coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहको सर्वेक्षण: एमाले–माओवादीलाई प्रत्यक्षतर्फ १४५ सिट !

फाइल तस्बिर

संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको छ। सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो। गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक अध्ययनअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा गए कसैको पनि बहुमत नआउने देखिएको छ।

गृह मन्त्रालयले हरेक क्षेत्रमा आफ्नो संयन्त्र लगाएर गरेको सर्वेक्षणअनुसार अहिलेको परिस्थितिमा एक्लाएक्लै निर्वाचमा गए कांग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ। त्यसैगरी एमालेले ७० सिट र माओवादीले आठ सिट, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एक सिट, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एक सिट र जनता समाजवादी पार्टी (जसपा) ले चार सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दुई सिट जित्ने रिपोर्ट निकालिएको छ। सो रिपोर्ट गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेका थिए। यसमा दुई सिट खाली राखिएका छन्। ‘अहिलेको परिस्थितिमा मन्त्रालयका सबै निकाय परिचालन गरेर तयार पारेको रिपोर्ट हो। यो रिपोर्ट तयार पार्दा स्थानीय तहमा आएको परिणामभन्दा फरक देखिएको छ। स्थानीय तहमा कसले कता मत हाल्दा के प्रभाव परेको थियो, संघीय निर्वाचनमा यसको के प्रभाव पर्छ भनेर समेत अध्ययन गरिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने।

मन्त्रालयले तयार पारेको सो रिपोर्टअनुसार ७७ स्थानमा जित निकाल्ने कांग्रेस ७९ स्थानमा दोस्रो हुने, सात स्थानमा तेस्रो र एक स्थानमा चौथो हुने निष्कर्ष निकालिएको छ। त्यसैगरी ७० सिट जित्ने एमाले ६६ स्थानमा दोस्रो, २२ स्थानमा तेस्रो, चार स्थानमा चौथो, दुई स्थानमा पाँचौं र एक स्थानमा छैटांै हुने उल्लेख छ। त्यसैगरी आठ स्थान जित्ने भनिएको माओवादी १० स्थानमा दोस्रो, ८३ स्थानमा तेस्रो, २९ स्थानमा चौथो, २३ स्थानमा पाँचौं, १९ स्थानमा पाँचौं हुने बताइएको छ।

मन्त्रालयले यसका अलावा अर्को रिपोर्ट पनि बनाएको छ। सो रिपोर्टअनुसार माओवादी जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ। एमाले र माओवादी मात्रै गठबन्धन गरेर निर्वाचनमा गए करिब दुई तिहाइ बहुमतको तथ्यांक देखिएको छ। एमाले र माओवादी मात्रै मिलेर निर्वाचनमा गए १४५ सिट आउने तथ्यांक रिपोर्टमा आएको छ। ती दुई दल मिले प्रदेशसभामा २६८ सिट आउने देखिएको छ। कांग्रेस र माओवादीको गठबन्धन भए १०९ सिट र प्रदेशसभामा २१९ सिट आउने रिपोर्ट पेस गरिएको छ। कांग्रेस एक्लै र अन्य पार्टीहरू (एमाले र माओवादी) को गठबन्धन भए कांग्रेस २० सिटमा खुम्चिने रिपोर्ट निकालिएको छ। यस्तै एमाले र नेकपा एस मिले ५६ सिट ल्याउने उल्लेख गरिएको छ। ‘मन्त्रालयको स्रोतको प्रयोग गरिए पनि केही स्थानमा स्पष्ट तस्बिर आएको छैन, सहरमा केही मतदाता तलमाथि हुन सक्छन् तर सम्भावना भने कांग्रेस र एमालेकै हो,’ मन्त्रालय स्रोतले भन्यो।

देशभरको शान्तिसुरक्षाको जिम्मा पाएको गृह मन्त्रालयले समेत आन्तरिक रूपमा प्रहरी प्रशासन, गुप्तचर निकायलगायतलाई प्रयोग गरेर पनि आन्तरिक सर्वेक्षणमा देशभर एमाले नै बलियो रहेको देखिएको छ। सबैतिर एमालेको संगठन बलियो रहेको पनि मन्त्रालय स्रोतले जनाएको छ। तराईमा बाहेक अन्यतिर एमाले बलियो देखिएको पनि स्रोतको भनाइ छ।

एमाले र नेकपा एस मिले एमालेको सिट संख्या अझै बढ्ने मन्त्रालय स्रोतले जनाएको छ। ‘एमाले विभाजन नभएको भए कांग्रेसभन्दा निकै बलियो देखिएको छ। यो सर्वेक्षणमा पनि कांग्रेसभन्दा एमाले सात सिट मात्रै कमजोर देखिएको छ। तराईमा राम्रो संगठन भएको भए कांग्रेसभन्दा एमाले बलियो बन्ने सम्भावना छ,’ मन्त्रालय स्रोतले भन्यो।  

‘एमालेभन्दा जम्मा सात सिटले अगाडि रहेको कांग्रेसको पनि बहुमत पुग्दैन। एमालेको पनि बहुमत पुग्दैन। यसो हुँदा सत्ताको चाबी फेरि पनि तेस्रो हुने दलसँग जानेछ,’ मन्त्रालय स्रोतले भन्यो। माओवादी भने कांग्रेससँग जसरी पनि बढी सिटमा गठबन्धन गर्ने दाउमा छ। 

पछिल्लोपटक माओवादी, नेकपा एस, जसपा बाबुराम भट्टराई पक्ष र एमालेका पूर्वनेता वामदेव गौतमले एमालेबाहेकमो समाजवादी केन्द्र बनाएर अघि बढ्ने योजना बनाइरहेका छन्। यस्तो बेलामा गृहमन्त्री खाणले कांग्रेस केन्द्रीय समितिमा पेस गरेको गृहको रिपोर्टले माओवादी र कांग्रेसको गठबन्धनलाई उत्साही बनाएको छ। तर नेकपा एकीकृत समाजवादीले एक सिट मात्रै जित्ने रिपोर्ट निकालेपछि कांग्रेसलाई सो पार्टीको आवश्यकता नभएको आभास गराइएको छ। 

सो रिपोर्ट आइसकेपछि पछिल्लोपटक सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको मात्रै भर नपर्ने बताएका छन्। स्थायी तहबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण भेलामा अध्यक्ष नेपालले गठबन्धनको मात्रै गीत गाएर संगठन नबन्ने र आफ्नै खुट्टामा उभिनुपर्ने धारणा राखेका थिए।

प्रकाशित: १० श्रावण २०७९ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App