रहरी ऐन ल्याएर त्यसमा जनसंख्याको आधारमा आरक्षण एवं महिलाको लागि ५० प्रतिशत आरक्षण व्यवस्था समेत गरेको उल्लेख गरे।  

युवा संघ अध्यक्ष एवं मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका कार्यकारिणी  सदस्य सुशिला श्रेष्ठ, राजनीतिक समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्र यादव, राजनीतिक समिति सदस्य लालकिशोर साह, प्रदेश सभा सदस्य राम अशिष यादव, अशोक यादव सहितका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए। बुधबारसम्म चल्ने भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ।

प्रकाशित: ३१ श्रावण २०७९ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App