११ आश्विन २०७९ मंगलबार
राजनीति

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

‘मैले ग्रास रुटदेखि नम्बर टु भएर काम गरेको छु। अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन। मलाई कुनै कुराको लोभ छैन। नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु।’ यो भनाइ हो, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको।  

सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिहंले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन्। सरकारको उपप्रधानमन्त्रीदेखि पार्टी उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरे। तर पार्टी नेतृत्वमा पुग्न असफल भए पनि काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य रहेका सिंहले आगामी निर्वाचनबाट फेरि अनुमोदित हुँदै प्रधानमन्त्री बनेर देश र जनताको पक्षमा निःस्वार्थ रूपमा काम गर्ने बताएका हुन्। जनप्रतिनिधिका रूपमा आफूले धेरै काम गरेको बताएका सिंहमा आगामी निर्वाचनबाट जनअनुमोदित नहुने पो हो कि भन्ने भय पनि देखिन्छ। आफूले जनप्रतिनिधिका रूपमा गर्नुपर्ने धेरै काम गरे पनि अनावश्यक प्रचार गरेर नहिँडेको भन्दै उनले थपे, ‘हुन त अहिले हाम्रो चुनावी परिणाम हेर्दा बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान साबित भएजस्तो लाग्छ।’

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा झिनो मतान्तरले मात्र सिंह निर्वाचित भएका थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत पनि कांग्रेसको केही सयले मात्र धेरै देखिन्छ। कांग्रेसभित्र मौलाएको गुटगत विवाद त छ नै, आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भयो भने वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्दा परिणाम सिंहको पक्षमा देखिन्न।

त्यसमाथि प्रधानमन्त्री चयनमा संविधान र संसदीय प्रक्रियाअनुसार छुट्टै व्यवस्था छ। तर नेता सिंहसहित कांग्रेस नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन नभएर प्रधानमन्त्रीकै चुनावको मिति घोषणा भएजस्तो गर्दै एकपछि अर्को प्रधानमन्त्रीका आकांक्षी देखिन थालेका छन्। प्रधानमन्त्रीको आकांक्षीका रूपमा देखिनेमा कांग्रेस महामन्त्री गगनकुमार थापा पनि छन्। थापाले पार्टीका पहिलो तहका नेताले आगामी निर्वाचनमा बिदा लिएर सरकार र पार्टी नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन्।  

२०६४ सालको संविधानसभा निर्वाचनपछि काठमाडौं र पछि काठमाडौं–४ का जनप्रतिनिधिका रूपमा काम गरेका थापाले आगामी निर्वाचनपछि प्रधानमन्त्रीका लागि आँट गर्ने बताउँदै पार्टीभित्र छलफल भइरहेको दाबी गरे। ‘मैले प्रतिनिधिसभा सदस्य र मन्त्रीका रूपमा अनुभव लिएँ। यो अनुभवले मलाई नेतृत्व लिन सघाउँछ भन्ने लागेको छ। अब पहिलो तहका नेताले सम्मानजनक बहिर्गमन खोज्नुपर्छ भनेर पार्टीभित्र बहस पनि सुरु भएको छ,’ राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा थापाले भने, ‘पछिल्लो पुस्ताले नेतृत्व लिनेबारे पार्टीभित्र एक तहसम्म छलफल पनि गरिसकेको छु।’  

थापाले पार्टीका कुनकुन तहका नेतासँग छलफल गरेको भन्ने खुलाएनन् तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्री बनाउन आफू प्रस्तावक बन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्। राजनीतिमा लागेका हरेक व्यक्तिले मुलुकको कार्यकारी प्रमुख वा राष्ट्रप्रमुख बन्ने चाहना राख्नु अस्वाभाविक होइन। त्यसमा पनि सम्भावना बोकेका दुई युवा नेतामध्ये एक प्रधानमन्त्रीका लागि तयार हुनु र अर्को प्रस्तावक बन्नुलाई सकारात्मक रूपमा हेरिएको छ।  

