८ वैशाख २०८१ शनिबार
राजनीति

सुगौली सन्धिपछि नेपालको परराष्ट्र सम्बन्ध कमजोर भयोः लिङदेन

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन्।

उनले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गरे। पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङदेनले दाबी गरे।

नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढ्न गएको तर्क समेत गरे।

अध्यक्ष लिङदेनले भने, ‘सुगौली सन्धि पछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ भन्ने मलाइ लाग्छ। हस्तक्षेपहरु गोलाबारुद्धको साथमा मात्रै नआउने रहेछ। र, सम्बन्धहरु एक ढंगले मात्रै परिभाषित नहुने रहेछ। हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौंता गर्न तयार हुन्छौं। हस्तक्षेपहरु त आउने नै भयो। विदेशीहरुको समर्थन नलिइकन सत्तामा टिक्न सकिँदैन भन्ने मान्यतालाई बल दिन थाल्यौ भने त्यो त हस्तक्षेप बनेर आउनेनैछ। त्यसकारण सबभन्दा पहिले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भएपनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्दछ। देशभन्दा माथि अर्को कुरा केही छैन।’

थप क्रमश उनले भने, ‘आज पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा जुन प्रकारको अतिक्रमण बढदै गएको छ। त्यसलाई रोक्नका लागि पनि देशका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ। र, मलाई लाग्छ–आज भन्दा २५० वर्ष अगाडि बडामहाराज पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगो बीचको तरुल हो भनेर नेपालको परराष्ट्र नीतिबारे भू राजनीतिक जो संवेदनशीलता हो। उत्तर र दक्षिणका छिमेकहरुको जो अवस्थिति हो। पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई लिने हो भने केवल परराष्ट्र नीतिमात्र होइन।’

त्यस्तै अध्यक्ष लिङदेनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहोर्‍याए।

प्रकाशित: ३२ असार २०७९ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App