७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादीले तत्काल मन्त्री नपठाउने

नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त हुन पुगेको पदमा तत्काल कसैलाई नपठाइने भएको छ।

बजेट निर्माण प्रक्रियामा बिचौलिया प्रवेश गराएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका हुन्। उनीमाथि छानबिनका लागि संसदीय समिति बनेकाले त्यसले आफ्नो काम नसकेसम्म माओवादी केन्द्रले शर्माका ठाउँमा नयाँ मन्त्री नपठाउने माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन्। ‘छानबिन समितिको रिपोर्ट नआएसम्म पार्टीले अर्थ मन्त्रालयमा नयाँ व्यक्ति पठाउँदैन,’ माओवादी नेता लीलामणि पोखरेलले भने।

छानबिन समितिले शर्मालाई दोषी ठहर गरे मात्र पार्टीले अर्थमन्त्रीमा अर्काे व्यक्तिलाई पठाउने उनले बताए। छानबिन समितिको रिपोर्ट नआएसम्म पार्टीबाट सरकारमा नेतृत्व गर्ने वरिष्ठ मन्त्रीलाई नै अर्थ मन्त्रालयको पनि जिम्मा दिइने उनको भनाइ थियो। तर शर्माको राजीनामासँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन्।  

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीले राजीनामा दिएको अवस्थामा बुधबारै अर्थमन्त्रीको समेत कार्यभारको जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी हुन्। हाल माओवादीबाट सरकारमा सहभागीमध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सबैभन्दा वरिष्ठ मन्त्रीका रूपमा रहेकी छन्। उनी सरकारमा पनि चौथो वरिष्ठ मन्त्री हुन्।  

महासचिवको दाबीमा धक्का

माओवादी केन्द्रमा पदाधिकारी चयन प्रक्रिया अघि बढिरहेका बेला पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिवका एक मुख्य दाबेदार जनार्दन शर्मा विवादमा तानिएका छन्। पार्टीभित्र महासचिव पदमा  

शर्मा र वर्षमान पुनः मुख्य दाबेदार भए पनि बजेट निर्माण प्रक्रियामा त्रुटि गरेको भन्दै शर्मामाथि संसदीय छानबिन सुरु भएपछि उनको दाबी कमजोर भएको हो। पार्टीको भावी नेतृत्वका रूपमा हेरिएको र कार्यकारी पदसमेत रहेको महासचिवमा दाबी गरिरहेका शर्मा विवादमा तानिएपछि उक्त पदमा पुनको सम्भावना बलियो बनेको माओवादी नेताहरूले बताउने गरेका छन्।

शर्मा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट हटाएको विषयमा पनि विवादमा तानिएका थिए। तर सर्वाेच्च अदालतले सरकारको कारबाही उल्टाइदिएपछि शर्मामाथि पदमा बस्न नैतिक प्रश्न उठेको थियो। तर नैतिकताको विषयलाई बेवास्ता गर्दै उनी पदमा बसिरहेका थिए। सरकारमा हुँदा एकपछि अर्काे विवादमा तानिएका शर्मालाई तत्काल पार्टीको महत्वपूर्ण जिम्मेवारी दिँदा पार्टीमाथि पनि नैतिक प्रश्न उठ्ने भएकाले तत्काललाई उनको महासचिव बन्ने सम्भावना कम भएको नेताहरूले बताउने गरेका छन्। माओवादी केन्द्रभित्र शर्मा र पुनबाहेक पम्फा भुसाल, गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल र शक्ति बस्नेतले पनि महासचिव पदमा दाबी गरिरहेका छन्। अन्यको तुलनामा शर्मा र पुन बलिया दाबेदार मानिन्छन्।

प्रकाशित: २३ असार २०७९ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App