coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आउँदो निर्वाचनका लागि ताप्लेजुङमा नयाँ मतदाता निर्णायक

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङमा नयाँ मतदाता निर्णायक हुने देखिएका छन्। २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भन्दा स्थानीय तहको निर्वाचन २०७९ सम्म आइपुग्दा ११ हजार २ सय ८३ जना मतदाता थपिएका छन्।

स्थानीय तहको निर्वाचनपछि असार १ गतेबाट साउन १९ गतेसम्ममा १ हजार ८० जनाले नाम दर्ता गराएका छन्। बाहिरी जिल्लामा रहेर ताप्लेजुङमा मतदान गर्न पाउने गरी ३ सय ६ जनाले नाम दर्ता गराएको प्रारम्भिक अभिलेख रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यहीबाट नाम दर्ता गराएका र बाहिरी जिल्लाबाट नाम दर्ता गराई ताप्लेजुङबाट मतदान गर्न पाउने गरी नाम दर्ता गराएकाहरुको पूर्ण विवरण एकीन हुन भने बाँकी रहेको छ। स्थानीय तहको निर्वाचनपछि कति मतदाता थपिए भन्ने कुराको प्रारम्भिक चरणको विवरण भदौ ७ गतेसम्ममा आउन सक्ने जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए।

२०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा यहाँ ७८ हजार ३ सय ९७ मतदाता थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सम्ममा ८९ हजार ६ सय ८० मतदाता कायम भएका छन्। २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनमार्फत चुनावी समीकरणमा उत्रिँदा नेपाली काँग्रेसले एक्लै चुनाव लडेको थियो। प्रतिनिधिको १ तथा प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेको यहाँ उतिबेला प्रत्यक्षतर्फ बाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए।

२०७४ सालको चुनावी नतिजा अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई २९ हजार ४ सय ७९ मतका साथ विजयी भएका थिए। उनका निकटत प्रतिद्वन्द्वी काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत ल्याएका थिए। दाहाल पछिको सबैभन्दा बढी मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णुकुमार लिम्बूले ल्याएका थिए।

उनले १ हजार ५ सय ९१ मत ल्याउँदा संघीय समाजवादी फोरमका धनकुमार लिम्बूले ३ सय ९५, नयाँ शक्ति पार्टीका चन्द्रकुमार साँवाले ३ सय ८६, राष्ट्रिय जनमुक्ति पार्टीका आइतराज मावोहाङ लिम्बूले ३ सय २३ र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का डिल्लीराम विष्टले २ सय ४१ मत ल्याएका थिए।

उता प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले २० हजार ७ सय ४०, काँग्रेसको १४ हजार ७ सय ९९, माओवादीको ६ हजार ३ सय ४१ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको २ हजार ९ मत रहेको थियो। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादीसहितको गठबन्धको भोट रहेको एमाले उम्मेदवार र काँग्रेस उम्मेदवारबीच साढे १२ हजार बढी मतान्तर रहेको समानुपातिमतर्फ भने काँग्रेस भन्दा एमालेले ५ हजार ९ सय ४१ मत बढी ल्याएको छ।

प्रतिनिधिसभाकै समानुपातिकतर्फ ६ हजार ३ सय ४१ मत ल्याएको माओवादी र काँग्रेसको समानुपातिक मत जोड्ने हो भने १२ हजार २ सय ८२ हुने देखिन्छ। जबकी प्रत्यक्षतर्फ एमाले उम्मेदवार भट्टराई १२ हजार ५ सय ९१ मतान्तरले विजयी भएका थिए। गठबन्धनको रुप फेरिएको अहिलेको अवस्थामा यहिँ तथ्यले पनि नयाँ मतदाता‘निर्णायक’ हुने देखाउँछ।

