७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौंका मेयर बालेन शाहसँग ‘प्रणाली’ छैनः बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेन शाहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका छन्।

बिहीबार थेम्स इनटरनेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा उनले व्यक्ति जतिसुकै राम्रो र सक्षम भएपनि राज्य व्यवस्था प्रणाली नभएपछि त्यसले काम गर्न नसक्ने भन्दै टिप्पणी गरेका हुन्। 

‘मलाई डर छ, बालेन शाहले जितेर आउनुभयो। मैले शुभकामना पनि दिए। बधाई पनि दिए। तर प्रणाली छैन, त्यहाँ। उहाँ एक्लैले गर्न सक्ने कुरा त हुँदैन। प्रणाली ठिक गरिएन भने ठीक मान्छे छानिन सक्दैन। त्यसले काम गर्न पनि सक्दैन’, उनले भने।

डा.भट्टराईले समावेशी र सहभागितामुलक प्रजातान्त्रिक प्रणाली अहिलेको आवश्यकता भएको औल्याए। ‘शासन प्रणालीमा परिवर्तन ल्याउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद राज्य प्रणाली हुनुपर्छ’, उनले भने, ‘योग्य र सही मान्छे छानिएर जानसक्छ। नीति नियम बनाउन सहभागीतामुलक र समावेश प्रतिनिधित्व हुन्छ। त्यो एउटा सुधार हामीले गर्नुपर्छ।’

डा.भट्टराईले व्यक्ति र राज्यनै सबैथोक हो भन्ने पुँजीवादको विकल्पमा अग्रगामी विचारसहितको राज्य व्यवस्था प्रणाली ल्याउनुपर्ने बताए। ‘प्रजातन्त्रमा आधारित समावेशी नयाँ प्रणाली अपनाउने साहस गर्नुपर्छ’, उनले भने। डा.भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत कारवाही गर्न सक्ने जनलोकपाल गठन गर्नुपर्ने पनि बताए। 

उनले चीन र भारतसँग शान्त्रिपूर्ण सम्बन्ध स्थापना गरी उनीहरुलाई विश्वासमा लिएर अघि बढे मात्र देश विकास हुने बताए। उनीहरुसँग तालमेल नगरीकन विकास गर्न नसकिने डा.भट्टराईको भनाई थियो।

प्रकाशित: २३ असार २०७९ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App