तर वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने थापाको काठमाडौं–४ र शर्माको झापा–१ मा कांग्रेसको मत कम छ। काठमाडौं–४ बाट थापाको उम्मेदवारी सुनिश्चित रहे पनि झापा–१ मा शर्माको उम्मेदवारी अझै निश्चित छैन। अघिल्लो निर्वाचनमा त्यहाँबाट माओवादी नेता राम कार्की निर्वाचित भएका थिए। अहिलेको पाँच दलीय गठबन्धन कायमै रहे पनि एमाले र राप्रपाबीच चुनावी तालमेल भएको खण्डमा विपक्ष गठबन्धन स्थानीय तह निर्वाचन परिणामका आधारमा दुवै क्षेत्रमा अघि देखिन्छन्। थापाको क्षेत्रमा विपक्षी केही सयले अघि देखिए पनि शर्मा उम्मेदवार हुने भनिएको झापा–१ को अन्तर त्योभन्दा धेरै छ।  

त्यसो त प्रधानमन्त्री बन्न वा प्रस्तावक, समर्थक बस्न प्रतिनिधिसभा सदस्य भएर मात्र पनि पुग्दैन। पार्टीभित्र संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने त छ नै, साथै संविधानको धारा ७६ (१) अनुसार सरकार गठनका लागि पार्टीले बहुमत ल्याउनुपर्छ, होइन भने ७६ (२) अनुसारको सरकार गठनका लागि संसद्मा रहेका दलको पनि विश्वास जित्नुपर्ने हुन्छ। यी नेताद्वय सिंह र थापा मात्र होइन, प्रधानमन्त्रीको लाइनमा नेता रामचन्द्र पौडेल पनि छन्। तर प्रधानमन्त्रीका आकांक्षी नेतालाई पहिला त प्रतिनिधिसभा सदस्य निर्वाचन जित्नु छ र संसदीय दलको नेतामा निर्वाचित हुनुका साथै संसद्मा बहुमत सिद्ध गर्नुपर्ने चुनौती पनि छ।  

नेता पौडेलले २०७४ सालकै निर्वाचनमा आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए। तर एमाले र माओवादी केन्द्रको चुनावी तालमेल हुँदा उनी प्रतिनिधिसभा सदस्यमै पराजित भए। पार्टी नेतृत्वका लागि १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गर्नबाट विमुख भएपछि निकटहरूसँग असन्तुष्ट पौडेल आगामी निर्वाचनपछि प्रधानमन्त्री वा राष्ट्रपतिका रूपमा पार्टीले अघि सार्ने आशामा छन्। महाधिवेशनमा कतै नखुलेका पौडेलले देउवाको सहयोगमा जीवनको उत्तराद्र्धमा प्रधानमन्त्री वा राष्ट्रपतिको जिम्मेवारीमा पुग्ने चाहना राख्दै आएका छन्। तर सार्वजनिक रूपमा त्यस विषयमा केही नबोलेका पौडेल तनहुँ–१ बाट फेरि उम्मेदवार बन्ने तयारीमा छन्। निकटहरूले समानुपातिकमा बस्न सुझाउँदै आए पनि पौडेल त्यसका लागि तयार देखिएका छैनन्।  

छाया सभापतिकै भूमिकामा रहेका उपसभापति पूर्णबहादुर खड्का पनि आगामी निर्वाचनपछि शेरबहादुर देउवाको स्थान आफू लिने रणनीतिमा छन्। पार्टीभित्रको निर्णय प्रक्रियामा हाबी खड्का लामो समयदेखि सरकारमा सहभागी भएका छैनन्। देउवाइतर समूहको नेतृत्व गर्दै १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गरेका शेखर कोइरालाले पनि आफूलाई प्रधानमन्त्रीकै रूपमा प्रस्तुत गर्नेछन्। पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र कृष्णप्रसाद सिटौला पनि मौका पर्दा आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने पक्षमा छन्। तर पार्टीको सम्पन्न १४औं महाधिवेशनबाट शक्तिशाली सभापतिका रूपमा उदाएका शेरबहादुर देउवाको चाहना भने आगामी निर्वाचनपछि पनि आफैं प्रधानमन्त्री बन्ने देखिन्छ। आफूलाई ‘ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छस्’ भनेको अहिले पनि बेलाबेलामा सुनाउने गरेका देउवाले आगामी निर्वाचनपछि पनि प्रधानमन्त्रीका रूपमा आफूलाई नै अघि सार्ने निकटहरूको बुझाइ छ।

प्रकाशित: २२ श्रावण २०७९ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App