९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

खड्का–वाङ भेटवार्ता

फाइल तस्बिर

तीन दिवसीय चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट भएको छ।

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङको निमन्त्रणामा खड्का चीन भ्रमणमा गएका हुन्। खड्का र वाङबीच क्विनदाओमा भेट भएको हो। भेटमा दुई समकक्षीबीच सौहार्दपूर्ण र फलदायी कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई नेताबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी चासो र सहयोगका क्षेत्रलाई प्रवद्र्धन गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

अमेरिकी सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका कारण चीन र ताइवानबीच तनाव बढिरहेका बेला मन्त्री खड्काको चीन भ्रमण भएको हो। नेपालले गत शुक्रबार ताइवानका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सदैव एक चीन नीतिको समर्थन गर्दै आएको जनाएको थियो।

चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ। ताइवानमा अमेरिकी प्रतिनिधिसभाकी सभामुख पेलोसीले भ्रमण गरेपछि आक्रोशित बनिरहेको चीनले एक चीन नीतिमा विश्वभरबाट समर्थन खोजिरहेको छ।

मन्त्री खड्काको भ्रमणमा अन्य कुनै महत्वपूर्ण कार्यक्रम तय नहुनुले पनि उनी एक चीन नीतिमा प्रतिबद्धता जनाउन चीन गएको कतिपयको बुझाइ छ। पेलोसीको ताइवान भ्रमणपछि नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले विज्ञप्ति जारी गर्दै नेपाल एक चीन नीतिप्रति दृढ रहने अपेक्षा व्यक्त गरेकी थिइन्।

प्रकाशित: २६ श्रावण २०७९ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App