८ वैशाख २०८१ शनिबार
राजनीति

गाडी तोडफोड हुनु फोहोर व्यवस्थापन निष्कर्षमा पुग्न नदिन गरिएको चलखेल: मेयर शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गएराति काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड हुनुमा फोहोर व्यवस्थापन हुन नदिने चलखेल भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड हुनु फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेल भएकाे बताएका हुन्।

बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहोर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको थियाे।

उनले कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको उल्लेख गर्दै कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गरिने समेत बताएका छन्।

उनले लेखेका छन्,  फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ। यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ। केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन। विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ।'

लामो समयदेखि थुप्रिएर रहेको फोहोर महानगरपािलकाले केही दिन अघिबाट फोहोर उठाउन थालेको थियो। तर बञ्चरेडाँडाका स्थानीयले निरन्तर अवरोध गर्दै आएका थिए। गएराति भने फोहोरको गाडिमाथि नै अज्ञात समूहले तोडफोड गरेको हो।

प्रकाशित: २४ श्रावण २०७९ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App