६ वैशाख २०८१ बिहीबार
राजनीति

'अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्'

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दावी गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानवीन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकीर समेत गरे। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिवनै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनि प्रश्न गरे। 

कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरु हानाथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए। 

उनले भने, ‘अस्ती सार्वजनिक समाचार माध्याममा एउटा समाचार आएपछि मुलुकको राज्य प्रणाली, मुलुकको प्रशासन संयन्त्र र यो प्रशासन संयन्त्रलाई सरकारले कसरी चलाउन चाहिरहेको छ भन्नेबारेमा केही गम्भिर प्रश्नहरु उठे। त्यो सन्दर्भ थियो–अर्थ मन्त्रालयमा अर्थ सचिव भएर जान कोही पनि तयार भईरहेका छैनन्। र, अहिले राजस्व सचिवको रुपमा भूमिका निर्वाह गरिरहनु भएका सचिवलाई नै अर्थ सचिवको जिम्मेवारी पनि दिइएको छ। कुनै बेला अर्थ मन्त्रालयले सरकारको सबैभन्दा राम्रो मन्त्रालय मानिन्थ्यो। र, त्यहाँ सचिवहरु जानका लागि हानाथाप जस्तै हुन्थ्यो। तर, आज यो सरकारको कतिपय क्रियाकलापहरुले त्यहाँ काम गरिरहेका सचिवहरु सरुवा माग्ने, अरु कर्मचारीहरु त्यहाँ बस्न नचाहने यो स्थिति सृजना भएको छ।'

उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पारे।

प्रकाशित: २२ श्रावण २०७९ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App