राष्ट्रिय सभाकी सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु नहुने बताएकी छन्।
बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा विधेयक सम्बन्धी छलफलका क्रममा बोल्दै उनले सुत्केरीहरुलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताइन्। युवाहरुलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उनले जोड दिइन्।
उनले भनिन्, ‘कारागारका भौतिक संरचनाहरु राम्रा छैनन्। पानी चुहिने अवस्था छ। बन्दीहरुलाई क्षमताभन्दा बढी राख्ने गरिएको छ। कारागारमा राख्ने अपराधीहरुको स्थानहरु जुन उमेर छ, उमेरको हिसाबले छुट गर्ने व्यवस्था गरिएको छ। खासगरी यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिइनु हुँदैन। थुनामा राख्ने र कारागारमा राख्ने बन्दी एकै ठाउँमा राख्ने गरिएको छ, यो गरिनुहुन्न। कारागारमा भएका महिलाहरु सुत्केरी भएमा उनीहरुले बाहिर बसेर स्याहार गर्नसक्ने ३० दिनका लागि भनिएको छ। उनीहरुलाई ९० दिन दिनुपर्छ संवेदनशिलताको आधारमा पनि। बच्चाहरुलाई शिक्षा, दिक्षा र संरक्षण राज्यले गर्नुपर्छ। कारागारका बन्दीहरुको सीप, अध्ययनको कुराहरुलाई व्यवस्थित गरिनुपर्छ। मनोविमर्श तालिमको व्यवस्था गरिनुपर्छ। कारागार भित्र रहेको निश्चित उमेरका युवा समूहलाई काममा लगाउनुपर्छ। राज्यका सम्पती उनीहरुलाई खुवाउने र उनीहरुको व्यवस्थापनमा खर्च भइरहेको छ। उनीहरुलाई श्रम शिविरमा लिएर श्रममा लगाउनुपर्छ।’
प्रकाशित: १२ श्रावण २०७९ ०८:५९ बिहीबार