उता प्रदेशसभा १ (क) मा प्रत्यक्षतर्फ बाम गठबन्धनका एमाले उम्मेदवार बलबहादुर साम्सोहाङले काँग्रेस उम्मेदवार लिलादेवी बोखिमलाई हराएका थिए। साम्सोहाङले १५ हजार ४ सय १७ मत ल्याउँदा बोखिमले १० हजार ९ सय ७४ मत ल्याएकी थिइन्। उतिबेला प्रत्यक्षतर्फ काँग्रेसपछि सबैभन्दा बढी मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिवी खुदाङले ल्याएका थिए।

उनले ८ सय ६१ मत ल्याउँदा नयाँ शक्तिका मानबहादुर गुरुङले २ सय ६७, संघीय समाजवादी फोरमका भक्तबहादुर ऐङदेनले १ सय ५८, जनमुक्तिा पार्टीका बलबहादुर लिम्बूले १ सय २२ र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का गायत्रीप्रसाद थेबेले ८४ मत ल्याएका थिए।

प्रत्यक्षतर्फ काँग्रेस र बाम गठबन्धन उम्मेदारबीच ४ हजार ४ सय ४३ मतान्तर रहेको उतिबेलाको समानुपातिकतर्फ एमालेले १० हजार ८ सय ११, काँग्रेसले ७ हजार ४ सय ५८, माओवादी केन्द्रले ३ हजार ४ सय ४१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ७ सय ५६, नयाँ शक्ति पार्टीले ५ सय २२ र संघीय समाजवादी फोरमले ३ सय ३८ मत ल्याएका थिए।

समानुपातिकतर्फ अहिले गठबन्धनमा सामेल हुने प्रमुख दुईदल काँग्रेस र माओवादी केन्द्र दुबै जोड्ने हो भने १० हजार ८ सय ९९ हुन आउँछ। एमाले एक्लैले प्रदेशसभातर्फ १० हजार ८ सय ११ मत ल्याएको थियो। ठूलो मतान्तर नदेखिएको यहाँ पनि नयाँ मतदाताको मत प्रकट निर्णायक हुने देखिएको छ।

उता, प्रदेशसभा १ (ख) मा बाम गठबन्धनका माओवादी उम्मेदवार टंक आङबुहाङ १२ हजार १ सय ९८ मत ल्याएर विजयी भएका थिए। अहिले उनी एमालेका केन्द्रीय सदस्य भएका छन्। सो बेला काँग्रेस उम्मेदवार दीपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८३ मत ल्याए। उनीपछि सबैभन्दा बढी मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बूले ल्याएका थिए।

मुक्सामले ६ सय ९६ मत ल्याउँदा जन समाजवादी पार्टी नेपालका कृष्णबहादुर लिम्बूले ३ सय ६१, संघीय समाजवादी फोरम नेपालका सुखवीर लिम्बूले २ सय ३८, जनमुक्ति पार्टीका यामकुमार आङबुहाङले २ सय २२, नयाँ शक्ति पार्टीका बिशाल लिम्बूले १ सय ६ र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सपना सामेखामले ८३ मत ल्याएकी थिइन्।

प्रदेशसभा १ (ख) कै समानुपातिकतर्फ एमालेले ८ हजार ३ सय ८, काँग्रेसले ६ हजार १ सय ५५, माओवादीले २ हजार ८ सय ९७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ८ सय ५३, जनमुक्ति पार्टीले २ सय ७१ र संघीय समाजवादी फोरमले १ सय ८४ मत ल्याएका थिए।

बाम गठबन्धन र काँग्रेस उम्मेदवारबीच प्रत्यक्षतर्फ ४ हजार ६ सय ११ मतको अन्तर रहेकोमा अहिले गठबन्धनमा रहेका काँग्रेस र माओवादीको समानुपातिकतर्फ प्राप्त मत जोड्दा ९ हजार ९३ मत हुन आउँछ। जबकी एमाले एक्लैले प्राप्त गरेको समानुपातिकतर्फको मत ८ हजार ८ सय ३ रहेको छ। यो ज्यादै प्रतिस्पर्धात्मक मत हो।

प्रकाशित: ३१ श्रावण २०७९ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App