१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रचण्ड प्रधानमन्त्री बन्न देश-विदेश दौडाहामा छन्ः शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन्।

१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो। बुधबार काठमाडौँमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्क समेत गरे।

महासचिव पोखरेलले भने, ‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन। आज के देखिन्छ–तेस्रो/चौंथो पार्टी प्रधानमन्त्री खोज्न हिडिराखेको, भौतारीराखेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामथ्र्य राख्दैन। प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ। यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ। जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन। लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने प्रणाली हो। हो यहीँ मान्यताको पैरवी गरिएको हो।’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए। उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेकोभन्दै आपत्ति समेत जनाए।

महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्ता समेत व्यक्त गरे। महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उनी स्वमय्ले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक पटक दोहोर्‍याए।

प्रकाशित: ४ श्रावण २०७९ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App