८ वैशाख २०८१ शनिबार
राजनीति

विभाजनको एक वर्षपछि पार्टी एकता प्रस्ताव

एक वर्षअघि मात्रै विभाजित भएका कम्युनिस्ट नेताहरूले पार्टी एकताको प्रस्ताव गरेका छन्। शनिबार एउटै मञ्चमा उभिएर नेताहरूले पार्टी एकताको वा वाम गठबन्धनको प्रस्ताव गरेका हुन्। २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गरेर नेकपा बनाएका थिए। त्यसको तीन वर्षपछि २०७७ फागुनमा २३ मा सर्वोच्च अदालतल दुवै पार्टीलाई अलगअलग रहन आदेश दिएपछि छुट्टाछुट्टै पार्टीका रूपमा रहेका एमाले र माओवादीका नेताहरूले शनिबार एउटै मञ्च प्रयोग गर्दै पार्टी एकता वा आउदो निर्वाचनमा वाम गठबन्धनको प्रस्ताव गरेका हुन्।

शनिबार नेपाल–चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संघ र प्रदेशको निर्वाचनमा तालमेल र पार्टी एकताको प्रस्ताव गरेका थिए। ओलीभन्दा अघि बोल्ने पालोमा रहेका माओवादी नेता श्रेष्ठले नेपालमा देशभक्तिपूर्ण आन्दोलनको अझै आवश्यकता रहेको दोहोर्‍याउँदै सो धारणा राखेका थिए। तर ओलीले सो विषयमा श्रेष्ठको जबाफ फर्काउँदै विचार नमिल्ने पार्टीमा नबस्दा उपयुक्त हुने आशय व्यक्त गरेका थिए। श्रेष्ठले ओलीलाई संघ र प्रदेशको निर्वाचनमा तालमेल र पार्टी एकताको प्रस्ताव गरेपछि ओलीले जबाफको क्रममा विचार नमिल्ने पार्टीमा किन बस्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।  

शनिबार पनि श्रेष्ठले वामशक्ति विभाजित हुँदा सबै कम्युनिस्टहरू आपसमा लडेरै सकिने र त्यसले देशभक्तिको आन्दोलन कमजोर बन्दा मुलुक नै सकिने अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षण गराएका थिए।

उनले अप्रत्यक्ष रूपमा एमालेमै आउन आग्रह गरेका थिए। ‘विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरू? विचार मिल्दैन भने पार्टी मिल्दैन, पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि!’ ओलीले भनेका थिए। ओली एकता वा गठबन्धन गर्ने भए कांग्रेसको पुच्छर छाडेर आउन आग्रह गरेका थिए। ‘कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपिपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु। चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मद्दा हाल्न गएको होइन वामपन्थी? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसद्बाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी?,’ ओलीले थप प्रश्न गरेका थिए। उनले आफ्नो विचार पार्टीमा पुर्‍याउन पनि आग्रह गरेका थिए। उनले साइनबोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने भन्दै गठबन्धन गर्ने भए कांग्रेसको पुच्छर हुन त्याग्नु पर्ने बताएका थिए। उनले कीर्तिनीधि विष्टलाई जस्तै राष्ट्रवादीहरूलाई नेपालमा सरकारबाट हटाउने शक्ति क्रियाशील रहेको बताएका थिए।  

श्रेष्ठले एक महिनाअघि ओलीसँग भेटघाट गरेर वाम तालमेलको कुरा गरेका थिए। शनिबार पनि वामशक्ति विभाजित हुँदा सबै कम्युनिस्टहरू आपसमा लडेरै सकिने र त्यसले देशभक्तिको आन्दोलन कमजोर बन्दा मुलुक नै सकिने अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा ओलीसमक्ष संघ र प्रदेशको निर्वाचनमा तालमेल र एकताको प्रस्ताव राखेका थिए। ‘नेपालमा देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामशक्ति हुन्, विभाजन र चिराचिराको स्थिति छाडिदिने हो भने दुईतिहाइ शक्ति छन् त्यसैले अब सबै वामशक्ति एकताबद्ध भएर देशभक्तिको आन्दोलन अगाडि बढाउनुपर्छ। तर, एकअर्कालाई सिध्याउने मेसो चलाउँदा हामी आफैं सिद्धिने मेसोतिर त लागिरहेको छौं,’ श्रेष्ठले ओलीतिर फर्केर भने, ‘नेपालको सन्दर्भमा वामपन्थी आन्दोलन कमजोर भए देश सकिन्छ। त्यसैले वाम शक्तिबीच पहिले तालमेल र मोर्चा त्यसपछि अर्को दिशातिर (पार्टी एकतातिर) जानुपर्ने आवश्यकता पनि हुनसक्छ। यसतर्फ गम्भीरतापूर्वक सोचौं।’ त्यही सार्वजनिक कार्यक्रममा श्रेष्ठले तत्कालीन नेकपाको एकता जोगाउन नसकेकोमा गम्भीर आत्मालोचना गरेका थिए।  

एमाले र माओवादी दुवै पार्टीमा प्रमुख नेताले जे बोले पनि ताली बजाउने, व्यक्ति पूजाको संस्कृति हुर्किरहेको संकेत गर्दै आलोचनात्मक चेतसहित अगाडि बढ्न ध्यानाकर्षण पनि गराएका थिए। ‘तुम सेर तो हम सवासेर हुन छाडिदिऊँ। घटनाक्रमको गम्भीर आत्मसमीक्षा गरौं, गल्ती कमजोरीको आत्मालोचना गरौँ। म त पार्टी एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्छु, अरूले पनि गरून्। एमसिसीमा केके भयो, १९ बुँदे आरोपपत्रले के गर्यो, एसपिपीले के गर्‍यो, सबै घटनाक्रमको समीक्षा गरौं, कमसेकम एकताको आधार बनी हालेन भने पनि तालमेल गरेर अगाडि बढौं,’ श्रेष्ठले भने।  

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादवले भू–राजनीतिले ओलीलाई पूर्वप्रधानमन्त्री बनाइदिएको बताए। ‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो। पूर्वप्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ। म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ। म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनुभएछ। यसमा भू–राजनीतिक प्रभाव पनि छ,’ यादवले भने।  

सोही कार्यक्रममा भू–राजनीतिक अध्येता डा. दिनेश पौडेलले नेपालले हिमालय क्षेत्रको नेतृत्व लिनुपर्ने भन्दै केपी ओली प्रधानमन्त्री हुँदा थालिएको हिमालय क्षेत्रलाई समेट्ने आग्रह गरेका थिए। सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाको नर्थ क्यारोलिना युनिभर्सिटीमा प्राध्यापन गर्ने डा. पौडेलले अब नेपाल हिमालय क्षेत्रको नेता बन्नुपर्ने बताए। ‘तत्कालीन प्रधानमन्त्री (केपी ओली)ले कम्बोडिया, भियतनाम, म्यानमार जस्ता देशको भ्रमण गर्दा हिमालयका साना देशसँगको भाइचारा सम्बन्ध बलियो बनाउनुपर्छ भन्ने सन्देश गयो। हिमालय क्षेत्रका देशहरूलाई संगठित गर्ने ढंगले त्यसको नेतृत्व नेपालले गर्‍यो, हिमालय क्षेत्रको विकासको अवधारणा अघि सार्नुपर्छ र नेपाल हिमालय क्षेत्रको सबैभन्दा ठूलो बसोबास भएको देश भएकाले त्यसको नेतृत्व गर्नुपर्छ,’ पौडेलले भने।

प्रकाशित: १ श्रावण २०७९ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App