८ वैशाख २०८१ शनिबार
राजनीति

'चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता'

चिनियाँ नेता लिउ जियान्चाओको नेपाल भ्रमण

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीहरुले चिनकाविरुद्ध नेपालको भू-भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताए। उनले विदेश विभाग प्रमुख जियान्चाओको भ्रमण सो कुरा जायर गर्नका लागि भएको बताए।

उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चिनकाविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताए। खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चिनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए। यो भ्रमणसँगै नेपाल र चीनबिचको आगामी सम्बन्ध अझ राम्रो हुने उनले उल्लेख गरे।

यस्तै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयहरुका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताए। उनले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदिक्षा रहेको भन्दै पछिल्ला निर्णयहरुका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता चीनमा रहेको बताए। उनले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीहरु एकै ठाउँमा आइदिउन् भन्ने चाहना राख्नु स्वभाविक भएको पनि बताए।

नेकपा (एमाले) का नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको बताए। नेपालको भूमि चीनकाविरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशिल देखिएको उनले बताए। त्यसैगरी नेपालमा राजनीतिक स्थायित्व हुनका लागि सबै राजनीतिक दलहरुका बीचमा समझदारी गरेर अगाडी बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीले बताए।

त्यस्तै उनले एशियामा शक्ति राष्ट्रहरुको हस्तक्षेपहरु बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार रहेको उनले उल्लेख गरे।

प्रकाशित: २९ असार २०७९ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App