coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनी कांग्रेसले ५२ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने

कांग्रेसको प्रदेश समितिको बैठकमा सहभागी नेताहरु।

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीमा जुटेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले चुनावी माहोल निर्माण गर्न पार्टी प्रतिनिधि परिचालन गर्ने भएको छ।

प्रदेश समितिको बैठकले प्रदेशका ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको चुनावी माहोल निर्माण गर्न तथा पार्टीको अवस्था एकिन गर्न प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ। प्रत्येक प्रदेशसभा क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको लुम्बिनी कांग्रेसले ती प्रदेश क्षेत्रमा अहिले पार्टीको सांगठनिक अवस्थाका बारेमा बुझ्ने भएको हो।

‘प्रदेशका ५२ प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको अवस्था कस्तो छ भनेर एकिन रिपोर्ट संकलनका लागि प्रतिनिधि खटाउने निर्णय भएको छ,’ लुम्बिनी प्रदेश कांग्रेसका प्रवक्ता प्रचण्ड न्यौपानेले भने ‘हाम्रो पार्टीको अहिलेको एकिन पोजिशन थाहा पाएपछि चुनावमा प्रस्तुत हुने आधार तय हुन्छ।’ कांग्रेसको सांगठनिक अवस्थासंगै कुन प्रदेश क्षेत्रमा गठबन्धनका कुन दलको उम्मेदवार बनाउने भन्ने निक्र्यौल गर्नका लागि पनि प्रतिनिधि परिचालनले सहज बनाउने न्यौपानेले बताए। ‘गठबन्धन मार्फत चुनावमा जाँदा कुन प्रदेशसभा क्षेत्रमा कुन दलको हैसियत के छ,त्यसको पनि एकिन रिपोर्ट तयार पारिने छ,’ प्रवक्ता न्यौपानेले भने ‘गठबन्धनमा आवद्ध दलहरुको अवस्था एकिन भएपछि कुन प्रदेश क्षेत्रमा कुन दलको उम्मेदवार चयन गर्ने भन्ने सहज हुने छ।’ लुम्बिनी प्रदेश कांग्रेस स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम र अहिलेको दलको अवस्थालाई हेरेर गठबन्धनका उम्मेदवार चयन गरिनुपर्ने निष्कर्षमा पुगिसकेको छ।

प्रदेशका ५२ प्रदेश सभा निर्वाचन क्षेत्रमा खटिने परिचालनले आगामी भदौको तेस्रो साता सम्म पार्टीको क्षेत्रगत अवस्थाका बारेमा पार्टीको प्रदेश समितिलाई प्रतिवेदन बुझाउने छन्। प्रतिनिधिहरु मार्फत प्राप्त प्रतिवेदनका आधारमा उम्मेदवार चयनको आधार निक्र्यौल गर्दै कांग्रेस प्रदेश समितिले कुन प्रदेश क्षेत्रमा आफ्नो र कुन प्रदेश क्षेत्रमा गठबन्धनका अन्य दलका उम्मेदवारलाई टिकट दिने भनेर पार्टी केन्द्रलाई राय दिने छ। ‘प्रदेश निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरुले पार्टीको अवस्थाका बारेमा एकिन रिपोर्ट प्रदेश समितिलाई बुझाएपछि प्रदेश समितिले गठबन्धनका तर्फबाट उम्मेदवार चयनको आधार तयार हुने छ,’ प्रवक्ता न्यौपानेले भने ‘कुन क्षेत्रमा कुन दलको शक्ति ठूलो देखिन्छ, सोही आधारमा उम्मेदवार चयन गर्नका लागि प्रदेश समितिले पार्टी केन्द्रलाई सुझाव दिने छ।’

यसैगरी कांग्रेस प्रदेश समितिले गत स्थानीय तहको निर्वाचनमा भएको चुनावी गठबन्धन उपलब्धी मूलक भएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा पनि वर्तमान गठबन्धनलाई कायम गरिनु पर्ने निष्कर्ष पनि निकालेको छ। कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणामलाई आफ्नो अपेक्षाकृत नतिजा भनेको छ। ‘हाम्रो प्रदेशमा स्थानीय तहको निर्वाचनमा भएको गठबन्धन सफल भयो,’ प्रवक्ता न्यौपाने भन्छन् ‘फलतः आगामी निर्वाचनमा पनि गठबन्धनलाई प्रदेशको सम्पूर्ण भूगोलमा कार्यान्वयन गरिनु पर्नेमा कांग्रेस निष्कर्षमा पुगेको छ।’  

यसैगरी कांग्रेस प्रदेश समितिले १२ वटा बिभाग थप गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता न्यौपानेका अनुसार बिधानमा तोकिए भन्दा १२ वटा बिभाग थप गर्ने निर्णय भएको छ। पार्टी बिधान अनुसार प्रदेशमा २१ वटा बिभाग गठन गर्नुपर्ने हुन्छ। 

प्रकाशित: ३० श्रावण २०७९ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App