७ वैशाख २०८१ शुक्रबार
राजनीति

जित सुनिश्चितताका लागि माओवादी रोजेँः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताएका छन्।

मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका सदस्य गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताए।

सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने बताए। उनले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए। हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गरे।

उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे। उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे। यस्तै निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे।

केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताएका थिए। राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए।

मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चनाव चिन्ह दिने सहमति गरेको थियो।

प्रकाशित: ३१ श्रावण २०७९ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App