८ वैशाख २०८१ शनिबार
राजनीति

कारण नबताई एमालेको बहिष्कारपछि धरानको कार्यपालिका बैठक स्थगित

शुक्रबार भएको धरानको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा।तस्बिर: रोहित राई

नेकपा एमालेबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि धरानको कार्यपालिका बैठक स्थगित भएको छ।  

नयाँ प्रमुख प्रशासकीय अधिकृतसँगको परिचयात्मक कार्यक्रम लगत्तै एमालेका कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बैठक छोडेर हिँडेका थिए। वडा नं १५ का वडाअध्यक्ष तथा एमाले संसदीय दलका नेता नरेश इवारमले कारण नबताई बैठक स्थगित गर्न आग्रह गरेका थिए। मेयर हर्क साम्पाङले बैठक रोक्नुको कारण बताउन आग्रह गरेपनि कारण नबताई एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु बाहिरिएका थिए।  

एमालेले बहिष्कार गरेपछि आवश्यक कोरम नपुग्ने भएकोले एजेण्डामा प्रवेश नगरी बैठक स्थगित भएको थियो। यद्यपी, माओवादी केन्द्रबाट निवार्चित वडा १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज) र कांग्रेसबाट निवार्चित वडा १६ का अध्यक्ष मुरारी भटट्राईले मन्तव्य राखेका थिए। उनीहरुले बराह सहकारीसँगको घटना र सामाजिक सञ्जालमा भइरहेको सामाजिक सद्भाव भड्काउने गतिविधिहरुप्रति गम्भीर हुन सबै पक्षलाई आग्रह गरेका थिए। साथै उनीहरुले कारण नबताई बैठक बहिष्कार गरिएकोमा असन्तुष्टी पनि प्रकट गरे।

मेयर साम्पाङले पनि बराह सहकारी र सामाजिक सञ्जालसँगको विषय कार्यपालिकासँग सम्बन्धित नभएको भन्दै महत्वपूर्ण एजेण्डाहरु निर्णय नहुँदा जनताकै समस्या लम्बिने बताए। उनले आफूले बराह सहकारीका पीडितहरुलाई न्याय दिलाउने पक्षमा भएपनि केही व्यक्तिहरुले राजनीतिकरण गरेर न्याय नपाओस् भनेर विथोल्न खोजिरहेको बताए। साथै उनले आफू सामाजिक सद्भाव कायम गर्ने पक्षमा नै रहेको जिकिर गरे।  

उपमेयर अइन्द्रबिक्रम बेघाले पनि बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुले किन बहिष्कार गरेको हो भन्ने बैठकमा जानकारी नदिनु दुःखद पक्ष भएको बताए। उनले बैठक शुरु हुनुअघि पनि समन्वयको प्रयास भएको जानकारी दिँदै बराह सहकारी, सामाजिक सञ्जालको बिषय हो भने कार्यपालिका बैठक नै बहिष्कार गर्नुपर्ने अवस्था नभएको बताए। उपमेयर बेघाका अुनसार बैठकमा दररेट तोक्ने, सडक मापदण्ड र नामकारणबारे, संस्थागत विद्यालयहरुको कक्षा अपग्रेड गर्ने लगायत महत्वपूर्ण एजेण्डाहरु प्रस्ताव गरिएको थियो। केही दिनयता धरानका मेयर साम्पाङ र एमालेबीच टकराव भइरहेको छ। त्यही विषयमा बैठक बहिष्कार गरिएको अनुमान गरिएको छ। 

प्रकाशित: २० श्रावण २०७९ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App